कलाकारका लागि बिदेशिनु रहर हो कि बाध्यता ?


-प्रकाश श्रेष्ठ

– प्रकाश श्रेष्ठ

कला, संस्कृती, परम्परा , संस्कार, रितिरिवाज, भाषा, धर्म , रहन-सहन, भेष-भुषा, चाल-चलन, प्राकृतिक सौन्दर्य आदी संरक्षण हुन सके देशको पहिचान गराउने बलियो आधार निर्माण हुन सक्छ । अझै कुनै पनि चिजको कलात्मक प्रस्तुतीले मानिसको मन-मस्तिष्कमा छिटो प्रभाव पार्दछ ।

त्यसैले त कलाकारहरुले प्रस्तुत गरेको कलात्मक सौन्दर्यताले बालक देखी वृद्ध सम्मको मनलाई सजिलै छुने, लामो समय सम्म मस्तिष्कको स्मरण केन्द्रहरुमा छाप पारि रहने हुन्छ । यसैले सर्वत्र कला , कलाकारिता र कलाकारहरुलाई सम्मानको नजरबाट हेरिन्छ ।
कलाको माध्यमबाट नै देशको मुल्य,मान्यता, संस्कारलाई जीवन्त राख्न मद्दत पुग्दछ । हस्तकला, मुर्तिकला, रंगमंच, नृत्य क्षेत्र, गायन-संगित क्षेत्र, फिल्म क्षेत्र, कमेडी क्षेत्र, ड्रामा क्षेत्र, अभिनय क्षेत्र आदी सबै क्षेत्रमा संलग्न व्यक्तीहरु वास्तवमा देशका अमुल्य निधी हुन् ।

यिनीहरुको राम्रो कार्यसम्पादनले आम नागरिकहरुलाई विभिन्न तरिकाबाट मनोरज्जन दिने, सचेतना फैलाउने, एतिहासिक मुल्य-मान्यता, संस्कृतीलाई प्रवर्द्धन गर्नमा सहयोग गरिरहेका हुन्छन् । अझै संगित र मनोरंजन दिने क्षेत्रमा लाग्नेहरुले छिट्टै जनमानसमा सकारात्मक प्रभाव पार्न , चेतनामुलक संदेश संप्रेषण गर्न , थकित मनहरुलाई उर्जा प्रदान गरि मनोरंजन दिने र दैनिक जनजिविकाका निर्वाह गर्ने क्रममा देखिने तनावहरुलाई कमि गर्न वा दिमागलाई रिफ्रेस बनाउन समेत उपयोगी मान्न सकिन्छ ।

हो हामी सबैले भन्दै आएको कला र कलाकारहरुको प्रवर्द्धन र सम्मान गर्नु पर्छ भन्ने कुरामा सबैजसो को सहमती हुन सक्छ तापनि किन आज नेपाली कला क्षेत्रको विकास र विस्तार सोचे जस्तो हुन सकेको छैन , किन कलाक्षेत्रबाट जिवन धान्न नसकि दिनहुँ कलाकारहरु विदेशिन बाध्य भएका छन् ।

यस विषयमा गहनरुपमा छलफल र समाधानको उपाय निकाली देश भित्रै कलाकारिताको क्षेत्रमा लागेर जिवन धान्न सक्ने , कलाकारिताको विकास गरि विदेशमा समेत कला, संगित , गायन, फिल्म आदीको प्रचारप्रसार गर्दै नेपाललाई संसार सामु चिनाउन सक्ने उचित वातावरण सृजना गर्नु आम नेपाली जनता , सरकार , व्यवसायी , कलाकारको जिम्मेवारिता हो ।

बढ्दो सुविधायुक्त प्रविधीको प्रयोग गर्दै बजारमा उपलब्ध कलाकारका सृजनाहरुको गलत माध्यमबाट प्रयोगमा ल्याउनाले उनीहरुले आफ्नो कलाकारिताले भरिएको प्रोडक्टमा गरिएको खर्चलाई पुरा गर्न ती प्रोडक्टको बिक्रीबाट प्राप्त हुन आउने प्रतिफलले धान्न समेत नसक्ने अर्थात् कतिपय अवस्थामा गरिएको खर्च पनि नउठ्ने कारण प्रायः कलाकारहरु लामो समय उनीहरुले अंगालेको कलाकारिता पेशामा कृयाशिल रहन नसक्ने स्थिती रहेको पाईन्छ ।

एउटा सामान्य उदाहरण लिउ की मानौ एउटा गायकले बढो मिहिनेत गरेर गित रेकर्डींग गरेर गितको एल्वम निकाल्छ । तर त्यो एल्वम बजारमा त्यती बिक्री हुँदैन जति केही बर्ष पहिला जतिवेला ईन्टरनेट र कम्प्यूटरको प्रयोग अति न्युन भएको अवस्थामा बिक्री हुन्थ्यो । अहिले त्यस्ता एल्वमहरुलाई तत्कालै भि.सि.डी./सि.डी.मा कपि गर्ने , कम्युटरमा ,पेनड्राईभमा डाउनलोड गरि ईन्टरनेटबाटै आदान-प्रदान गर्ने, मोबाईलमा डाउनलोड गर्ने र एक-अर्कालाई ट्रान्सफर गर्ने, यु. ट्युवमा राख्ने आदीले गर्दा एल्वमका चक्का, डि.भि.डी., भि.सि.डी./सि.डी. हरु निकै कम मात्रै विक्री हुने कारण गायकहरुले लगानी गरेको पैसा समेत उठाउन नसक्ने र केवल केही गायकहरुले शोख र नामको लागी मात्रै एल्वम निकाल्ने गरेको देखिन्छ ।

रेडियो, एफ.एम., टेलिभिजनहरुमा बजेका, देखाईएका गितहरुको समेत रोयल्टी गायक, संगीतकार , गितकारले प्राप्त गर्ने व्यवस्थालाई कार्यान्वयन हुन नसक्ने साथै कतिपय एल्वम निकाली दिने कम्पनीहरुले यु.ट्युवमा गित राख्ने र त्यस गितको Viewers को आधारमा यु.ट्युबाट प्राप्त हुने रोयल्टीको रकमको हिस्सा समेत गायक-कलाकारहरुलाई नदिने गरेको गुनासो समेत सुन्दै आएको पाईन्छ ।

प्रायः देश-विदेशमा विभिन्न उत्सवहरुमा कलाकारहरुले स्टेज प्रोग्राम , कन्सर्टहरुबाट प्राप्त हुने आम्दानीले उनीहरुको जीवन चलिरहेको कुरा स्वयं कलाकारहरुले विभिन्न अन्तरकृया , साक्षात्कार कार्यक्रममा बताउँदै आएका छन् । चलचित्रकर्मीहरु, हास्यकलाकारहरुले समेत अभिनय कलामा लागेर जिवन गुजारा चलाउन सक्ने अवस्था छैन । नेपाली चलचित्रहरु , फिल्म हलमा गएर हेर्नेहरुको त्यती भिड देख्न छोडिसकेको छ ।

हिन्दी चलचित्रहरुले नेपाली चलचित्रहरुको मार्केटलाई प्रभाव पारेको छ । अर्को तर्फ चलचित्रहरु हलमा त्यती नचलेपछि निर्माताहरुले भि.सि.डी.हरुमा चलचित्रहरु राखेर बजारमा चक्काहरु बेचिन्छ । तर ती चक्काहरु केही मात्रामा मात्र विक्री हुन्छ र पुन कम्प्युटर वा कपि मेशिनहरुको प्रयोग गरि डुव्लिकेट कपि बनाएर बिक्री वितरण गर्ने बजारमा विभिन्न पसलहरुले गरिरहेका हुन्छन् र वास्तवमा चलचित्र निर्माण कर्ताहरुलाई त्यसबाट आम्दानी प्राप्त नहुने हुन्छ अर्थात् यो क्षेत्रमा पनि पायरसी हुने गरेकोले चलचित्रकर्मी र कलाकारहरुलाई निकै मर्का पर्दै आएको देख्न सकिन्छ ।

यसकिसिमको पायरसीले गर्दा र पाउनु पर्ने रोयल्टी समेत नपाउनाले कलाकारहरुमा एक किसिमको नैराश्यता र कलाकारिता पेशाबाट अन्य पेशामा लाग्ने गरेको , विदेशमा गएर अन्य कामहरु गरेको पाईन्छ । नेपालमा पेटेन्ट राईट, कपि राईट सम्बन्धी नियम-कानुनको नियमन राम्रो सँग नहुनाल् पनि सांगेतिक क्षेत्र , चलचित्र क्षेत्र , हास्यकला क्षेत्रहरुको विकास र विस्तार दिगोरुपमा हुन सकेको छैन ।

कलाकारको पनि आम मान्छेहरुको जस्तो परिवार हुन्छ, सामाजिक जीवन हुन्छ ,विभिन्न दायित्वहरु हन्छन् , भविष्यको सपनाहरु , चिन्ताहरु, सामाजिक प्रतिष्ठा अादीको चाहना हुन्छ । अत: सबै चाहना , ईच्छा , आवस्यकता पुरा गर्ने क्रममा आफु कृयाशिल कलाक्षेत्रबाट सोचे जस्तो आम्दानी , प्रतिष्ठा प्राप्त हुन नसक्ने ठानेमा अरु विकल्पहरु खोजी गर्नु स्वाभिक नै हो ।

यसै सन्दर्भमा अधिकांश कलाकाकारहरु अमेरिका , क्यानडा, बेलायत , अष्ट्रेलिया , नर्वे , स्पेन लगायत मुलुकहरुमा विभिन्न सांगेतिक कार्यक्रममा सहभागीता जनाउन जाने र त्यतै बस्ने गरेको पाईन्छ । यसरी कलाकारहरु विभिन्न बाध्यताको कारण विदेशी भुमिमा आफुले स्वदेशमा अंगाल्दै आएको कलाकारिता पेशा छोडेर अन्य कामहरु सामन्यतया शुरुवाती दिनहरुमा आम नेपालीले विदेशमा काम गर्ने जुन काम हुन्छ त्यही नै गर्दछन् अर्थात् रेष्टुरेन्ट , डिपार्टमेन्टल स्टोर , सपिंग मल, ग्रोसरी स्टोर , फास्टफुड स्टोरहरु , पिज्जा स्टोर आदी मा काम गर्ने गर्दछन् ।

ती मध्ये अत्यान्तै कम व्यक्तीहरु मात्र आफुले नेपालमा अंगालेको पेशासँग सम्बन्धीत कामहरुलाई समेत ती देशहरुमा जानेहरुले निरन्तरता दिने गरेको पनि देखिन्छ तर यसरी शुरुवाती दिनहरुमै आफुले गर्दै आएको पेशालाई नै विदेशी भुमिमा निरन्तरता दिने भन्ने कुरा त्यती सजिलो र सबैको पहुँच विविध कारणहरुले गर्दा हुन नसक्ने भएकोले पृथक पेशा र काममा हात हाल्नु पर्ने , विविध चुनौतीहरु , कठिनाईहरु, व्यवधानहरुलाई पार लगाएर अगाडी बढ्नु पर्ने हुन्छ ।

कलाकारहरु अधिकांशले “असाधारण क्षमताको व्यक्ती” भन्ने शिर्षकबाट केश फाईल गरेर ग्रिनकार्डहरु बनाएको पाईन्छ । हाल आएर नेपालबाटै पनि त्यस्तो शिर्षकमा ग्रिनकार्ड एप्लाई गरेर समेत अमेरिका , क्यानडा लगायत केही युरोपियन देशहरुमा समेत जाने गरेको देखिएको छ ।

यसरी विस्तारै कलाक्षेत्रमा लाग्नेहरु आफ्नो पेशालाई छाडेर अन्य काम गरेर जीवन निर्वाह गर्नु पर्ने बाध्यतामा रहेको देखिएको छ । यस किसिमको अवस्थालाई रोक्न र देश भित्रै कला क्षेत्रमा नै लागेर उनीहरुको क्षमता र कलालाई अझै विकास हुन दिन र त्यही पेशा अंगालेर उनीहरुको भविष्य सुनिश्चित हुनसक्ने अवस्था बन्नु जरुरी छ । अन्यथा आउँदा दिनहरुमा अझै धेरै कलाकारहरु विदेशमा पलायन हुने देखिन्छ ।

विदेशमा आईसकेपछि केही कलाकारहरु प्रायः दोहोरी गायकहरु, लोक गायक, संगीतकारहरुले केही नेपाली दोहरी रेष्टुरेन्ट , क्लवहरुमा गायन कार्यमै लागेर जीविका धानेका छन् । कतिपय व्यवसायी पनि बनेका छन् त कतिपय हातमुख जोर्ने काममै दैनिक आवर वेशमा काम गरिरहेका छन् । यती हुँदाहुँदै पनि उनीहरु बेला-बेलामा आयोजना हुने नेपाली पर्व, उत्सवहरुमा आयोजना हुने सांगेतिक कार्यक्रमहरुमा सहभागी हुने गरेको देखिन्छ ।

वास्तवमा उनीहरुले आफ्नो कलालाई आफै भित्र गुम्साएर बाध्यताले अरु काम गर्नु परेको पनि बेला-बेलामा आयोजना गरिने यस्तो कार्यक्रममा सहभागिता हुँदा व्यक्त गरेका अभिव्यक्ती र अन्य काम गरेर बचाएको पैसाबाट विदेशमै एल्वमहरु निकाल्ने त्यस्तै समय-समयमा नेपाल गएर गित रेकर्डींग गरेर एल्वम निकाल्ने गरेको पनि देखिन्छ । यस्तो गर्नुमा पक्कै पनि विदेशमा गएर अन्य काम गर्नु रहर नभएर साँच्चिकै बाध्यता र विवसताले गर्दा नै हो भन्न सकिन्छ ।

नेपाल मै बसेर जनतन सांगेतिक क्षेत्र एवं रंगकर्मी वा चलचित्र अभिनयको क्षेत्रमा लाग्नेहरु कतिपय अचानक विरामी हुँदा , दुर्घटना बाट घाईते भई काम गर्न नसक्ने अवस्था र वृद्ध अवस्थामा आर्थिक समस्याका कारण निकै दयनीय अवस्थामा दिनहरु गुजारेको समेत देखिएको छ ।

तसर्थ विदेशमा आएर काम गर्ने गायक -गायिका, नायक-नायिका, कमेडियन, अन्य कलाक्षेत्र सँग सम्बन्धीत व्यक्तीहरुलाई विदेशमा पलायन भएका , देशको माया मारेर हिड्नेहरु भनि गाली गर्नु त्यती सान्दर्भिक मान्न सकिदैन । देश भित्रै अनुकुल परिस्थिती भएमा कलाकार मात्रै हैन कसैलाई पनि विदेशमा गएर काम गर्ने, स्थायी बसोबास गर्ने रहर हुँदैन । जन्मभुमी जस्तो प्यारो र आफ्नो आमा जस्तो प्यारो अरु चिज हुनै सक्दैन ।

बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका