लाखौ खर्च गरी साईप्रस आएका,नेपाली बिद्यार्थीहरु समस्यामा


बसन्त रानाभाट

बार्सिलोना/ धेरै कमाउँने लक्ष्य बोकेर, बिद्यार्थी भिसामा युरोपियन मुलुक साईप्रस आउँने नेपाली बिद्यार्थीहरु अहिले समस्यामा परेका छन्। अध्ययनलाई माध्यम बनाएर ८ देखि १० लाख सम्म खर्च गर्दै, साईप्रस आएका बिद्यार्थीहरु समस्यामा परेका हुन्।

एका तर्फ काम पाउँन कठिन हुँदै जानु, अर्को तर्फ कलेज फि बुझाउँन र भिसा नबिकरण प्रक्रियामा घरबाट नै रकम मगाउँनु पर्ने बाध्यताका कारण, बिद्यार्थीहरुको समस्या बढ्दै गएको छ।

कन्सल्टेन्सीको आश्वासन र साईप्रस मोह :

साईप्रस आएका बिद्यार्थीहरुको भनाई अनुसार अमेरिका,क्यानाडा,अष्ट्रेलिया,बेलायत जस्ता मुलुकहरुमा अध्ययनका लागि थुप्रै पटक कोशिस गर्ने तर विफल भए पछि यता आउँने गरेको  बुझिएको छ।

सिधै साईप्रसलाई अध्ययनको गन्तब्य बनाएर आउँने भन्दा, अन्य देशहरुमा पुग्ने लामो कसरत विफल भए पछि मात्र, साईप्रसलाई रोजेको धेरैको अनुभव रहेको छ। देशमा बेरोजगार भएर बस्नु पर्दा,एक पटक विदेश त पुगी हेरौ भन्दै साईप्रस छिरेकाहरुको पनि कमी छैन।

साईप्रसको अर्को मोह नेपालमा खोलिएका कन्सल्टेन्सीहरुको झुटो आश्वासन पनि रहेको छ। प्रत्येक महिना, ८ देखि ९ सय युरो सम्म, कमाउँन सकिने भन्दै झुटो प्रचारमा परे पछि अलि अलि भए नि कमाई गरौ भन्दै बिद्यार्थीहरु साईप्रस तिर आकर्षित भएको पाईन्छ।

कतिपय कन्सल्टेन्सीहरुले त अब साईप्रस छिट्टै सेन्जेन देशमा पर्ने र युरोपका सबै  ढोका खुल्ने  भन्दै लालच देखाउँने गरेको समेत पिडित बिद्यार्थीहरु बताउँछन्। अन्तत: मध्यम बर्गीय बिद्यार्थीहरु ८ देखि १० लाखको जोखिम मोल्दै, पढ्ने र कमाउँने सपना बुन्दै, ऋण नै काढेर साईप्रस छिरेको पाईन्छ।

कामको सम्भाबना ज्यादै न्यून

साईप्रसमा नेपाली बिद्यार्थीहरुलाई कामको अबसर कम हुँदै गएको छ। बिद्यार्थीको हकमा प्रत्येक हप्ता २० घण्टा काम गर्न पाईने नियम भए पनि,युरोपियन मुलुकका नागरिकहरु साईप्रसमा पुगेर काम गर्न थाले पछि,बिद्यार्थीहरुलाई अबसर कम भएको हो।

सन् २००८ देखि साईप्रसमा बसी अध्ययन गर्दै आएका म्याग्दीका बिरेन पुनले कामको अबसर ज्यादै न्यून हुँदै गएको बताउँछन्। उनले भने,” आजभोलि रोमानियन बुलगेरियन,पोलिसहरु साईप्रसमा आएर काम गर्न थालेका छन्,उनिहरुलाई नै काममा प्राथमिकता छ, हामी सँग सिप पनि हुँदैन, त्यस माथि यहाँ ग्रिक भाषाको प्रयोग हुन्छ त्यसैले  अबसरहरु कम छन्।”

पहिले देखि नै साईप्रस आएका केहिँ नेपाली बिद्यार्थीहरुले भने होटल,रेष्टुरेन्ट तथा कृषिमा अबसरहरु पाएका छन्।

६ महिना पछि मात्र काम / कमाई छैन

अध्ययनका लागि साईप्रस आएका बिद्यार्थीहरुले,६ महिना पछि मात्र काम गर्ने अधिकार पाउँने गरेका छन्। पढाईलाई माध्यम बनाएर कमाउँन भनी आएका बिद्यार्थीहरु ६ महिना सम्म कामको अनुमति समेत नपाउँदा, झनै चिन्तित बनेको पाईन्छ।

मुस्किलले काम नै पाएको खण्डमा पनि कमाई भने ज्यादै न्यून रहेको छ। करिब ५ सय युरो सम्म कमाई हुने साईप्रस स्थित बिद्यार्थीहरु बताउँछन्। नेपालबाट कलेज वा युनिभर्सिटीमा एक वा बढीमा दुई सेमिस्टर सम्म फि तिरेर आउँने गरेका बिद्यार्थीहरु बाँकी अध्ययन पुरा गर्न पनि रकमको आबश्यक भएको हुँदा समस्यामा परेका हुन्। अन्तत: घरबाट नै रकम मगाएर पढ्नु पर्ने बाध्यता रहेको पिडितहरु बताउँछन्।

भिसा नबिकरण गर्दा रकम मगाउँनु पर्ने:-

अध्ययनका लागि साईप्रस आएका बिद्यार्थीहरुले हरेक बर्ष भिसा नबिकरण गर्न साईप्रस भन्दा बाहिरबाट रकम मगाउँनु पर्ने बाध्यता रहेको छ।

बिगत ८ बर्ष देखि नै अध्ययन गर्दै आएका म्याग्दीका पुनले भने,” आफ्नै पैसा बैंकमा भए पनि चल्दैन, एप्लाई गर्दा ८ सय युरो भन्दा माथिको रकम साईप्रस भन्दा बाहिरबाट बिद्यार्थीको एकाउन्टमा हालेको देखाउँनु पर्छ।” करिब २ बर्ष देखि लागु भएको यो नियमले परिबारलाई समेत चिन्तित बनाएको छ,छोराछोरीले कमाएर पठाउँलान् भन्दा उल्टै बाऊ आमा सँग पैसा माग्नु परेको छ। उनले भने।

प्रत्येक बर्ष नबिकरण गर्नु पर्ने भिसा आबेदन दिनु अघि कलेज वा युनिभर्सिटीमा लाग्ने आफ्नो बाँकी रकम सबै बुझाउनु पर्ने हुँदा,बिद्यार्थीहरुले नबिकरणको बेला मोटो रकम खर्च गर्दै आएका छन्।

बिद्यार्थीहरु आउँन थालेको कहिलेबाट ?

मुख्यत: सन् २००४ देखि ठुलो संख्यामा नेपाली बिद्यार्थीहरु साईप्रस आउँन सुरु गरेको यहाँ  स्थित नेपालीहरु बताउँछन्। पहिले पनि आठ लाख रुपैयाँसम्म खर्च गर्दै अध्ययनका लागि बिद्यार्थीहरु साईप्रस आएका थिए। तर कलेज वा युनिभर्सिटी अनुसार फरक फरक रकम लागेको उनीहरुको भनाई छ।

सन् २००४ मा युरोपियन युनियनमा साईप्रस छिरे देखि नै नेपालका कन्सलटेंन्सीहरुले अब सेन्जेन बन्छ भन्दै पहिले देखि नै प्रचार सुरु गरेको पुराना बिद्यार्थीहरु बताउँछन्। साईप्रसमा हाल नेपाली बिद्यार्थीको संख्या सयौमा सिमित रहे पछि पहिले भने २-३ हजारको हाराहारीमा रहेको पुराना बिद्यार्थीहरुको अनुमान छ। तर त्यो संख्या सन् २०१२ मा ह्वातै घटेर सयौमा झरेको बताईन्छ। कामको समस्या त कतिपयले आफ्नो अध्ययन पुरा गरेर नेपाल फर्के पछि साईप्रसमा नेपाली बिद्यार्थीहरु संख्या कम भएको थियो।

८० प्रतिशत नेपाली बिद्यार्थीहरु राजधानी निकोसियाका कलेज तथा युनिभर्सिटीमा आएर अध्ययन गरेका थिए। निकासियामा रहेका साईप्रस कलेज,अमेरिकन कलेज,ग्लोबल कलेज,कासा कलेज,युनिभर्सिटी अफ निकोसिया,युरोपियन युनिभर्सिटी अफ साईप्रस र अन्य ठाउँहरु पनि केहि  नेपालीहरुले अध्ययन गरे।

फेरि अहिले आएर,झुटो प्रलोभनमा परी लाखौ रुपैयाँ खर्च गर्दै साईप्रस आउँने, नयाँ बिद्यार्थीहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ।

स्बिडेन र पोल्याण्डको भिसा लगाई बाहिरिए

साईप्रसमा अध्ययनका लागि आएका कतिपय बिद्यार्थीहरु पोल्याण्ड र स्विडेनमा भिजिट भिसा लगाई युरोपका अन्य देशहरु पनि भित्रिएका छन्। आँफुले अध्ययन गरेको कलेज वा युनिभर्सिटीमा भ्याकेसन हुँदा,कलेजबाट लेटर झिकाएर,केहि दिनको लागि भिजिट भिसा लगाई पोल्याण्ड र स्विडेन हुँदै बिद्यार्थीहरु बाहिरिएको बताईन्छ। सबै आवेदकहरुले भिसा नपाउँने हुँदा, थोरैको संख्यामा मात्र नेपालीहरुले यसरी साईप्रस छोडेका थिए।

साईप्रसबाट बेलायतको पनि भिसा बढी लाग्ने गरेको पाईन्छ। तर बेलायतमा अबैधानिक रुपमा बस्ने कुनै आधार नभेटे पछि पुन: साईप्रसमा नै फर्कने गरेको बिद्यार्थीहरु बताउँछन्। बेलायत तिर आँफन्त हुनेहरु मात्र प्राय: साईप्रसबाट घुम्न जाने गरेको भेटिन्छ।

अबैधानिक काम गर्दा जरिबाना देखि डिपोर्ट सम्म

साईप्रसमा अबैधानिक रुपमा काम गर्दा जरिबाना देखि डिपोर्ट सम्मको सजाय रहेको छ। हप्तामा २० घण्टा मात्र कामको अनुमति पाएका बिद्यार्थीहरुले,अबैधानिक रुपमा काम गर्ने गरेको नेपालीहरु बताउँछन्। बैधानिक रुपमा कन्ट्राक गरेर काम दिंदा कर र ईन्सुरेन्समा बढी खर्च देखिने हुँदा केहि रोजगारदाताहरुले जोखिम नै मोलेर अबैधानिक काम दिने गरेका छन्।

अबैधानिक रुपमा काम गरेको अबस्थामा फेला परेमा पहिलो पटक ३४१ युरो, दोस्रो पटक  ८५४ युरो वा डिपोर्टसम्म र तेस्रो पटक भने डिपोर्ट नै निश्चित भएको बिद्यार्थीहरु बताउँछन्। कामदारको लागि  जरिबाना रकम थोरै भए पनि काम दिने रोजगार दाताले भने ५ देखि ८ हजार युरो सम्म जरिबाना तिर्नु पर्ने नियम छ।

त्यसैले यसरी काम पाउन पनि ज्यादै मुस्किल देखिन्छ भने अर्को तर्फ अबैधानिक रुपमा काम गर्दा गर्दै समातिएको खण्डमा भिसा नबिकरणमा समेत बिद्यार्थीहरुलाई अप्ठारो हुने बताईन्छ।

कमाउँने सोचमा,साईप्रस नआउँनुहोस्

साईप्रसमा लामो समय देखि बस्दै आएका बिद्यार्थीहरुले कमाउँने सोच राख्दै अध्ययनका लागि साईप्रस नआउन अनुरोध गरेका छन्। अध्ययनको पछाडी काम पनि जोडिने हुँदा, दिन प्रतिदिन कठिनाई हुँदै गए पछि यस्तो अनुरोध गरेका हुन्।

राजधानी निकोसियामा होटल म्यानेजमेन्टमा अध्ययन गरिरहेका एक बिद्यार्थीले भने,” ८- १० लाख खर्च गरेर विदेश आए पछि घरको लागि केहि गर्छु भन्ने सबैलाई हुन्छ,फेरि त्यो अबस्था नै नभए पछि, नआउँन नै अनुरोध गर्छु।”

साईप्रस अध्ययनका लागि नराम्रो होईन,तर हामी जस्ता किसानका छोराछोरीलाई ऋण गरेर पढ्न मुस्किल छ। ऋण गरेर यता आएर मात्र भएँन, फेरि घरबाट नै पैसा मगाउनु पर्ने भए पछि किन आउँने ?” उनले थपे।