नायिका नेहा हत्या प्रकरण:- थप रहस्यमय बन्दै


पोखरा/ नेहा भन्ने योरुना पुनको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्ने भन्दै त्यसबारे प्रहरीबाट अनुसन्धान नभएको गुनासो उनका आफन्तले गरेका छन् । हत्या अर्कै ठाउँमा गरी शव घरनजिकै नयाँगाउँमा ल्याई फलिएको हुनसक्ने पनि उनीहरुले बताए ।

बुधबार पुन समाज नेपाल कास्की नगर समिति पोखराले पत्रकार सम्मेलन गरी नेहा हत्यामा प्रहरीले गरेको अनुसन्धानप्रति असन्तुष्टि व्यक्त गर्‍यो । नेहा हत्याबारे गहिरो अनुसन्धान गर्नुपर्ने समाजका केन्द्रीय सदस्य लालबहादुर पुनले बताए । ‘सामूहिक बलात्कारपछि हत्या गरिएको हाम्रो अनुमान छ,’ उनले भने, ‘प्रहरीले एकजनालाई मात्र सार्वजिनक गरेको छ, अरु पनि यसमा संलग्न हुन सक्छन्, वैज्ञानिक ढंगबाट अनुसन्धान होस् भन्ने हाम्रो माग हो ।’

नेहाका आफन्तले प्रहरी तथा प्रशासनको ध्यान आकर्षण होस् भन्ने उद्देश्यले केही प्रश्न र सुझाव विज्ञप्ति मार्फत पेस गरेका छन् । घटना भएको रात आरोपित सतीशले नेहासँग लेकसाइड गइसँगै रात बिताउने प्रस्ताव किन राख्यो ? भन्ने खोज्नुपर्ने आफन्तको भनाइ छ । सतीशले धेरै कुराहरु लुकाएको हुन सक्ने आफन्तले शंका गरेका छन् । ‘घटना भएकै ठाउँमा हत्या हुनुभन्दा पहिला उनीहरु बीच झगडा हुँदा किन वरपरले सुनेनन् ?,’ आफन्तहरुको प्रश्न छ, ‘नेहाको शरीरमा कालो कपडा कहाँबाट आयो ? सतीशले पक्राउ परेको दोस्रो दिन नै हत्या कबुल गर्दा किन माघ १५ गते प्रहरीले सार्वजनिक गर्‍यो ?’

बलात्कार भए नभएको थप अनुसन्धानका लागि नेहाको शवका केही अंग काठमाडौं पठाइएको हँुदा त्यसको वैज्ञानिक ढंगबाट अनुसन्धान गरी छिटो सार्वजनिक गर्नुपर्ने माग आफन्तले राखेका छन् । ‘झगडा गरी नेहाको मृत्यु भएको भए अर्धनग्न अवस्थामा शव कसरी फेला पर्‍यो ?,’ उनीहरुको अर्के प्रश्न छ ।

पुन समाजले हत्याकाण्डको गहिरो अनुसन्धानका लागि माघ २८ गते दबाबमूलक ¥यालीको आयोजना गर्ने भएको छ । चिप्लेढुंगा मानव अधिकार चोक, जिल्ला प्रहरी कार्यालय, पालिखे चोक,महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्र बैंक चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगी कोण सभामा परिर्णत भई समापन गरिने समाजले जनाएको छ । नेहाको हत्या माघ १८ गते नयाँगाउँमा भएको थियो । उनको हत्यामा संलग्न भनिएका नयाँबजारका सतीश भन्ने कृतन खडगीलाई कास्की प्रहरीले माघ २५ गते सार्वजनिक गरेको थियो ।

अनुसन्धानमा कुनै कमी कमजोरी भएको छैन

एसपी हरिबहादुर पाल
जिल्ला प्रहरी कार्यालय कास्की

नेहाको हत्यामा संलग्न सतीशको परिवार या आफन्तजनलाई किटान गरेर कुनै पनि लेख या तस्बिर फेसबुक र वेबसाइटहरुमा हालेको पाइए साइबर अपराध अन्तर्गत कडा कारबाही गर्ने छौं ।

हामीले नेहाको हत्याकाण्डको अनुसन्धानमा कुनै कमी कमजोरी गरेका छैनौं । थप अनुसन्धान भइरहेको छ । अनुसन्धानमा कुनै किसिमको सम्झौता भएको छैन । हुँदा पनि हँुदैन । अनुसन्धान बङ्ग्याउनुपर्ने कुनै स्वार्थ हामीसँग छैन ।

एसपी हरिबहादुर पाल
एसपी हरिबहादुर पाल

जहाँसम्म नेहाका आफन्तको गुनासो छ, त्यसलाई मैले नकारात्मक लिएको छैन । तर यस्तो प्रकारको शंकाले उल्टो अपराधी छुट्न मद्दत पुग्छ । हत्या छानबिन समितिले गरेको दुख मूल्यांकन नहुने गरी अनावश्यक रुपमा प्रश्न उठ्दा प्रहरीको मनोबल घट्न सक्छ । हाम्रो काम भनेको अपराधीलाई कानुनी दायरामा ल्याउने हो । अनुसन्धान र बयानको आधारमा मुद्दा अघि बढ्छ । नेहाको हत्या गरेको स्वयं सतीशले स्वीकार गरेको छ । घटना क्रम र सतीशले दिएको बयान मिल्न पनि गएको छ । जहाँसम्म बलात्कारको कुरा छ । त्यसको रिपोर्ट आउन बाँकी छ ।

नेहाको हत्याको विषयलाई लिएर अनावश्यक कुरा लेख्नेलाई पत्ता लगाई कारबाहीको दायरामा ल्याउने छौं । अनावश्यक रुपमा बिना आधार नेहाको हत्यामा अन्य व्यक्तिको संलग्न रहेको भन्दै विशेष गरी फेसबुकमा विभिन्न व्यक्तिको फोटो राख्ने गरेको पाइएको छ । बेवसाइटहरुमा पनि त्यसरी नै कुराहरु आएको पाइएको छ । यसको छानबिन सुरु भइरहेको छ । छिट्टै त्यस्ता व्यक्तिलाई साइबर अपराध अन्तर्गत कारबाहीको दायरमा ल्याउने छौं ।

अर्को कुरा नेहाको हत्यामा संलग्न सतीशको परिवार या आफन्तजनलाई किटान गरेर कुनै पनि लेख या तस्बिर फेसबुक र वेबसाइटहरुमा हालेको पाइए साइबर अपराध अन्तर्गत कडा कारबाही गर्ने छौं । सतीशमाथि हत्याको अभियोग लागेको छ । पछि उसले गरेको भन्ने पुष्टि नै भए पनि उनीहरुको आफन्तको त्यसमा कुनै दोष रहँदैन । त्यही भएर अरुको मानवअधिकार हनन् हुने गरी समाजिक सञ्जालमा कसैले केही राख्न र लेख्न पाइँदैन । सामाजिक सञ्जालमा जे पायो त्यही लेख्नेलाई पक्राउ गर्न अनुसन्धान टोली खटिएको छ । साभार: समाधान न्युज  

तपाईको प्रतिक्रिया