पोखरामा मधुमेह तथा मृगौला रोगको निशुल्क:परिक्षण सम्पन्न


पोखरा । सन् १९२१ मा बेन्टिनले डा. चाल्स बेष्टसँग मिलेर इन्सुलिनको आविष्कार गरेका थिए। विश्व स्वास्थ्य संगठन र इन्टरनेशनल डाइबेट्स फेडरेसनको पहलमा १९९१ देखि विश्वभर मधुमेह दिवस मनाउन थालिएको हो।

इन्सुलिनका आविष्कारक क्यानेडियन वैज्ञानिक फ्रेडरिक ग्रान्ट बेन्टिनको जन्मदिन नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रुपमा मनाइन्छ। सोही अवसरमा नेपाल मधुमेही समाज कास्कीको आयोजना र सूर्यचन्द्र विकास समाज पोखरा–५ को सहआयोजनामा भएको निःशुल्क मधुमेह र मृगौलासम्बन्धी रक्त परीक्षण तथा सचेतना कार्यक्रममा चार सय दुई जनाको निःशुल्क मधुमेह र मृगौलासम्बन्धी रक्त परीक्षण गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापाले औषधि विज्ञानले अधिकांश रोगबाट मुक्तिको उपाय पत्ता लगाएकाले रोगबाट चिन्तित हुनुभन्दा पनि सचेत हुनु आवश्यक रहेको बताए।

unnamed-3उनले आहार विहार र स्वास्थ्यसम्बन्धी सचेत भएमात्र पनि धेरै रोगबाट बाच्न सकिने उल्लेख गरे। युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले मधुमेह पश्चात् अन्य धेरै रोगले सताउने भएकाले आफूहरूले विभिन्न संघसंस्थासँगको सहकार्यमा निःशुल्क शिविर आयोजना गरिरहेको बताए।

एउटा शिविरमा चार सय जना मधुमेह परीक्षण गर्न आउनुले मधुमेहबाट मानिसहरु आक्रान्त भएको पुष्टि हुने उल्लेख गर्दै उनले भविष्यमा पनि युआरएलले सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

विश्व मधुमेह दिवसको अवसरमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा भएको शिविरका सहभागीलाई अन्य रोगसम्बन्धी रक्त परीक्षणसमेत ५० प्रतिशत छुट दिइएको थियो।

कार्यक्रममा सूर्यचन्द्र विकास समाजका अध्यक्ष वसन्त भण्डारी, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, युआरएलका अध्यक्ष चेतबहादुर गुरुङ, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा ५ का अध्यक्ष बुद्धिसागर खनाल र हेडम्बप्रसाद कोइरालाले पनि बोलेका थिए।

unnamed-4नेपाल मधुमेही समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खगेन्द्रदेवी घिमिरे र सञ्चालन सूर्यचन्द्र विकास समाजका महासचिव केदार कोइरालाले गरेका थिए।

नेपाल मधुमेही समाज कास्कीको सक्रियतामा कास्कीमा भने दोस्रो पटक विश्व मधुमेह दिवस मनाइएको हो। मधुमेहसम्बन्धी सचेतना जगाउँदै मधुमेह भएकाहरूलाई संगठित गर्ने र सो रोगबाट पीडितहरूलाई सहज उपचारको व्यवस्था गर्न संस्था लागिरहेको समाजका अध्यक्ष कृष्णप्रसाद बरालले जानकारी दिए।