म्यागीले सिएनएन हिरो बन्दै भनिन्”नेपालले छोरीको रुपमा स्विकारेकोमा धन्यवाद”


काठमाडौं । नेपाली महिला र बालबालिकाको सेवामा सक्रिय अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो घोषणा भएकी छिन् । अमेरिकी टेलिभिजन संस्था केबल न्युज नेटवर्क(सिएनएन)ले अनलाइन भोटिङका आधारमा डोयनलाई मंगलबार राति सिएनएन हिरो २०१५ घोषणा गरेको हो। डोयनले १ लाख डलर पुरस्कार र १० हजार डलर नगद प्रोत्साहन स्वरुप पाउने छिन्।

डोयनले आफूलाई नेपालमा छोरीको रुपमा स्वागत गरिएको भन्दै आभार प्रकट गरेकी छिन् । उनले विजेता घोषित भएपछि मंगलबार स्टेजमा भनिन्, ‘मलाई तपाईंहरुको देशमा एउटी छोरीको रुपमा स्वीकार गरी माया दिनुभएकोमा नेपालका सम्पूर्ण जनतालाइ धन्यवाद भन्न चाहन्छु । हामीले आफू बस्ने संसारलाई आफूले चाहेजस्तै बनाउन सक्छौं । यहाँ उपस्थित सबै हिरोहरुले यहि काम गर्नुभएको छ ।’

२९ वर्षिया डोयन मध्यपश्चिमको सुर्खेतमा अनाथ बालबालिकाको पालन पोषण र शिक्षा दिक्षाका लागि कोपिला भ्याली समाजको स्थापना गरी काम गरिरहेकी छन्। उनले सन् २००६ मा जमिन किनिन् र स्थानीयसँगको सहकार्यमा कोलिका भ्याली चिल्ड्रेन होम सञ्चालनमा ल्याइन् । अहिले कोपिलामा ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकाले आश्रय पाएका छन् ।

उनले २०१० मा ब्लिनो फाउण्डसेन स्थापना गरिन्, जसले कोपिला भ्याली स्कुल खोलेको छ । अहिले उक्त स्कुलमा ३ सय ५० भन्दाबढी विद्यार्थी अध्ययनरत छन् । यसअघि नेपालबाट अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो बनिसकेका छन्।

तपाईको प्रतिक्रिया