कास्की काँग्रेस :- नेतृत्वमा को आउँला ?


पोखरा / नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत मुलुकका ७५ वटै जिल्लाको अधिवेशन आज हुँदैछ ।  अधिवेशनका लागि पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवाका पक्षधरहरु बीच नेतृत्व लिने होडवाजी सबैजसो जिल्लामा देखिएको छ ।

कास्की जिल्लामा पनि पार्टीको नेतृत्व लिनका लागि धेरै जना आकांक्षी भएपनि अन्तिममा २ जनाको बीचमा मात्र प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिमा चाहना गरेका देवराज चालिसेले जोखिम मोल्न नसकेपछि र उनलाई समर्थन गर्ने कास्कीका नेताहरु नभएकोले उम्मेदवारी घोषणा गर्ने आँट गर्न सकेनन् ।

यसैगरी गुरु बरालले देउवा पक्षबाट उम्मेदवार बन्ने प्रयास गरेपनि उनको जित्ने सम्भावना कम देखिएपछि देउवा पक्षले उनलाई उम्मेदवारको रुपमा प्रस्तुत गर्न चाहेन । अर्का आकांक्षी कृष्ण कार्की पनि आफूलाई साथ दिन्छु भन्ने जिल्लाका नेताले धोका दिएको भन्दै रुष्ट बनेका छन् । जसका कारण अब सोमबारको निर्वाचन प्रक्रियामा पार्टीका वर्तमान जिल्ला सचिव कृष्ण केसी र १२ वर्ष अघि १७ वर्ष जिल्ला सभापति बनेका शुक्रराज शर्माले मात्र उम्मेदवारी दिने भएका छन् । निर्वाचन प्रक्रिया सोमबार बिहान नै शुरु हुने भएकाले अन्यले उम्मेदवारी दिएपनि प्रतिस्पर्धा भने केसी र शर्माका बीचमा मात्र हुने देखिन्छ ।

केसी र शर्मा दुवैले कास्की कांग्रेसको कार्यालयमा आइतबार दिउसो सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । केसीले उम्मेदवारी घोषणा गर्दा अन्य नेताहरु कसैलाई मञ्चमा राखेनन् । तर शर्माले भने यज्ञबहादुर थापा, जीवन परियार,महादेव गुरुङ लगायतलाई मञ्चमा राखेका थिए। मञ्चमा राखिएका नेताहरु मध्ये महादेव गुरुङले मात्र छोटो भनाइ राख्दै शर्मालाई समर्थन गर्ने बताए ।

शर्माको उम्मेदवारी घोषणा पछि उनलाई संस्थापन र देउवा पक्ष दुवैको समर्थन रहेको भनि उनका कार्यकर्ताले बहुप्रचार गरेको भएपनि देउवा पक्षका नेताहरुले भने शर्मालाई आफूहरुको समर्थन नरहेको स्पष्ट पारेका छन् । देउवा पक्षका नेता खेमराज पौडेलले  भने–‘शुक्रराजको उम्मेदवारीलाई कास्कीका देउवा पक्षका नेता र कार्यकर्ताहरुले समर्थन गरेका छैनन ।’ पौडेलको यो भनाइले कास्कीका देउवा पक्षका नेता कार्यकर्ताको समर्थन कृष्ण केसीलाई मिल्ने देखिन्छ ।

पौडेललेमात्र नभइ देउवा पक्षका अर्का नेता शोभियतबहादुर अधिकारीले पनि शुक्रराजको क्रियाकलाप प्रति जिल्लाका कांग्रेस नेता कार्यकर्ता असन्तुष्ट रहेको भन्दै विवेक प्रयोग गरेर मतदान गर्ने विश्वास व्यक्त गरे । आफू पार्टी कार्यालयमा रहेकै बेलामा कृष्ण केसी र शुक्रराज दुवैले उम्मेदवारी घोषणा गरेको जानकारी दिंदै नेता अधिकारीले भने–‘म दुवैको उम्मेदवारी घोषणा हुँदा मञ्चमा गइन र तल अन्य साथीहरुसंग बसिरहेको थिएँ ।’ ‘पार्टीको महाधिवेशनमा शेरबहादुर देउवालाई सहयोग गर्छु भनेर शुक्रराजजीले हामीसंग हार–गुहार गरिरहेका छन्, तर विश्वासिलो आधार अझै तयार भएको छैन’,–अधिकारीले भने ।

शुक्रराजले महाधिवेशनमा शेरबहादुर देउवालाई सहयोग गर्ने वचनवद्धता गर्ने हो भने जिल्लाका संस्थापन पक्षका नेता कार्यकर्ताको समेत समर्थन फुस्किने सम्भावना छ । त्यसरी शर्माले देउवा र संस्थापन दुवै पक्षलाई भ्रममा राख्दै आफूलाई सभापतिमा समर्थन गर्न याचना गरिरहेका छन् ।

संस्थापन पक्षका कास्कीका नेता यज्ञबहादुर थापा र जीवन परियार समेत शुक्रराजलाई शंकाको दृष्ट्रिकोणले हेर्न थालेका छन् । तर थापा र परियारको रोजाइमा कृष्ण केसी नपर्ने भएपछि उनीहरुको समर्थन बाध्यात्मक अवस्थामा शर्मालाई हुने देखिएको छ ।
यता, कृष्ण केसी पनि आफूलाई संस्थापन पक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । उनले आफू जहिले पनि नेतृत्व हस्तान्तरण र परिवर्तनको पक्षमा रहेको बताउँदै आएका छन् । यस पटक केसीलाई संस्थापन पक्षका नेता तथा पूर्वमहामन्त्री तारानाथ रानाभाट सहित संस्थापन पक्षका नेता र कार्यकर्ताको समर्थन देखिएको छ ।

महाधिवेशन प्रतिनिधि देवराज चालिसेले पनि नेतृत्व परिवर्तनको पक्षमा आवाज उठाउँदै आएकाले केसीलाई समर्थन गर्ने देखिन्छ । देउवा पक्षका नेता पूर्व सहायम मन्त्री प्रकाश बहादुर गुरुङ, भोजबहादुर गुरुङ लगायतका सबैजसो नेताहरु र कार्यकर्ताहरुले समेत शुक्रराजको कार्यशैलीका कारण केसीलाई समर्थन गर्ने जनाएका छन् । केसी र शर्मा बीच प्रतिस्पर्धा हुँदा कतिपयले शर्मालाई त कतिपयलाई केसीलाई बलियो भन्दै विश्लेषण गर्न थालेका छन् ।

चुनाव जित्नका लागि करिब ३५० मत आवश्यक पर्ने भएकाले त्यति मत जुटाउन दुवै पक्षले कसरत गरिरहेका छन् । क्षेत्रीय अधिवेशनमा पराजित भएका इमान्दार र निष्ठावान नेता कार्यकर्ताहरु जिल्ला अधिवेशनमा आफूलाई हराउने शक्तिसंग बदला लिने दाउमा छन् ।

विशेषगरि कास्कीका पुराना इमान्दार र निष्ठावान नेता कार्यकर्ताहरु महाधिवेशन प्रतिनिधिमा हारेपछि त्यसको प्रभाव जिल्ला अधिवेशनमा पर्ने निश्चित छ । पुराना कांग्रेस नेता खेमराज पौडेल, राजेन्द्रनिधि कोइराला, सुन्दर विजय कोइराला, शोभाचन्द्र बराल, पुलेन्द्रमान श्रेष्ठ, निर्मल कर्माचार्य, नन्दप्रसाद तिवारी, भेषराज पराजुली, रामप्रसाद अधिकारी, दिवसमान प्रधाानाङ्ग, भोजबहादुर गुरुङ, खुशीमान गुरुङ, यज्ञश्वर पोखरेल, डा. परमेश्वर पोखरेल लगायतको पराजय पछाडि शुक्रराज शर्मा र उनको टीम नै कारक बनेकोले जिल्ला अधिवेशनमा शुक्रराजको विरुद्ध उनीहरुको शक्ति प्रयोग हुने सम्भावना छ ।

‘त्यागी र निष्ठावान कार्यकर्तालाई कुनै अवसर नदिने तर आफूले १७ वर्षसम्म सभापति पटक–पटक सांसदको टिकट र राष्ट्रिय सभाको सदस्य समेत बनेर सबै किसिमको सुविधा लिएको व्यक्तिले बुढेसकालमा पुनः जिल्लाकै सभापति पदमा लोभ देखाउनु कुनैपनि दृष्टिकोणले जायज मान्न सकिंदैन’–महाधिवेशन प्रतिनिधिमा पराजित एक युवा नेताले भने । पार्टीको वर्तमान जिल्ला कार्यसमितिका उपसभापति विष्णु प्रसाद बाँस्तोला सहितका अधिकांश पदाधिकारी र सदस्यहरु पनि शर्माको उम्मेदवारीको विपक्षमा देखिर्एका छन् ।

जिल्ला अधिवेशनले १ सभापति, १ सचिव, १ कोषाध्यक्ष सहित कार्यसमितिका सदस्यहरुको चयन गर्नेछ । सभापति पदमा २ जनाबीच प्रतिस्पर्धा हुने स्पष्ट भएपनि सचिव र कोषाध्यक्षमा कतिजनाको उम्मेदवारी पर्छ भन्ने स्पष्ट भएको छैन । सचिवमा युवराज कुँवर, सुदिपमोहन भट्टराई, दुर्गा तिमिल्सिना, विष्णु पौडेल, दीपक गुरुङ लगायतको नाम चर्चामा छ भने कोषाध्यक्षमा ईन्द्र कुँवर र लक्ष्मी पाण्डेको नाम चर्चामा छ । सचिवका आकांक्षीमध्ये युवराज वर्तमान सचिव हुन् । यसैगरी भट्टराई नेविसंघका पूर्व केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधि समेत हुन् भने तिमिल्सिना पुराना कांग्रेस कार्यकर्ता हुन् । उनी देउवा पक्षधरको रुपमा कास्कीमा स्थापित छन् ।

उल्लेखित आकांक्षीहरु मध्ये सभापतिका उम्मेदवार शुक्रराजले युवराज कुँवर, सुदिपमोहन र विष्णु पौडेललाई आफ्नो पक्षमा राखिरहन विभिन्न प्रयास गरेपनि त्यो सम्भावना टरेको छ । जसका कारण सचिव पदका उम्मेदवारहरु प्यानलमा भन्दा व्यक्तिगत रुपमा चुनावमा जाने सम्भावना देखिएको छ । तैपनि भट्टराई क्षेत्र नं. १ को भएकाले क्षेत्रीय रुपमा तथा कुँवर क्षेत्री भएकाले जातीय रुपमा कृष्ण केसीसंग नजिक रहेको हुन सक्ने अनुमान गरिएको छ ।

कास्की कांग्रेसको जिल्ला कार्यसमिति सदस्य बन्न भने दजनौंले चाहना गरेका छन् । सदस्यमा निर्वाचित भएपछि उपसभापति, सचिव र सह–सचिवमा मनोनित हुन सकिने सम्भावनाले पनि पुरानादेखि युवा पुस्ताका कांग्रेस सदस्य बन्न इच्छुक देखिएका छन् । क्षेत्र नं. १ बाट गौरी सापकोटा, शिव अधिकारी, रामबाबु भण्डारी, देवेन्द्र रानाभाट, नारायण पौडेल, विश्वरमण अधिकारीका साथै क्षेत्र नं. २ बाट अनिता तिमिल्सिना, विष्णु कार्की, मुकुन्द ज्वाला बाँस्तोला, शिरोमणि बराल, नविन सिग्देल, हरि आचार्य, मिनबहादुर गिरी, दीपक पौडेल, सुमन पोडेल र सुवासको नाम चर्चामा छन् ।

यसैगरी क्षेत्र नं. ३ बाट युवक लामिछाने युवराज, लक्ष्मीबहादुर भट्टराई, भरतराज पौडेल, मदनबहादुर केसी, रंगीला आचार्य, भीम गौतम, शारदा गिरी र क्षेत्र नं. ४ बाट गौमती थापा, भरत अधिकारी, शंकर ढुंगाना, विष्णुबहादुर क्षेत्री, अमरबहादुर कार्की, विजय गुरुङ लगायतले जिल्ला सदस्य बन्न चाहना गरेका छन् ।-गोल्डेन न्युजबाट साभार