भूकम्प प्रभावित गोरखाको बिद्यालयलाई साहारा युकेको सहयोग


सहारा युकेले विनासकारी भूकम्पका कारण क्षतिग्रस्त गोरखाको घैरुङ ज्यामीस्वारा गाविसस्थित गणेश प्राथामिक विद्यालयको पुनर्निर्माण सुरु गरेको छ । सहाराले गत वैशाखमा गएको भूकम्पले क्षति पुर्याएका गोरखा, धादिङ र भक्तपुरका एक–एक प्राथमिक विद्यालयको पुनर्निर्माण गर्ने प्रतिवद्धता अनुरुप काम अघि बढाएको हो ।

गत साता एक कार्यक्रमका बीच सहारा पोखराका अध्यक्ष विरभद्र अाचार्यले विद्यालयको भवन शिलान्यास गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, स्थानीय अभिभावक तथा सहारा पोखराका पदाधिकारीको उपस्थिति थियो । भवन पुर्णरुपले निर्माण भइसकेपछि विद्यालयलाई हस्तान्तरण गरिने सहारा युकेका अध्यक्ष दिलिप गुरुङले जानकारी दिए । भूकम्प पीडीतको सहयोगार्थ गठीत राहत कोषका संयोजक तथा सहारा युकेका उपाध्यक्ष मीनबहादुर गुरुङले युकेमा भएका विभिन्न च्यारीटी कार्यक्रमबाट उठेको सहयोगले विद्यालय पुनर्निर्माण हुन सकेको बताए ।
उनले संस्थाको हरेक सामाजिक काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सबैले हातमा हात मिलाई अघि बढे क्षतिग्रस्त सम्पूर्ण विद्यालयको पुनर्निर्माण हुन सक्ने विश्वास व्यक्त गरे । सामाजिक कार्यमा अग्रणी संस्था सहाराले भविष्यमा पनि आफ्ना सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ । सहाराले पुनर्निर्माण गर्ने अरु विद्यालयको काम पनि छिट्टै सुरु गर्ने समेत जनाएको छ ।

सहाराले नेपालमा आइपर्ने हरेक प्रकारका प्राकृतिक विपद्मा राहत वितरण गरि सहयोग गर्दै आएको छ । सहाराले यसअघि नेपालमा आएको विनासकारी भुकम्पका पीडितहरुलाई पनि राहत सामाग्री वितरण गरेको थियो ।