रोनाल्डोले ‘सिआर सेभेन’ होटलका लागि ४ करोड डलर लगानी गर्ने


लिस्बन- रियाल मड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगल, मड्रिड र न्युयोर्कमा आफ्नो नामबाट खोलिने ‘सिआर सेभेन’ होटलका लागि ४ करोड डलर लगानी गर्ने बिहीबार घोषणा गरेका छन्।

मडेइराका बासिन्दाको नाताले पेस्ताना होटल समूहको रोजाइमा परेका रोनाल्डोले त्यही समूहमार्फत लगानी गर्ने योजना सार्वजनिक गरेका हुन्। तत्कालका लागि रोनाल्डोको करिअरसँग सम्बन्धित सहरहरू फुन्चल, लिस्बन र मड्रिडमा होटल खोल्ने योजना छ। त्यसपछि न्युयोर्कमा पनि होटल खोल्ने योजना रहेको बताइएको छ।

‘मेरो संसार भनेको फुटबल नै हो। तर, जीवनमा परिवर्तन भइरहन्छ। मलाई होटल मालिक बन्ने सपना पहिल्यैदेखि थियो,’ म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीले लिस्बनमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यस्तो ठूलो प्रोजेक्टमा म एक्लैले काम गर्नु सम्भव थिएन। यो मेरो क्षेत्र पनि होइन। मेरो विचारमा होटल व्यवसायमा पेस्ताना पोर्चुगलको सबैभन्दा राम्रो समूह हो। हाम्रो पहिलो होटल मडेइरामा हुनेछ, किनकि हाम्रा आफन्तजन त्यही बसोवास गर्छन्।’

बालन डी’ओर पुरस्कार तीनपटक जितेका रोनाल्डोले २००९ मा युनाइटेड छाडेर रियाल प्रस्थान गरेका थिए। उनी रियालसँग २०१८ सम्म अनुबन्धित छन्। पोर्चुगाली राष्ट्रिय टोलीका लागि १ सय २३ पटक खेलिसकेका ३० वर्षे सुपरस्टारले पेस्ताना समूहसँग ५० प्रतिशतको साझेदारीमा होटल व्यवसायमा लगानी गर्न लागेका हुन्।

गतवर्षमात्र ७ करोड ६६ लाख डलर आम्दानी गरेका विश्वकै सबैभन्दा बढी कमाउने फुटबलरले यसअघि ‘सिआर सेभेन फेसन’ को नाममा तयारी पोशाकमा लगानी सुरु गरिसकेका छन्। उनले आफ्नो स्टारडमलाई अन्य व्यवसायमा पनि ब्रान्डिङका लागि प्रयोग गरिरहेका छन्।

पेस्ताना समूह र रोनाल्डोको साझेदारीमा हुने व्यवसायअन्तर्गतको पहिलो होटल २०१६ को जुन–जुलाईमा मडेइरामा सुरु हुनेछ। त्यसपछि रोनाल्डो एउटा किशोरका रूपमा फुटबल खेल्न गएको सहर लिस्बनमा दोस्रो होटल सुरु हुनेछ। लिस्बनमा उनले स्पोर्टिङ लिस्बनबाट खेलेका थिए। मड्रिडको होटल भने २०१७ सम्म खुल्ने अपेक्षा गरिएको छ।

१९७२ मा मडेइरामा स्थापना भएको पेस्ताना पोर्चुगलको सबैभन्दा ठूलो होटल व्यवसायी समूह हो। युरोप, अफ्रिका र अमेरिकाका १६ देशमा गरी यो समूहको कुल ८७ होटल, ६ गल्फ कोर्स र दुई क्यासिनो छ। समूहको वार्षिक कारोबार २४ करोड डलरभन्दा बढी छ।-nagarik