बेल्जियममा कोईरालाको श्रद्धाञ्जली सभा सम्पन्न


बेल्जियम/ पुर्व प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति शुशील कोइरालाको तेर्हौ पुण्य तिथिको अवसरमा नेपाली जनसम्पर्क समिति बेल्जियमले आईतबार लुभेनमा श्रद्धाञ्जली शोक सभा सम्पन्न गरेको छ ।

नेपाली राजदुताबास बेल्जियमका राजदुत राममणी पोख्रेलले प्रमुख अतिथिको रुपमा बोल्दै कोईराला प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन्। नेपाली राजनीतिक क्षेत्रमा कोईराला एक सच्चा त्यागी, निष्ठावान, सरल, राष्ट्रबादी नेताको रुपमा रहेको बताउँदै राजदुत पोख्रेलले सच्चा देश भक्त नेता नेपालले बिरलै पाएको भन्दै स्मरण गरे। कोईराला प्रधानमन्त्री पदमा रहेको बेला बेल्जियम भ्रमणको समेत स्मरण गराउँदै भ्रमणको बेला कोईरालालाई नजिक बाट चिन्ने मौका समेत पाएको बिचार राजुत पोखरेलले ब्यक्त गरे।

गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले कोईराला कुनै पनि पद तथा लोभको राजनति गर्ने नेता नभई सिंगो राष्ट्र का लागी जहिले पनि त्याग गर्ने नेताको रुपमा रहेको बताएका थिए ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद का सचिव अर्जुन कुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवान तथा नेपाली काँग्रेस तेह्रौ महाधिवेशन महासमिति सदस्य सीता सापकोटाले स्व. कोईराला सदैव देश र जनताको लागी मात्र सोच्ने सच्चा नेता को रुपमा चर्चा गर्दै नेपाललाई नयाँ संबिधान दिएर गएको स्मरण गरे।

कार्यक्रममा   नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष चित्र सुवेदी,प्रवाशी नेपाली मञ्च बेल्जियमका गोपाल सिम्खडा,प्रवासी नेपाली एकता समाजका दिपेन्द्र के सी,  नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई, नेपाली जनसम्पर्क समिति बेल्जियमकी सल्लहाकार जानकी गुरुङ,  नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष सी पी भट्ट बिभिन्न संघ सँस्थाका प्रतिनिधिहरुले  स्वर्गीय कोईराला प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

समितिका अध्यक्ष सुवास जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय कोईरालाको सम्झनामा एक मिनट मौनधारण समेत गरिएको थियो ।
– -बिष्णु सापकोटाबाट