नाकाबन्दीको विरोधमा नर्वेका नेपालीहरु पनि उत्रिए


नर्वे । नेपालमा हाल भैरहेको भारतीय नाकाबन्दीको विरूद्धमा नर्वेमा विरोध प्रदर्शन भएको छ । नेस्को नर्वे, गैर आवासीय नेपाली संघ नर्वे, नेपाली जनसम्पर्क समिति नर्वे, विवेकशील नेपाली नर्वे, प्रवासी नेपाली मन्च नर्वे, हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वे, जनप्रगतिशिल मन्च नर्वे, नेपाली पोर्चुगल समाज नर्वे, नेप्सा नर्वे लगायतका संघ संस्थाहरुको संयुक्त अगुवाइमा आयोजित उक्त प्रदर्शनमा सयौं नेपाली तथा केहि नर्वेजियनहरुको समेत सहभागिता रहेको थियो ।

नर्वेको राजधानी ओस्लोस्थित नर्वेजियन संसद भवन अगाडी नर्वेवासी नेपालीहरु तथा नेपालका शुभचिन्तकहरुले ब्याक अफ इंडिया, रेस्पेक्ट नेपाल, वी वान्ट फ्री ट्रान्जिट, ब्याक अफ मोदी भन्दै प्रदर्शन र नाराबाजी गरेका थिए । नेस्को नर्वेका अध्यक्ष केशव पुरीले विरोध कार्यक्रमलाई सम्बोधन गर्दै  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय सरकारको विरोध गरे ।Narwyओस्लो बाहिर निकै टाढा बोडो, क्रिस्टियानस्यान्ड लगायतका ठाउँहरुबाट समेत प्रदर्शनमा सहभागी हुन नेपालीहरु ओस्लो आएका थिए । नाकाबन्दी फिर्ता गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाउनु गएको टोलीलाई भारतीय राजदुतावासले माथिको आदेश भन्दै प्रत्यक्ष रुपमा पत्र बुझ्नु नमानेको कुरा नेप्सा नर्वेका सल्लहाकार अनुप गुप्ताले बताए ।

प्रवासी नेपाली मन्च नर्वेका अध्यक्ष अमरबहादुर सिंहले उक्त ज्ञापन पत्र इमेल मार्फत भारतीय राजदुताबास नर्वे, संयुक्त राष्ट्रसंघका महासचिव वान कि मूनको कार्यालय, परराष्ट्र मन्त्रालय नर्वे, नेपाली राजदुतावास डेनमार्क, परराष्ट्र मन्त्रालय नेपाल र युरोपियन कमिसन अध्यक्ष जिन क्लाउड़ेलार्इ पठाएको बताए ।