ब्रसल्स हमलामा मृत्यु हुनेको संख्या ३४ (अपडेड)


बेल्जियमको राजधानी ब्रसल्समा भएका तीन विष्फोटनका ३४ जनाको ज्यान गएको छ भने दुई सयभन्दा बढी घाइते घाईते भएका छन्।

दुईवटा विष्फोटले जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थललाई निशानामा पारेका थिए। ती मध्ये एक आत्मघाती हमलाकारीले गरेको ठानिएको छ। तेस्रो विष्फोट शहरको मध्येमा रहेको मालबेक भूमिगत मेट्रो स्टेशनमा भएको थियो।

निशाना

शुरुमा दुईवटा विष्फोट ब्रसल्सस्थित जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा भएका थिए। विमानस्थलमा भएका हमलामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने त्यसको एकघण्टापछि युरोपेली संस्थाहरुको कार्यालय नजिकै रहेको मेट्रो स्टेशनमा भएको विष्फोटले करिब २० जनाको ज्यान लियो।

घटना लगत्तै विमानस्थलमा केही बेर मानिसहरु भागाभाग समेत गरेको दृश्य केही भिडीओमा देखिन्छ। सो समय विमानस्थलमै रहेका एकजना प्रत्यक्षदर्शी जेम्स फर्किनले आफ्नो अनुभव सुनाउँदै भने, “म नजिकैको स्टारबक्समा मेरा साथीका लागि चिया लिन जाँदै गर्दा पहिलो विष्फोट भयो।

160322154138_brussels_bomb_attacks_v02_624map_nepali“म दौडेर साथीतर्फ फर्किएं। त्यहाँ एकदमै त्रासको माहौल भयो। सिलिङ्गका भाग खस्न थाले र आफुहरुलाई बचाउन हामीले आफ्ना सुटकेशले आफुलाई छोप्यौं।”

घटनापश्चात बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिशेलले आफ्नो देशले कालो दिनको अनुभव गरिरहेको बताए। उनले ती हमलालाई ‘अन्धाधुन्ध, हिंस्रक र कायरतापूर्ण’ भनेका छन्।

श्रृंखलाबद्ध विष्फोटपश्चात बेल्जियमभर जोखिमको स्तरलाई सबभन्दा माथिल्लो विन्दुमा पुर्याइएको छ। ब्रसल्समा फौज परिचालन गरिएको छ। यातायातका साधन चलेका छैनन्।

बेल्जियमका अधिकारीहरुले सञ्चारमाध्यमलाई जारी अनुसन्धानको विवरण सार्वजनिक नगर्न आग्रह गरेका छन्। विदेशमन्त्री डिडिय राइन्डर्सले अझैपनि हमलामा संलग्नहरु बाहिर खुला नै हुन सक्ने त्रास रहेको बताए।

गत नोभेम्बरमा भएको प्यारीस हमलाका एक मुख्य आरोपी सलाह अब्देसलामलाई ब्रसल्समा पक्राउ गरिएको चारदिनपछि यी विष्फोटका घटना भएका छन् भनी बीबीसीले समाचारमा उल्लेख गरेको छ।