पेरिस आक्रमणका मुख्य योजनाकार अबाउद मारिए


१२९ जनाको ज्यान जाने गरी गत शुक्रबार भएको पेरिस आक्रमणका मास्टरमाइन्ड अब्देलहमीद अबाउद मारिएका छन् । बुधबार उत्तरी पेरिसमा भएको पुलिसका कारबाहीमा उनी मारिएका हुन् । सुरुमा उनको पहिचान नभएपछि उनको शवका अधारमा मृतक अबाउद नै भएको पत्ता लागेका ेअधिकारीहरुले बताएका छन् ।

फ्रान्सेली अनुसन्धानकर्ताहरुका अनुसार मोरक्को मूलका बेज्यियन नागरिक अबाउद नै पेरिस आक्रमणका योजनाकार हुन् । उनको खोजीका क्रममा बुधबार उत्तरी पेरिसको सेन्ट डेनिसमा ९ घन्टा प्रहरी अपरेशन भएको छ, जसमा एक महिलासहित दुई जना संदिग्धको मृत्यु भएको थियो ।

प्रहरी काबारहीमा मृत्यु भएका पुरुषको सनाखत हुन नसकेपछि अबाउदको अवस्था अज्ञात थियो । तर, बिहीबार अधिकारीहरुले प्रहरी कारबाहीमा मारिएका व्यक्ति अबाउद नै भएको पुष्टि गरेको छ ।

२७ वर्षका अबाउद कट्टरपन्थी चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)का सदस्य हुन् । उनको पालनपोषण ब्रसेल्सको एक जिल्ला मोनिलबीकमा भएको थियो, जहाँ ठूलो संख्यामा अरब आप्रबासीहरु बस्छन् । त्यहाँ बेरोजगारी र आवासको गम्भीर समस्या छ ।
प्रहरीका अनुसार अबाउद सलाह अब्देसलामका साथी हुन्, जो फरार छन् र उनका भाइ ब्राहिमले पेरिस आक्रमणपछि आफैंलाई विस्फोट गराएका थिए ।

 एपीका अनुसार बेल्जियमका सबैभन्दा राम्रो स्कुल मध्येको एक सेन्ट पीयर द अक्कलका विद्यार्थी थिए । उनी मेहदी नेमोछको सक्पर्कमा रहे । फ्रान्स-अल्जेरिया मुलका मेहदी जिहादी हुन्, जसले २०१४ मा ब्रसेल्सको एक यहूदी संग्रहालयमा चार जनालाई गोली हानेर हत्या गरेका थिए ।

 अबाउद जिहादप्रति यति समर्पित थिए कि उनले आफ्ना १३ वर्षका भाइलाई पनि सिरियामा आफूसँगै लगेका छन् ।अबाउद र अब्देसलाम दुबैलाई २०१० मा एक सशस्त्र डकैतीको आरोपमा बेल्जियममा जेल सजाय सुनाइएको थियो । २०१३ को सुरुवातमा अबाउद उर्फ अबु उमर अल बज्जिकी आईएसमा संगठित भए । तर, उनी चरमपन्थी कहिले बने भन्ने प्रष्ट भएको छैन ।