लिटिल मास्टर तेरियाले, बेल्जियम नचाईन्


बार्सिलोना/ डान्स ईन्डिया डान्स लिटिल मास्टर २०१४ को उपाधि जितेर चर्चामा आएकी प्रतिभाबान नेपाली चेली तेरिया मगरले बेल्जियमबासी नेपालीहरुलाई पनि नचाएकि छन्। लिटिल मास्टरको उपाधि जिते पछि देश विदेशका कार्यक्रमहरुमा ब्यस्त बनेकी तेरियाले युरोपको जाडोलाई बिर्साउँने गरी नचाएकी हुन्।

विश्व मगर महासंघ बेल्जियमले आयोजना गरेको माघे सँक्रान्ती बिशेष सांगीतिक कार्यक्रममा माईतीघर, सुरमा सुर मिलाई लगायत हिन्दी चर्चित गीतहरुमा तेरियाले नृत्य गर्दा दर्शकहरु रमाएका थिए। तेरियाको साथमा गायक सुमन बुढामगर,लाली बुढाथोकी लगायतले पनि गीत संगीत प्रस्तुत गरे। मगर जातिको भेष भुषा र संस्कृति झल्कने परम्परागत नृत्यहरुले सहभागीको ध्यान केन्द्रित गरेको थियो। दर्शकहरुको बाक्लो उपस्थितिले हल भने खचाखच देखिन्थ्यो।

संघका अध्यक्ष मार्के मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ (एनआरएनए) सचिव अर्जुन कुमार श्रेष्ठ,महिला उप -संयोजक रजनी प्रधान,आईसी सदस्यहरु नेत्र मगर,चिज कुमार श्रेष्ठ,जानकी गुरुङ, राष्ट्रिय समन्वय परिषद बेल्जियमका अध्यक्ष गंगाधर गौतम लगायत बेल्जियम स्थित संघ सँस्थाका प्रतिनिधिहरु सहभागिता रहेको थियो। संघले कार्यक्रमको खर्च कटाएर बचत रकमले गोरखाका भूकम्प पिडितहरुलाई सहयोग गर्ने जनाएको छ।

युरोपमा आएकी डीआईडी लिटिल मास्टर तेरियाको प्रस्तुती  हेर्न आतुर,नेपालीहरुका लागि बिभिन्न देशहरुमा कार्यक्रमहरुको तयारी चलिरहेको छ।

तस्बिर साभार:– बिश्व मगर संघ बेल्जियमको फेसबुकबाट

1468_1666037863645551_7831236586147135819_n12654370_1666037200312284_4732581252173529280_n