फेवातालमा ढल मिसाउनेलाई ३० हजार रुपैयाँ जरिवाना


पोखरा/ पोखरा उप—महानगरपालिका फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयले तालमा ढल मिसाउनेलाई ३० हजार रुपैयाँ जरिवाना गरेको छ । सोमबार अनुगमनका क्रममा हल्लनचोक नजिकैको माडवारी रेस्टुरेन्ट र फेवा बोर्डिङ स्कुलले भान्छाको जुठो पानी नालामा मिसाएको भेटिएको थियो ।

भान्छाको फोहोर पानी मिसाएका माडावारी रेस्टुरेन्ट र बोर्डिङ स्कुललाई ३०÷३० हजार रुपैया जरिवाना गरेको फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयका प्रमुख इन्जििनियर महेन्द्र गोदारले जानकारी दिए । ‘उनीहरुले अब देति नफाल्ने सर्तमा पहिलो पटकलाई ३० हजार मात्र जरिवाना गरेका हौ,’ गोदारले भने, ‘फेरि दोहोर्‍याएमा कडा कारबाही हुन्छ ।’ दुबैलाई कार्यालयबाट पत्र काटरे बुझाइ सकेको उनको भनाई थियो ।

उनले शुक्रबार पनि पोखराको जरेबरमा अनुगमन गर्दा भान्छाको पानी नालामा मिसाएको भेटिएको बताए । ‘उनीहरुलाई पनि कारबाही अगाडि बढाएका छौ,’ उनले भने, ‘आइतबार कार्यालयबाट पत्रकाटेर कारबाही अगाडि बढाउने छौ ।’ ती घरलाई फोहोरमैला र वातावरण ऐन अनुसार कारबाही गरिने उनले बताए । गोदारले भने, ‘१५ हजारदेखि १ लाखसम्म जरिवाना हुन सक्छ ।’ उनले जरेवरमा अनुगन गर्दा ५ वटा घरबाट ढल मिसाएको भेटिएको बताए । गोदारले श्रीधर श्रेष्ठ, कृष्ण सुवेदी, रामेश्वर न्यौपाने, शान्तकुमारी गुरुङ, टाउन टप खाजा घरका माया भण्डारीले ढल मिसाएको भेटिएको जानकारी दिए ।

वर्षादको पानी फाल्न बनाइएको नालाबाट ढल र मलमुत्र जान थालेपछि फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयले अनुगमन थालेको थियो । ‘फेवामा सफा पानी पठाउन बनाएको सिल्टेसन सबै भरिएको छ,’ उनले भने, ‘ढलबाट आएको फोहोर र मलमुत्र फेवातालमा गएकाले, त्यसलाई रोक्न अनगुमन थालिएको हो ।’

नगरपालिका फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयलाई सामुदायिक प्रहरी बैदाम, आमा समूह, टोल विकास संस्था, रेबान पोखरा, उद्योग वाणिज्य संघ लगायत संघ सस्थाले साथ दिएका छन् । उनले अब अरु ठाउँमा पनि अनुमन गरिने जानकारी दिए । मानवीय अतिक्रमणको चपेटामा परेर फेवाताल दुषित हुँदै गएको छ भनी समाधान न्युजले समाचारमा उल्लेख गरेको छ।