बिदेशमा होस् वा देशमा हत्या,आत्महत्यालाई कसरी रोक्ने ?


-प्रकाश श्रेष्ठ

– प्रकाश श्रेष्ठ
दिन-दिनै देश-विदेशबाट युवाहरुले आफैबाट वा कसैबाट ज्यान गुमाएको खवर सुन्नु पर्दा आजकल अत्यन्तै भाव विभोर बनाउँछ । अनि यस बारे सोच्न र यस्ता घटना किन घटिरहेका छन् यस बारे अनुमान गर्न सबैलाई बाध्य बनाईरहेको छ ।

नेपालमा १-२ महिनाको अन्तरालमा तिनवटा होनाहार युवतीहरुले अरुको हातबाट ज्यान गुमाउनु पर्यो अर्थात् उनीहरुलाई निर्मम हत्या गरेर मारियो । अर्कोतर्फ जापान, कोरिया , अष्ट्रेलियामा हालसालै नेपाली युवाहरुले आफ्नै हातबाट अर्थात् आत्महत्या गरेर ज्यान गुमाएका छन् ।

जापान र अष्ट्रेलियामा मृत्यु हुने दुवैजना विद्यार्थी थिए भने कोरियामा मृत्यु हुने कामदारको रुपमा कार्यरत व्यक्ती थिए । त्यस्तै मलेसियामा प्रायः तामील समुदायका व्यक्तीहरुबाट विभत्स हत्या हुँदै आएको घटना दिन-प्रतिदिन बढी रहेको समाचार माध्यमबाट सुन्नमा आईरहेको पाईन्छ ।

अझै खाडी मुलुक साउदी अरबमा त दैनिक जसो कामदारहरु बेलुका सकुशल सुतिरहेका हुन्छन् र विहान कहिल्यै नउठ्ने गरि संसारबाट विदा लिएका खबरहरु सुन्नमा आईरहेको हुन्छ । कतिपय अवस्थामा सँगै काम गर्ने साथीहरु विच झगडा गर्ने क्रममा पनि हत्या भएको घटनाहरु पनि सुनिने गरिएको छ ।

त्यस्तै अमेरिका , बेलायत र अन्य युरोपियन मुलुकमा अध्ययन र कामका लागी गएका व्यक्तीहरु समेत जिवन देखि दिक्क मान्दै आफैलाई आफैले कालको मुखमा धकेलेको पाईन्छ । यसरी देश भित्रै र देश बाहिर अकालमा ज्यान गुमाउनेहरुको संख्या निरन्तर वृद्धी भईरहेको छ जुन सबैको लागी सोचनिय विषयवस्तु बनिरहेको छ ।

यस्तो घटनाहरुलाई पुनरावृत्ति हुनबाट नियन्त्रण र रोकथाम समयमै हुन सकेन भने यसले नेपाली समुदाय वीच ठुलो विकराल समस्या र खतरनाक रुप लिन सक्ने देखिन्छ । नेपालमा बढ्दै गएको हत्या-हिंसा , असुरक्षाले समाजमा एक किसिमको संत्रास पैदा गरिरहेको छ । खासगरी युवती/महिलाहरुले अकालमा अरुको हातबाट अनाहकमा ज्यान गुमाउनु परेको छ।

जसले गर्दा बढेका, हुर्केका छोरीहरुलाई कसरी सुरक्षित राख्ने भन्ने तनावमा तमाम बाबु-आमाहरु रहेका छन् भने युवतीहरु पनि कतिबेला कसले के गर्छ , कसरी अस्मिता र ज्यान जोगाउने भन्ने कुराले दिमागमा भय र त्रास लिएर बाँचिरहेका छन् ।

स्कुल देखि घर सम्म र घर देखि स्कुल सम्म आउँदा -जाँदा , घर देखि बजार र बजार देखि घर सम्म जाँदा-आउँदा त्यस्तै विभिन्न ठाउँमा घुम्दा , काममा अफिस जाँदा र आउँदा हरेक पटक मनमा संत्रास लिएर हिड्नु पर्ने वातावरण सृजना भईरहेको छ यस्तो अवस्थामा समाज, समुदाय र राज्य वा सरकारले कसरी व्यक्तीहरुको सुरक्षा दिने त्यस सम्बन्धमा गहन बहस गर्नु पर्ने भएको छ ।

सरकारले अपराधीलाई कडा कार्वाही गर्नु पर्ने , जनचेतनाका कार्यक्रम संचालन हुनु पर्ने , स्कुल तहमै व्यक्तीगत रुपमा सुरक्षित हुने वा सचेत हुने सम्बन्धी उचित शिक्षा दिईनु पर्ने , टोल -बस्तीहरुमा सुरक्षालाई मजवुत पारिनु पर्ने , नारीहरुलाई विशेष जनचेतना र सुरक्षित रहने सम्बन्धी तालीम एवं गोष्टीहरुमा बिशेष सहभागी गराउनु पर्ने, प्रत्येक टोलहरुमा टोलवासीहरु मिलेर सुरक्षा निकायलाई भरपर्दो सुचनाहरु दिने , टोललाई सुरक्षित राख्न आवस्यक कदमहरु चाल्ने, टोल सुरक्षाबल गठन गरि सुरक्षाकर्मी सँग मिलेर काम गर्ने आदी जस्ता कामहरु गर्नु पर्ने देखिन्छ ।

सबै भन्दा पहिलो कुरा त प्रत्येक अभिभावकहरुले छोरा-छोरीको गतिविधिलाई राम्रो सँग नियालेको हुनु पर्दछ र कुनै गलत बाटो र अपाच्य आनाबानी देखिएमा सुधारात्मक कदम चालिनु पर्दछ । सानैबाट बालबच्चालाई अनुशासित र जिम्मेवार बनाउन सक्ने हो भने ठुलो भएपछि पनि सही बाटोमा हिड्न सक्छन् ।

त्यस्तै महिलाहरु माथी हुने घरेलु हिंसा , धार्मिक-अन्धविश्वास , कुरिती , गलत परम्परा /संस्कार, मान्यतालाई तोड्नको लागी समेत जनचेतनामुलक कार्यक्रमलाई विस्तार गर्नु पर्ने देखिन्छ । युवा अवस्थामा हुने अपरिपक्क प्रेम सम्बन्धहरुमा असामान्जस्यता, समान हितमा बाँझिनु , सम्बन्धमा दरार पैदा भएको कारण पनि कतिपय हिंसात्मक घटना घटेको देखिन्छ ।

यसका लागी पनि युवा-युवतीहरुमा स्कुल तह देखि आपसी सम्बन्ध र संयमता कायम गर्ने बारे नैतिक शिक्षा दिईनु पर्ने र अभिभावकहरुले समेत प्रत्यक्ष वा अप्रत्यक्षरुपमा निगरानी राख्नु पर्ने साथै समय-समयमा आफ्ना सन्ततीहरुमा उचित सल्लाह र परामर्श दिईनु पर्ने हुन्छ ।

यस किसिमबाट परिवार, समुदाय र सरकारी तवरबाट आवस्यक सतर्कता र उचित कदम चाल्न सकेमा समाजमा घट्ने हत्या-हिंसालाई न्युनीकरण गर्न सकिन्छ । अपराधीलाई कडा सजायको व्यवस्था हुन पर्ने हुन्छ यदी संभव भए फाँसी समेतको व्यवस्था हुने गरि कानुन बन्न सक्ने हो भने यही कडा सजायको कारणले पनि आउँदा दिनहरुमा यस्ता अप्रिय घटना घट्ने सम्भावना कम हुन्छ ।

अर्को तर्फ विदेशमा अध्ययन र कामको लागी जाने विद्यार्थी र कामदारहरुले गर्ने आत्महत्या एवं विदेशी व्यक्ती र स्वयं साथीहरुको हातबाट ज्यान गुमाउनु पर्ने साथै कामको तनाव, पारिवारिक तनाव र खानपान, आरम, काम गर्ने वातावरण एवं बस्ने कोठाको तापमानमा समायोजन हुन नसक्दा हुने अाकास्मिक मृत्यु , कामको दौडान असावधानीको कारण मेशिन-यन्त्र, औजारमा च्यापिएर मृत्यु हुने , अपांग बन्ने जस्ता घटनाहरु विदेशमा कामको दौडान देखिएको पाईन्छ ।

यस्ता घटनाहरु हुन नदिनको लागी आवस्यक सावधानी,अवारनेस कार्यक्रम,आवस्यक कदम, सतर्कता, सुझबुझ, सुरक्षा संयन्त्र आदीको उचित व्यवस्था हुनु आवस्यक छ । विदेशमा अध्ययन गर्ने स्टुडेन्टहरुले आत्महत्या गर्ने क्रम बढ्नुको प्रमुख कारण भनेको पढाईको तनाव, कामको तनाव र पारिवारिक तनाव नै प्रमुख हुन सक्दछ।

साथै बढ्दो महत्वकांक्ष एवं शुरुमा देखिएको अपेक्षा र सपना , वास्तविक कार्यरुपमा म्याच नहुनु, मायाप्रेममा असफलता समेत सहायक कारकका रुपमा आत्म हत्या गर्न प्रेरित गराउने कारक तत्वको रुपमा लिन सकिन्छ । यस्तो समस्यालाई निराकरण वा नियन्त्रण गर्नको लागी स्वयं व्यक्ती , साथीसंगी, परिवारको हात महत्वपुर्ण रहने गर्दछ ।

पहिलो कुरा त स्वयं विद्यार्थीमा उच्च आत्मविश्वास र चुनौतीलाई आत्मसाथ गर्न सक्ने आत्मबल र धैर्यता हुनु पर्दछ । अरुको देखासिकी गर्ने र बढी महत्वकांक्षी हुनु भएन, अभाव भित्र अवसर खोज्ने एवं आवस्यकताको मात्रा घटाउन सक्ने क्षमताको विकास गर्ने, आत्म सन्तुष्टि भएर पढाईलाई निरन्तरता दिन सक्ने आत्मबल साथै गारो-सारोसँग जुधेर आफ्नो सपना साहाकार पार्न तल्लिन हुनु पर्यो ।

परिवारले पनि विद्यार्थीमा पढ्न जाने छोरा-छोरीबाट आर्थिक सहयोगको बढी अपेक्षा गरि बारम्बार पैसाको लागी माग गर्ने र अन्य छिमेकीको सन्तानले गरेको प्रगती एवं आर्थिक कमाईको उदाहरण दिदै घरायसी समस्या समाधानको लागी अवस्यक पैसाको फेरिस्ता पेश गर्ने र अनावस्यक तनाव दिने काम गर्नु हुँदैन ।

कामको तनावलाई समेत आवस्यक म्यानेज गर्ने , साथीहरुसँग मिलेर काम गर्ने , मिलेर बस्ने , आपसी सहयोग आदान-प्रदान गर्ने , आईपरेको समस्या आपसमा सेयर गरेर समाधानको लागी सामुहिक प्रयास गर्ने र आफ्नो समस्याहरु स्पस्टसँग आफ्ना बाबु-आमालाई बताउने एवं आफ्नो कमाईले पढ्न नपुगे आवस्यक आर्थिक सहयोग घरबाटै माग्ने समेत गर्नु पर्छ ।

एकान्तमा बसेर सपनाहरु बुन्ने र सोचे अनुसार कमाई हुन नसकेकोमा चिन्ता लिने , मनमा कुण्ठाहरु बोकेर बस्ने जस्ता काम नगर्ने । भविष्यमा कमाउन सकिन्छ , अहिले जनतन जीवन चलाएर पढाईलाई राम्रोसँग पुरा गर्नु प्रमुख लक्ष्य हो भन्ने कुरालाई आत्मसाथ गर्नु पर्दंछ जसले गर्दा विद्यार्थीबाट यस्ता अप्रिय घटनामा आफुलाई समाहित गर्न अग्रसर हुँदैनन् ।

त्यस्तै मलेसिया लगायत केही देशहरुमा विदेशी नागरिकले नेपालीहरुको ज्यान लिने, लुट्ने घटनाहरु तिव्र देखा परिरहेको छ यस्तो घटना नघटोस् भनेर समुहमा साथीहरु मिलेर बजारमा सपिंग लगायत काममा जाने , सकभर एक्लै नहिड्ने , सम्बन्धीत देशको सुरक्षा निकाय एवं सरकारलाई सुरक्षाको लागी नेपाल सरकारबाट समेत आवस्यक पहल गरि सम्बन्धीत देशको सरकारलाई सुसोचित गर्ने र सकभर त्यस्तो देशमा कामदार पठाउनुको सट्टा अन्य सुरक्षाको हिसावले सुरक्षित देशहरुमा आवस्यक तालीम र सचेतना सम्बन्धी ज्ञानहरु दिएर पठाउने गर्नु पर्दछ ।

त्यस्तै अर्को समस्या कामको दौडान हुने घटना हुनबाट सुरक्षित रहनको लागी कामदारले काममा कसरी सुरक्षित रहने , कसरी मेशिन-औजार संचालन गर्ने त्यस सम्बन्धी तालीम एवं अभिमुखीकरण कलासमा सहभागी हुने र कसरी मेशिन -उपकरण हेन्डलिंग गर्ने साथै सुरक्षित तरिकाले सुरक्षा संयन्त्र उपयोग गरि काम कसरी गर्ने त्यसमा समेत ध्यान दिन सके यस्तो घटनाबाट बच्न सकिन्छ ।

त्यस्तै अर्को समस्या भनेको व्यक्तीहरु कोठामा सुतिरहेको अवस्थामा ज्यान जाने समस्या देखिएको छ । यस्तो अवस्था खासगरी बाहिर फिल्डमा निर्माण सम्बन्धी काम गर्नेहरु प्रचण्ड घाम र धुपमा काम गर्ने बस्ने कोठामा आईसकेपछि एक्कासी चिसो कोठा (Air condition(AC) ) मा बस्दा र सुत्दा शरिरको तापमानमा तालमेल हुन नसकेर एक्कासी व्यक्तीको मृत्यु हुन सक्छ त्यस्तै , खानपान, आरम, बढी कामको लोड, पारिवारिक तनाव, मानसिक तनाव आदीका कारण पनि एक्कासी हर्ट एट्याक्क भएर पनि मृत्यु हुन सक्छ ।

यस्तो अवस्थाबाट अकालमा मृत्यु हुनबाट जोगिन स्वास्थ्य , आराम, खानपान , कोठाको तापमान , मानसिक आरम, तनावमुक्त रहने, पारिवारिक सम्बन्धलाई सन्तुलित बनाउने, पुरा नहुने सपना नदेख्ने, अरुको देखासिकी गरेर मनमा तनाव उत्पन्न नगर्ने , साथीहरुको सम्बन्ध राम्रो राख्ने, सामुहिकरुपमा साथीहरुसँग मिलेर समस्या समाधान गर्ने , समस्याहरुलाई आपसमा सेयर गरेर समाधान गर्ने प्रयत्न गर्ने, काम गर्ने समय आफुले गर्न सक्ने जति गर्ने , चिन्तनबाट मुक्त हुने, सधै सकारात्मक र आशावादी हुने जस्ता कुराहरुलाई आत्मसाथ गर्न सके यस्तो अकालमा ज्यान जाने अवस्थामा कमि आउन सक्छ ।

अत: स्वदेश र विदेशमा हुने यस्ता अकालमा हुने मृत्युलाई कम गर्न स्वयं आफै , परिवार, साथीसंगी , समाज, समुदाय, सरकार सबैको उचित प्रयास र आवस्यक कदमहरु समयमै चाल्न सकेमा र देश भित्रै रोजगारीको सृजना गरि विदेशिने युवाहरुलाई देशमै बस्ने वातावरण बन्न सकेमा पक्कै पनि अनाहकमा विदेशी भुमीमा युवाहरुको ज्यान जाने थिएन र अर्को तर्फ देशमा सुरक्षा संयन्त्रको संजाललाई विकासित गर्ने , अपराधीलाई कडा भन्दा कडा सजायको व्यवस्था गर्ने, सचेतना फैलाउने कार्यक्रमहरुलाई प्रभावकारी बनाउन सके देश भित्र कसैले पनि अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउने थिएन ।
बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका