काँगेस सभापतिमा शेरवहादुर देउवा बिजयी


कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतको अन्तरले हराउँदै देउवा सभापति बनेका हुन् ।

सोमबार राति सकिएको मतगणना परिणामअनुसार देउवाले १८२२ मत प्राप्त गरे भने पौडेलले १२९६ मत ल्याए । आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार पुन: निर्वाचन भएको हो ।

आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि आवश्यक पचास प्रतिशत भन्दा बढी मत नल्याएका कारण सोमबार पुन: निर्वाचन भएको हो । महामन्त्री कृष्ण सिटौलाले तेस्रो मत ल्याएकाले उनी सोमबारको चुनावको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् भने बढी मत ल्याएका देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको हो ।

मतगणना गर्दैगर्दा २० मत नुमना मतपत्र फेला परेपछि केही छिन विवाद भएको थियो । विवादका कारण मतगणनामा झन्डै २ घण्टा ढिलाई भएको थियो । ३ हजार १ सय ६१ मतदाता मध्येमा दोस्रो चरणको निर्वाचनमा ३ हजार १ सय २० मत परेको थियो । तर, मतपेटिकामा ३ हजार १ सय ४० मत फेला परेपछि विवाद भएको हो ।

लगातार तीनपटक सभापतिको दौडमा रहेका देउवाले लामो समयपछि संस्थापन पक्षबाट नेतृत्व उम्काएका छन्। पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका देउवा पुनः सुशील कोइरालासँग अर्को महाधिवेशनमा पराजित भए।

पार्टी नेतृत्वका निम्ति तेह्रौं राष्ट्रिय महाधिवेशनमा पनि देउवाले आफूलाई सभापतिको मैदानमा उतारे। संस्थापन पक्षबाट दुई आकांक्षीले प्राप्त गरेको मत जोड्दा पनि देउवा अग्रस्थानमै थिए।