जनसम्पर्क समिति स्पेनमा बिबाद,सँस्था बलियो र बैधानिक छ – अध्यक्ष डुम्रे


स्पेन/ नेपाली जनसम्पर्क समिति स्पेनको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै कोषाध्यक्ष राम सापकोटा,सह-महामन्त्री प्रकाश भट्टराई लगायत केहि सदस्यहरुले समितिमा नबस्ने घोषणा गरेका छन्। गत डिसेम्बर १६ मा असन्तुष्टि पक्षहरुको एक भेलाले लिखित कारण सहित हस्ताक्षरित बिज्ञप्ति मिडियामा सार्बजनिक गर्दै ,सोहि मिति देखि समितिमा नरहेको घोषणा गरेका हुन्।

असन्तुष्ट पक्षले निकालेको एक बिज्ञप्तिमा हस्ताक्षर गर्ने अन्य कार्यसमितिका सदस्यहरुमा ईन्द्र प्रसाद शर्मा,रोशन सिंह गुरुङ,हिरालाल सापकोटा (डायमण्ड), नारायण पौडेल र भरतराज न्यौपाने रहेका छन्। तर नेपालीनेपाली डटकमलाई प्राप्त भएको बिज्ञप्तिमा न्यौपानेको भने हस्ताक्षर रहेको छैन।

समितिमा नबस्ने घोषणा किन गरियो ?

डिसेम्बर १६ तारिक कार्यसमिति सदस्य तथा भेला आयोजक समितिका संयोजक ईन्द्रप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले संगठनलाई चुस्त र दुरुस्त बनाउँन बर्तमान नेतृत्व पूर्ण रुपमा असफल रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ। भेलाले गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको हालै भएको निर्बाचनमा समितिको तर्फबाट लज्जास्पद उपस्थित गराएको आरोप लगाएको छ। बिज्ञप्तिमा लेखिएको छ ,” समितिमा आबद्द गहन जिम्मेबार लिएका ब्यक्तिहरु ब्यक्ति बिशेषको महत्वकाक्षालाई सर्बोपरी ठानेर निजहरुको भविष्यमा आफ्नो स्थान सुरक्षित गराउनको लागि सँस्थाको ईज्यत र प्रतिष्ठा दाउमा राख्दै नेतृत्व सहितका अधिकांश पदहरु अरुको पोल्टामा पारिएको छ। ”

भेला रोक्न पुर्ब अध्यक्षहरु सहितले गरेको  पत्राचार
भेला रोक्न पुर्ब अध्यक्षहरु सहितले गरेको पत्राचार

यस्तै गत अगष्टमा युरो कांग्रेसका अध्यक्ष दिल गुरुङको रोहबरमा भएका लिखित सहमति पनि पालना नभएको, नेपाली जनसम्पर्क समिति स्पेनको बिधान बमोजिम अधिबेशनबाट पदपूर्ति हुनुपर्नेमा, बिधान बिपरित कार्यसमिति बिस्तार नगर्नको लागि बहुमतले दिएको प्रष्ट निर्देशनलाई लत्याएको भनी आरोप लगाईएको छ।

यसैगरी अधिबेशन सम्पन्न गर्न करिब डेढ बर्ष पुरा भईसक्दा पनि बिभिन्न उपसमिति गठन तथा कार्यसमिति बिस्तार गर्न नसकेको तथा बिधान बमोजिम एक बर्ष भित्र भित्र हुनुपर्ने साधारण भेला समेत गर्न असक्षम रहेको बताईएको छ। यस्तै सँस्थामा अनुशासन कायम राख्न असफल रहेको र दोषी उपर कार्बाही गर्न नेतृत्व असक्षम ठहरिएको बिज्ञप्तिमा उल्लेख छ। यिनै कारणहरु देखाउँदै बर्तमान कार्यसमितिका कोषाध्यक्ष,महामन्त्री सहित केहि सदस्यहरुले कार्यसमितिमा नबस्ने सामुहिक घोषणा गरेका छन्। “नबस्ने घोषणा” शब्दको प्रयोग गरिए पनि बिज्ञप्तिमा “राजिनामा” शब्दको भने प्रयोग भएको छैन।

सँस्था बलियो र बैधानिक छ – अध्यक्ष डुम्रे

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेले सँस्था सधैँ बैधानिक रुपमा चलेको बताएका छन्। २३ जना कार्यसमिति सदस्यहरु मध्ये केहि सदस्यहरुले सँस्था बैधानिक चलेन भनेर आबेशमा मिडियामा जानु गलत भएको बताउँदै फरक मतहरु सँस्थामा आए पनि बसेर छलफल गर्नुपर्नेमा जोड दिए। सामाजिक संजाल मार्फत छुट्टै भेला आयोजना गर्ने थाहा भए पछि पुर्ब अध्यक्षहरु सहित आँफुले हस्ताक्षर सहित पत्राचार गरेर छलफलमा आउँन आग्रह गरे पनि त्यसको अपमान भएको डुम्रेले बताएका छन्।

बर्तमान अध्यक्ष डुम्रे सहित पुर्ब अध्यक्षहरु पुष्पराज भण्डारी,एकराज गिरी,चिन्तामणी सापकोटाले यसरी छुट्टै भेला गर्नु सँस्थाको निर्णय बमोजिम नभएको र अनाधिकृत भएको भन्दै स्थगित गर्न पत्राचार गरेका थिए। तर स्थापना काल देखि नेपाली जनसम्पर्क समितिलाई नेतृत्व गर्दै आएका सबै अध्यक्षहरुले छुट्टै भेला आयोजन गरेका समितिका संयोजक ईन्द्र शर्मालाई आग्रह गरे पनि अन्तत: असन्तुष्ट पक्षले भेला भएको भन्दै, निर्णयहरु मिडियामा सार्बजनिक भएका छन्।

एनआरएनको बर्तमान कार्यसमितिमा ६५ प्रतिशत भन्दा बढी जनसम्पर्कबाट प्रतिनिधित्व भएको,सँस्था सधै बिधानलाई मान्दै अगाडी बढेको पनि डुम्रेले बताएका छन्। हालै बिस्तारित कार्यसमिति पनि बिधानसम्मत र बहुमतको निर्णयले बिस्तार गरिएको डुम्रेको दावी छ। क्षणिक स्वार्थ र उत्तेजनामा आएर निर्णय लिनु गलत रहेको बताउँदै डुम्रेले भने,” स्पेनमा काँग्रेस प्रति आस्थावान समुदायलाई ढुक्क हुन अनुरोध गर्दछु यो केहि साथीहरुले गरेको आबेशको निर्णय हो, हामी एक ढिक्का भई अबश्य हिड्ने छौ।”

भेला पछि असन्तुष्ट पक्षहरुले जारी गरेको पूर्ण बिज्ञप्ति unnamed-35

unnamed-34unnamed-33