बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो,प्रथम सचिवले पत्र बुझे


लण्डन / बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै यहाँस्थित नेपालीले निम्तोपत्र दिएका छन् । बेलायतमा रहेका नेपाली व्यवसायी तथा संघ संस्थाका प्रतिनिधिहरुको समूहले सोमबार बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिट पुगेर निम्तोपत्र बुझाएको हो ।

प्रधानमन्त्री क्यामरून व्यस्त रहेको दर्शाउँदै उनका प्रथम सचिवले सो पत्र बुझेका थिए । पत्रमा बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगे पनि हालसम्म बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण नहुनु दु:खद भएको उल्लेख गर्दै क्यामरुनलाई नेपाल गइदिन आग्रह गरिएको छ ।

प्रतिनिधिमण्डलमा बेलायती संसदमा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, एनआरएनए आइसिसी सदस्य योगेन्द्रबहादुर क्षेत्री, यती नेपलिज एसोसिएसन यूकेका अध्यक्ष उमेश राज मोक्तान, तमुधिं यूकेका पूर्व अध्यक्ष सुवसिं गुरूङ, नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ, नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष नवीन पोखरेल र व्यवसायी राजाराम गिरी थिए । गिरीको संयोजनमा नेपाल भ्रमणको पहल भएको हो ।

निम्तोपत्रमा यूकेस्थित विभिन्न नेपाली व्यवसायी तथा नागरिकहरूले हस्ताक्षर गरेका छन् ।- ekantipur