नेहा हत्या आरोपी खड्गीको थुनछेक बहस सुरु


राजाराम पौडेल

पोखरा /मगर फिल्मकी नायिका यरुना पुन (नेहा) को हत्या अभियोगमा पक्राउ परेका सतिस भन्ने कृतन खड्गीलाई हदै सम्मको कारवाहि हुनुपर्ने भन्दै पुनका आफन्तले सोमबार दिनभर कास्की जिल्ला अदालत अगाडि धर्ना दिए ।

हत्या अभियोगमा पक्राउ परेका खड्गीको कास्की जिल्ला अदालत भित्र थुनछेक बहस चलिरहदाँ उनीहरुले अदालत परिसर बाहिर यसरी धर्ना र विरोध गरेका हुन् । धर्ना र विरोधका क्रममा उनीहरुले ‘हत्यारालाई कारवाहि गर, महिला हिँस्सा अन्त्य गर, मान्छे मार्न पाइदैन, अन्य हत्यारालाई सार्वजनिक गर’ लगायतका नारा लगाएका थिए ।

पुनको हत्यामा उचित न्याय नपाइञ्जेलसम्म आन्दोलन जारी रहने विरोध कार्यक्रममा उपस्थित नेहाका आफन्त तथा महिला अधिकारकर्मीको भनाइ थियो । अदालत परिसरमा हत्या आरोपमा पक्राउ परेका खड्गीका आफन्त समेत ठुलो संख्यामा जम्मा भएका थिए । यसरी दुईपक्षबिच जम्काभेट हुदाँ सामान्य झडप समेत भएको थियो । स्थितिलाई सामान्य बनाउन प्रहरीलले सामान्य बल प्रयोग गर्नु प¥यो ।

कुनै अप्रिय घटना हुन नदिन अदालत परिसर भित्र र बाहिर कडा सुरक्षा व्यवस्था गरिएको थियो । सडकमानै बसेर विरोध गरेका कारण त्यस क्षेत्रमा केहि समय सडक समेत अवरुद्ध हुन पुग्यो । खड्गीका आफन्त भने पुनका आफन्तले नारावाजि गरे लगत्तै तितर–वितर भएका थिए ।

यसैबिच खड्गीलाई जबरजस्ती करणी र कर्तव्य ज्यान को अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गराइएको छ । उक्त्त मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासमा सोमबार थुनछेक बहस चलेको थियो । थुनछेक बहस नसकिएकोले खड्गीलाई मंगलबार पुनः अदालतमा पेश गर्ने गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ ।

सोमबार वादीको तर्फबाट जिल्ला न्यायाधिबत्ता गंगा प्रसाद पौडेल, जाहेरवालाको तर्फबाट सुरेन्द्र थापामगर र सरिता थापाले बहस गरेका थिए । वादीका तर्फबाट विनिता नेपाली, शोभा पौडेल, सरला कुमारी पाण्डे र प्रतिवादीको तर्फबाट अधिवक्ता दुगे्रसराज पन्त को बहस बाँकी नै रहेकोले बाँकी बहस गरि मगंलबार थुनछेक आदेश हुने कास्की जिल्ला अदालतका स्रेस्तेदार दिनवन्धु बरालले जानकारी दिए ।