एनआरएन मलेसियाका अध्यक्षविरुद्द, लाखौं रकम लिएर नक्कली भिसा लगाइएको भन्दै उजुरी


गैर आवासिय नेपाली संघ एनआरएन मलेसियाका अध्यक्ष महेन्द्रजंग शाहीविरुद्द लाखौं रकम लिएर नक्कली भिसा लगाइएको भन्दै उजुरी परेको छ। काठमाडौं थानकोटका इन्द्रवीर महर्जनसँग शाहीले ३ लाख रुपैयाँ लिएर मलेसियाको नक्कली भिसा लगाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा लगायतका निकायमा उजुरी परेको छ।

महर्जनले आफूलाई मलेसियामा प्राफेसनल भिसा लगाइदिने प्रलोभन देखाएर शाहीले ३ लाख लिएको र उनले लगाइएको भिसा नक्कली भएको बताए। ‘जव म भिसा पाएर मलेसियाबाट नेपाल आउन चाहेको थिए’, महर्जनले भने ‘मलेसियाको विमानस्थलमा प्रहरीले पक्राउ गर्‍यो ।’ त्यसपछि २४ दिनसम्म जेलमा बसेका महर्जन ९ हजार ५ सय रिंगिट तिरेर मुक्त भएका थिए।

महर्जनले एनआरएन जस्तो संस्थाका जिम्मेवार व्यक्तिबाट यसरी आफू ठगिन्छु भनेर अनुमान नै नगरेकाे दाबी गरे। उनले एनआरएनको नाममा अन्यसँग पनि यसरी नै गठी गर्ने गरेको समेत महर्जनले सुनाए ।

मलेसियामा इन्सुरेन्स कम्पनी चलाइरहेका उनलाई मलेसियाली सरकारले नक्कली भिसा पासपोर्टमा लगाइदिएको भन्दै ५ वर्ष प्रतिबन्ध लगाएको छ। महर्जनले प्रहरीका साथै क्वालालाम्पुरमा रहेको नेपाली दूतावास, श्रम मन्त्रालय, श्रम विभाग, परराष्ट्र मन्त्रालय लगायतका निकायहरुमा उजुरी समेत हाल्ने तयारी गरेका छन् भन्दै सेतोपाटीले समाचारमा जनाएको छ।