हाम्रा नेता (कविता)


कवि: पित्ताम्वर नेपाली
————
हाम्रा नेता चमत्कारी
चमत्कार् मात्र गर्दछन ।
चमत्कार देखाएरै
हामीलाई नचाउँछन ।।
उन्कै भाषणमा फल्छन
विकासका सबै फल ।
उन्कै भाषणमा बढ्छ
हाम्राे शरीरमा बल ।।
उन्कै भाषणमा बल्छ
हावामा बिजुली पनि ।
गण्डकी काेशीमा फेरि
उर्लदै बग्छ तेल पनि ।।
उन्कै भाषण खाएर
हामी टन्न अघाउँछाैं।
उन्कै भाषण अाेढेर
हामी मस्त निदाउँछाैं ।।
फुमन्त्रमा हटाउँछन
राेग हाम्राे भए कुनै ।
अाैषधी किन चाहियाे
महाैषधी भए उनै ।।
काेदाकाे बाेटमा धान
भाेलि उन्ले फलाउलान् ।
स्याउकाे बाेटमा अाँप
लटरम्म फलाउलान ।।
उन्ले चाहे भने बग्लान
नदीनाला उँभाे तिर ।
सगरमाथा पनि झुक्ला
उन्कै सम्मान खातिर ।।
स्वर्ग पाे किन चाहियाे
यहीं स्वर्ग बनाउँछन् ।
कल्पवृक्ष यहीं राेपी
मनचिन्ते फलाउँछन ।।
विदेशिनेहरु अाऊ
फर्क नेपालमै सब ।
सुख वर्षिन्छ यहीं नै
बाँकी रहन्छ के अव ।।?
अाऊ मस्त भई नाचाैं
नेताकै जय गानमा ।
भाग्य चम्काउँदै जाऊँ
नेताकै वरदानमा ।।

३०पाैष २०७२
पाेखरा