भारतीय नाकाबन्दी विरुद्ध एकतावद्ध होउँ(कविता )


-कवि लक्ष्मण थापा
बारुद पठाउँछ
सलाई पठाउँछ

बारुदमा अागो लगाउन
हातहरु पनि पठाउँछ ।


मट्टीतेल पठाउँछ
र मट्टीतेलबाट
बत्ती बलेको मन पराउँदैन
बरु
अागो सल्काएर ताप्न रुचाउँछ ।


रामको अभिनय गर्ने
खतरनाक बिमारी मनमा पाल्छ

बिभिषणहरुको खेती गर्छ ।


मसानको उपासना गर्छ
बल पुगेमा
विश्वलाई नै
मसानघाटमा रुपान्तरण गर्ने सपना पाल्छ ।


खतरनाक छ
र मेरो
अझै खतरनाक दुश्मन हो ।

त्योभन्दा
अझै खतरनाक बात के छ भने
उ मेरो पर्खाल छेउ बस्छ
उ मेरो गौंडो र तगारोमा बस्छ
उ मेरो अाँगन र पिंढीमा अाउँछ
उ मेरो मझेरी र भान्सासम्म पुग्छ ।

उ मेरो परिवारको लागि
अातंकको कारण बन्छ
अाक्रमणकारी बन्छ
विध्वंसकारी बन्छ ।

जब जब म उस्को अनुहार देख्छु
त्यो अनुहारमा म
दादा इदी अमिन देख्छु
चंगेज खाँ देख्छु
बोको हराम र अाइएसअाइएस देख्छु ।

मलाई लाग्छ
अहिले उ
मलाई भ्रष्ट पार्ने
मलाई नष्ट गर्ने
र मेरो अस्तित्व समाप्त पार्ने
अमिलो कसम खाएर बसेको छ ।

उसले ममाथि
ती अस्त्रहरु प्रयोग गरिरहेछ
जो गर्नु अाबश्यक थिएन
उसले ममाथि
ती शस्त्रहरु प्रयोग गरिरहेछ
जो गर्नु जायज थिएन ।
उसले ममाथि नियमका सबै पर्खाल भत्काएर
अन्धवेगले अाक्रमण गरिरहेछ ।

अहिले म
कुरुक्षेत्रको वीचमा उभिएर
उसका हरेक अस्त्रशस्त्रका प्रहारहरु
निष्तेज पार्न प्रतिबद्ध छु ।
(कवि थापा अक्षरयात्राका अभियन्ता एवम गजल संग्रह मनको मुर्छनाका सर्जक पनि हुन)