नेपालकै सबैभन्दा अग्लो बुद्धमूर्ति चिनले बनाईदिने


चीनका निजी क्षेत्रका कम्पनीले नेपालको झापा दमकमा नेपालकै सबैभन्दा अग्लो बुद्धमूर्तिसहितको अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्र बनाउने इच्छा व्यक्त गरेका छन् ।

शनिबार छन्दुको जिनजियाङ होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुले नेपालको भूकम्पपीडित जिल्लामा पुनःनिर्माण, पूर्वाधार निर्माण तथा पीडितका लागि रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न चाहेको बताएका हुन् ।

उनीहरुले सिचुवान प्रान्तको पुनःनिर्माण कोषमार्फत हयोग गर्न चाहेको पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए। सो कोषमार्फत नै सिचुवानको वेनचुवानमा पनि पुनःनिर्माण गरिएको उनले बताए ।

यसअन्तर्गत विशेष आर्थिक क्षेत्र पनि स्थापना हुन सक्ने उनले बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल बुद्ध धर्मावलम्बीका लागि मक्का जस्तै भएकाले नेपालको दमकमा यस्तो मूर्ति बन्नु खुसीको कुरा हुने बताएका थिए ।

शनिबार नै प्रधानमन्त्री ओलीको उपस्थितिमा दमक क्लिन इण्डष्ट्रियल पार्कका सल्लाहकार भाष्करराज राजकर्णीकार र चीनको ग्लोबल एनजिओ युनियनका कार्यकारी अध्यक्षबीच दमकमा औद्योगिक स्थल निमार्णसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।

पार्क रतुवा र मावा नदीको किनारमा दुई सय विघा जमिनमा निर्माण गरिने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्रप्रसाद भण्डारीले बताए । सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज वैद्यले यो समझदारी छ महिनाको प्रयासपछि भएको र यसमा चीनबाट १७ करोड अमेरिकी डलर लगानी हुने जानकारी दिए । रासस