पेरिस आक्रमणकारी खोजी कारबाहीमा दुईको मृत्यु,७ जना पक्राउ


एजेन्सी / उत्तरी पेरिसको एउटा अपार्टमेन्ट क्षे्त्रमा खानतलासी लिने क्रममा प्रहरीद्वारा गरिएको कारबाहीमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै प्रहरीले पेरिसको विभिन्न ठाउँबाट आक्रमणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको छ । बुधबार बिहान मारिएका दुई जना वा पक्राउ परेका सात जनामा पेरिस आक्रमणका योजनाकार परेका छन् वा छैनन् भन्ने विषयमा प्रहरीको आधिकारिक भनाई आइनसकेको बताइएको छ ।

शुक्रबारको आतङ्ककारी आक्रमणमा १२९ जनाको मृत्यु भएपछि फ्रान्सको पेरिसलगायत वरपरका क्षेत्रमा आतङ्ककारी लुकिछिपी बसोबास गरेको हुनसक्ने आशङ्कामा खानतलासीलाई तीब्र बनाएको हो ।

प्रहरीले आक्रमणका मुख्य योजनाकार बेल्जियन नागरिक भएको र उक्त पेरिस आक्रमणको योजनाकारहरु सेन्ट डेनिस क्षेत्रमा रहेको आशङ्कामा बुधबार उक्त ठाउँलाई घेरा हाली उनीहरुको खोजी गरिरहेको बताइएको छ ।

मृतक दुई जनामध्ये एक महिला तथा एक युवकले आत्मघाती बम विस्फोट गराई आत्महत्या गरेको बताइएको छ । प्रहरीले पेरिस आक्रमणका मुख्य योजनाकार अब्देल हमिद अवाउड सेन्ट डेनिस जिल्लाको एक घरमा सुरक्षित रुपमा बस्दै आएको गोप्य सूचनापछि उक्त इलाकामा कार्बाही सुरु गरिएको हो ।