सभापतिमा पौडेल र महामन्त्रीमा कोइरालालाई उठाउने लगभग सहमति


काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाट सभापति र महामन्त्रीको उम्मेदवार को बन्ने भन्ने विषय टुंगो लागेको छ । पौडेलले आफू सभापति र डा. सशांक कोइरालालाई महामन्त्रीमा उठाउने लगभग सहमति बनेको छ । औपचारिक घोषणा हुन भने बाँकी नै छ ।

विहीबार राति र शुक्रबार दिउँसो डा. रामशरण महतको घरमा बसेको संस्थापन पक्षको बैठकले यो सहमति तयार गरेको हो । संस्थापन समूहले उपसभापतिमा प्रकाशमान सिंह र मनोनित महामन्त्रीमा डा. रामशरण महतलाई नियुक्त गर्ने विषयमा पनि सहमति भएको बुझिएको छ ।

पौडेललाई सभापति बनाउनेमा कृष्ण सिटौलाले भने अझै सहमति जनाएका छैनन् । बैठकमा सिटौलासमेतलाई राखेर टुंगो लगाउने प्रयास भइरहेको छ । तर, सिटौलाले पौडेलभन्दा आफू बलियो उम्मेदवार रहेको जिकिर गरेको बुझिएको छ । महामन्त्रीमा गगन थापाले पनि उम्मेदवारी दिने प्रस्ट गरिसकेका छन् । सिटौला र थापाले नमानेमा दुबैलाई छाडेरै भएपनि संस्थापनका तर्फबाट पौडेल र कोइरालाको नाम टुंगो लगाउनेमा एकखाले अभ्यास भइरहेको बताइन्छ ।

सभापतिमा दाबी गरिरहेका प्रकाशमान सिंहले उपसभापति बन्ने गरी पौडेललाई समर्थन गरेको बुझिएको छ । यता, शेरबहादुर देउवा पक्षले भने एकमतसहित आफ्नो टिम मैदानमा उतार्ने बुझिएको छ । देउवा सभापति र संस्थापन पक्षबाट सरेका अर्जुननरसिंह केसीको महामन्त्रीमा उम्मेदवारी लगभग पक्काजस्तै भएको छ ।

यसैबीच, कृष्ण सिटौलालाई सभापति बनाउन उनी निकटका देशभरका युवा महाधिवेशन प्रतिनिधि तातेका छन् । नेविसंघ, तरुण दल र महिला संघका कांग्रेसका महाधिवेशन प्रतिनिधिले रामचन्द्र पौडेललाई अभिभावक बनेर सिटौलाको टिमलाई सघाउनसमेत आग्रह गरेका छन् ।

शुक्रबार राजधानीमा बसेको झन्डै ७० जनाको बैठकले सिटौलालाई संस्थापनबाट नेतृत्वका लागि एकल उम्मेदवार बनाउन जोडसमेत गरेको छ । बैठकमा चितवनका नेता दिनेश कोइराला, काभ्रेका पूर्वजिल्ला सभापति शिव हुमागाइँ, लीला संग्रौला, पूर्वमन्त्री जनकराज गिरीलगायतको उपस्थिति थियो । सिटौलाको समूहमा गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाउने बताइएको छ ।