काठमाडौं-हेटौडा सुरुङमार्ग बनाउने कम्पनीको अध्यक्षमा-भवन भट्ट


काठमाडौं । काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग निर्माण गर्ने नेपाल पूर्वाधा विकास कम्पनीको अध्यक्षमा एनआरएन भवन भट्ट चयन भएका छन् । यसअघिका अध्यक्ष कुशकुमार जोशीको राजिनामालाई स्वीकृत गर्दै कम्पनीको सञ्चालक समितिले भट्टलाई जिम्मेवारी सुम्पिएको हो ।

लगानीकर्ताहरुको अनुरोधमा आफूले जिम्मेवारी लिएको भट्टले बताए । ‘लगानीकर्ताहरुले आग्रह गरेपछि अध्यक्ष पद स्वीकार गरेको हुँ,’ उनले भने- ‘चाँडोभन्दा चाँडो सुरुङमार्ग बनाएर देखाउँछु ।’ निजी क्षेत्रको लगानीले मात्रै आयेजना सम्पन्न गर्न नसकिने भएकाले सरकारलाईसमेत सहभागि बनाएर अघि बढ्ने योजना रहेको भट्टले सुनाए ।

‘आयोजना निर्माणका लागि पुँजी जुटाउनु चुनौतिपूर्ण छ । तर, अब सरकारकोसमेत सहभागितामा आयोजनालाई नयाँ ढंगले अघि बढाइने छ,’ भट्टले भने । विदेशी लगानीकर्तासँग आफ्नो पहुँच पनि आयोजनामा लगानी जुटाउन उपयोग गर्ने उनले सुनाए । ‘खासगरी जापानबाट ठूलो विदेशी लगानी ल्याउन पहल गर्नेछु,’ भट्टले भने- ‘आयोजना बन्छ, आफ्नो लगानी डुब्छ भनेर लगानीकर्ताहरुले शंका गर्नुपर्दैन ।’

कम्पनीमा १७ सय जनाले लगानी गरेका छन् । जसमध्ये सबैभन्दा ठूलो लगानीकर्ता भवन भट्टले नै सञ्चालन गरेको टीबीआइ समुह हो । ०६८ भदौ २० गते दर्ता भएको यो कम्पनीले लगानी जुटाउन सकेको थिएन । चार वर्षअघि नै लगानी जुटाएर आयोजनाको वित्तीय व्यवस्थापन गर्न सरकारले निर्देशन दिएको भएपनि हालसम्म कम्पनीले भरपर्दो लगानी जुटाउन सकेको थिएन । आयोजना निर्माण गर्न ३५ अर्ब रुपैयाँ लाग्ने बताइएको छ ।
अध्यक्ष परिवर्तन भएसँगै निजी क्षेत्र, सरकार र स्थानीयहरुमा राम्रो संकेत मिलेको कम्पनीले जनाएको छ । बुधबार निर्वाचित भएका कम्पनीका नयाँ अध्यक्ष भट्टले सरकारबाट पनि केहि पुँजी जुटाउने, चार बर्ष पुरानो प्राविधिक पक्षको कार्यलाई समय सापेक्ष बनाउनु, राम्रो कर्पोरेट गभरनेन्स भएको उत्कृष्ट संथा बनाउने, विदेशी फण्डको व्यबस्था गर्नू, होल प्रोजेक्ट फाईनान्स गराउने र सबै स्टेकहोल्डरहरु बिच राम्रो सम्बन्ध बनाउने कार्यहरु आफ्नो प्रमुख कार्यतालीकामा राखे कम्पनीले जनाएको छ ।

भट्टले नेपालमा होटल, ट्राभल, एयरलाईन्स बु्रअरी, शिक्षा तथा मिडिया क्षेत्रमा लगानी गरेका भट्टको जापानमा १ सय ३० वटा भन्दा बढि रेष्टुरेण्ट, रिसोर्ट तथा विभिन्न व्यापार ब्यवसाय सञ्चालन गर्दै अएका छन् ।