प्रधानमन्त्रीको नयाँ योजना, “काठमाडौँमा विद्युतीय रेल सञ्चालन गर्ने”


काठमाडौँ – पछिल्लो समय हावादारी प्रतिबद्धता गरेको भन्दै आलोचित बनिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि नयाँ प्रतिबद्धता जनाएका छन् । शुक्रबार थारु कल्याणकारिणी सभा उपत्यका समितिको आयोजनामा रङ्गशालाको माघी महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले केही समयभित्रै काठमाडौँमा विद्युतीय रेल सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

‘विद्युतीय बस चलाउन अभियान ल्याउँछु भनेपछि केही मानिस आत्तिएक छन्,’ प्रधानमन्त्री ओलीले भने ‘केही समयभित्रै काठमाडौँमा विद्युतीय रेल सञ्चालन गरिनेछ ।’आजै आयोजित अर्को एक कायृक्रममा प्रधानमन्त्री ओलीले चुलोचुलोमा ग्यासको पाइपलाइन जडान, एक वर्षभित्र विद्युत् कटौतीको समाप्ति, हावाबाट ऊर्जा उत्पादन तथा उपत्यकाभित्र विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध भएको दोहोराएका थिए।

माघी महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानले सबैलाई समान अधिकार र अवसर दिएको बताए । उनले भने, “थारु समुदायलाई संविधानले कुनै पनि विभेद् गरेको छैन, अब थारु जनताको विकास, उन्नतिका लागि सरकारले सक्दो सहयोग गर्नेछ ।” नेपाल र नेपालीले कसैलाई अन्याय नगर्दा पनि नाकाबन्दीका कारण इन्धनलगायतका अभाव झेल्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले यो कठिनाइको अवस्था लामो समय नरहने उल्लेख गरे ।

उन्ले विकासको रफ्तारलाई कसैले पनि रोक्न नसक्ने बताउँदै पूर्व–पश्चिम राजमार्गलाई चौडा गर्ने, द्रुत मार्गलाई चाँडै पूरा गर्ने, मध्यपहाडी राजमार्गको निर्माण कार्यलाई पूर्णता दिने बताए ।

आरोप प्रत्यारोप लगाउनेभन्दा पनि केही गरेर देखाउने समय आएको बताउँदै प्रधानमन्त्री ओलीले एकताबद्ध भएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा जोड दिए ।काम गरेर देशलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा जनता निराश हुन नपर्ने बनाए ।

पुनःनिर्माणका अभियानलाई चाँडै अघि बढाइने बताउँदै उनले भूकम्पपीडित जनतालाई राहत तथा न्यानो कपडा दिन गाउँगाउँमा पुग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा थारु नेताले थारुको पहिचान र संस्कृतिलाई स्मरण गर्ने दिन माघीका अवसरमा शुभकामना व्यक्त गरे भने थारु समुदायका झाँकी, नृत्य एवम् खानाका परिकार प्रदर्शन गरिएको थियो । रासस