सदस्यता नपाएको विरोधमा कालो झन्डा प्रदर्शन


बनेपा। काभ्रेपलाञ्चोकका क्रियाशील पत्रकारले एक दशकदेखि सदस्यता नपाएको विरोधमा आज धुलिखेलमा कालो झन्डासहित विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको धुलिखेलमा जारी बैठकमा सदस्यता नपाएको भन्दै क्रियाशील पत्रकार संघर्ष समिति काभ्रेपलाञ्चोकका संयोजक दिनेश घिमिरेको नेतृत्वमा पत्रकारले बैठकस्थलमै कालोपट्टीसहित नाराबाजी गर्दैै केहीबेर बैठक अवरुद्घ गरेका थिए ।

आइतबारदेखि धुलिखेलमा चलिरहेको प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा पत्रकार आचारसंहिताको विषयमा छलफल भइरहेको छ ।

संयुक्त बैठकले पत्रकारको संशोधित नयाँ आचारसंहितासमेत जारी गर्ने बताइएको छ । सो अवसरमा अध्यक्ष डा महेन्द्र विष्टले सोही बैठकबाट काभ्रेका क्रियाशील पत्रकारको सदस्यताको विवाद अन्त्य गर्ने जनाउ दिएपछि पत्रकारले नाराबाजी गर्न छोडेका थिए । रासस