आतङ्कवादीले बेल्जियमबाट बनाएका थिए, पेरिस आक्रमणको योजना


फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलाको योजना बेल्जियममा बसेर गराइएको रहस्य खुलेको छ।  बेल्जियमका सञ्चारमाध्यमहरुले फ्रान्सका गृहमन्त्रीलाई उद्धृतगर्दै दिएको समाचारअनुसार सो हमलाको योजना निर्माणको केही काम बेल्जियममा बसेर गरिएको खुलेको छ।

फ्रान्सका गृहमन्त्री बर्नाड क्याजेनोभले दिएको समाचारअनुसार आइतबार रातिसम्ममा प्रहरीले बेल्जियमबाट यसका थप प्रमाणहरु भेटेको छ र त्यसका आधारमा यी तथ्यहरु खुलेका छन्।

बेल्जियमको मेलान्बिक जिल्लामा सो योजना बनाइएको र त्यस जिल्लामा प्राप्त पछिल्लो तथ्याङ्कबाट आक्रमणकारीमध्येका दुई जना त्यहाँ बस्ने गरेका खुलेको हो। सो आक्रमणमा संलग्न आठजना मध्ये दुई जना फ्रान्सकै नागरिक रहेका र ती दुई जना विगत लामो समयदेखि नै सो जिल्लामा बस्दै आएका पाइएको प्रहरी अनुसन्धानको पछिल्लो प्रतिवेदनमा देखिएको छ।

फ्रान्सको प्रहरीले एकजना २६ वर्षीय अब्देसलाम सलाहको खोजीलाई व्यापक बनाएको छ। सो व्यक्ति निकै खतरनाक रहेको प्रहरीले जनाएको छ। सो व्यक्ति बेल्जियममा जन्मेको थियो। यस आक्रमणमा मुख्य हात उसैको रहेको भन्दै प्रहरीले उसको पक्राउका लागि प्रयास थालेको बताएको छ।

शनिबार बिहानदेखि प्रहरीले कम्तीमा पनि सातजना बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ । ती मध्ये एकजना तिनै सलाहका दाजु समेत रहेका बताएको छ । यसअघि शनिबारै फ्रान्सका राष्ट्रपति फासाँ अल्याण्डले पनि उक्त हमलामा विदेशी नागरिककै हात रहेका बताएका थिए। तर पछि गरिएका अनुसन्धानमा यसमा फ्रान्सेली पनि संलग्न भएका देखिएको छ ।

आक्रमणमा आइएसकै हात रहेको प्रमाणित

यसैबीच पेरिसमा भएको सो हमलामा मुस्लिम अतिवादी समूह आइएसकै सम्लग्नता प्रमाणित भएको छ । फ्रान्सले गरेको अनुमानसरह नै अमेरिकाले पनि सोही तथ्य बाहिर ल्याएको हो ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शनिबार जनाएअनुसार सो सूचनामा कुनै विरोधाभास नदेखिएको बताइएको थियो । पछि सोही सूचना प्रमाणित भएको उक्त कार्यालयले जनाएको छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदले गरेको एक स्वतन्त्र अनुसन्धानबाट यो अवस्था देखिएको बताइएको हो। अनुगमनबाट उक्त आईएस समूहले नै आक्रमण गरेको हुनसक्ने प्रमाणहरु भेटिएका हुन्।

शुक्रबारको सो आक्रमणमा उक्त अतिवादी समूहको हात रहेको जानकारी फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले नै सार्वजनिक गरेका हुन्। शुक्रबार भएका शृंखलाबद्ध यी आतङ्ककारी हमलाहरुमा परी कम्तीमा पनि १३२ जनाको ज्यान गइसकेको छ भने अरु ३४९ जना घाइते भएका छन्।

विदेशी भूमिबाट आएका आठजना आतङ्ककारी सो आक्रमणमा प्रत्यक्ष संलग्न देखिएको फ्रान्सेली सुरक्षा निकायले निष्कर्ष निकालेको बताइएको छ। फ्रान्सेली सुरक्षा निकायले इस्लामिक लडाकूको संलग्नताका प्रमाणहरु भेटेको जनाएको छ । फ्रान्सेली सुरक्षा निकायले आक्रमणमा संलग्न छ जना मारिएको पनि जनाएको छ।

आक्रमणमा संलग्न एकजनाको साथबाट सिरियाली पासपोर्ट भेटिएको र सोही प्रमाणका आधारमा पनि धेरै कुराको खोजी गरिएको जनाइएको हो । तर सुरक्षाका हिसाबले उसको पहिचान भने खुलाइएको छैन । रासस /सिन्ह्वा