खेलाडी किनबेचमा रियल र एथ्लेटिको मड्रिडमाथि दुई सिजन प्रतिबन्ध


फुटबलको सर्वोच्च निकाय फिफाले स्पेनिस क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिडलाई खेलाडी स्थानान्तरणका लागि दुई सिजन प्रतिबन्ध लगाएको छ।फिफाको अनुशासन समितिले बिहीवार रियल र एथ्लेटिको मड्रिडमाथि १८ वर्षमुनिका खेलाडी क्लबमा भित्राएको भन्दै सन् २०१७ सम्मका लागि खेलाडी स्थानान्तरण गर्न प्रतिबन्ध लगाएको हो।

तर यो सिजन भने दुवै क्लबले नयाँ खेलाडीको सूची बुझाउन फिफाले अनुमति दिएको छ। रियल र एथ्लेटिको मड्रिडले यो सिजनपछि भने सन् २०१७ सम्म नयाँ खेलाडी स्थानान्तरण गर्न नपाउने फिफाले जनाएको छ।फिफाले एथ्लेटिकोमाथि ९ लाख र रियल मड्रिडमाथि ६ लाख २२ हजार स्वीस फ्राङ्क जरिवाना समेत तोकेको छ।

झन्डै एक वर्षको अनुसन्धानपछि रियल र एथ्लेटिको मड्रिडमाथि १८ वर्षमुनिका खेलाडी भित्र्याएको ठहर गर्दै खेलाडी किनेबेचका लागि दुई सिजन प्रतिबन्ध लगाउने निर्णयमा फिफाको अनुशासन समिति पुगेको हो।

यसअघि एक वर्ष अघि फिफाले स्पेनिस क्ल्ब रियल र एथ्लेटिको मड्रिडले गरेको पछिल्लो ५ वर्षको खेलाडी ट्रान्फरबारे स्पेनिस फुटबल संघसँग कागजपत्र मागेको थियो। कागजात पाएपछि फिफाले खेलाडी किनबेचलाई लिएर स्पेनका ५१ खेलाडीमाथि अनुसन्धान सुरु गरेको थियो। क्लबले १८ वर्ष पूरा गरेका खेलाडीहरु किनबेच गर्न पाउने फिफाको नियममा उल्लेख छ।

यसअघि १८ वर्षभन्दा मुनीका १० खेलाडी एमेडेमीमा भित्राएको भन्दै भन्दै फिफाले बार्सिलोनामाथि २०१६ सम्म खेलाडी किनबेचमा प्रतिवन्ध लगाएको थियो। तर त्यो प्रतिबन्ध केही दिन अघि फुकुवा भएको छ।-setopati