भारतीय नाकाबन्दी विरुद्ध जेनेभास्थित राष्ट्रसंघीय कार्यालय अगाडी प्रर्दशन


निराजन श्रेष्ठ
जेनेभा । भारतले करिव दुई महिनादेखि नेपालमाथि लगाएको नाकाबन्दी विरुद्ध स्वीटरल्याण्डको जेनेभास्थित राष्ट्रसंघीय कार्यालय अगाडी नेपालीहरुले प्रर्दशन गरेका छन् । भारतीय नाकाबन्दीका कारण नेपाली जनताको मानव अधिकार हनन भएको र गम्भीर मानवीय संकट उत्पन्न भएको भन्दै नेपालीहरुले यसविरुद्ध आवाज उठाउन विश्व समुदायलाई आह्वान गरेका छन् । स्थानीय समयअनुसार अपरान्ह करिव दुई बजे सुरु भएको प्रर्दशन झण्डै दुई घण्टा चलेको थियो ।

स्वीटरल्याण्ड तथा बिभिन्न युरोपेली मुलुकबाट आएका सयौर्ंको संख्यामा रहेका नेपालीहरुले ‘नाकाबन्दी तत्काल फिर्ता गर’ नेपालको पारवहन अधिकार सुनिश्चित गर, नेपाली जनताको मानवअधिकार सुनिश्चित गर जस्ता नारा लेखिएका प्लेकार्ड लिएर प्रर्दशन गरेका छन् ।

बिरोध प्रर्दशनमा बोल्दै कानुन ब्यबसायी गोविन्द बन्दीले भारतले लगाएको नाकाबन्दीका कारण ६० हजारभन्दा धेरै बिद्यालय बन्द रहेको, सयौं अस्पतालहरु प्रभावित भएको करोडौं जनता इन्धन अभावका कारण छटपटाइरहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई भारतीय अपराधविरुद्ध बोल्न आह्वान गरे।

आफ्नो संविधान आफै बनाउने नेपालको अधिकारमाथि हस्तक्षेप गर्दै भारतले अनुचित दबाब दिएको भन्दै उनले नेपाललको बनाएको संविधान भारतको भन्दा धेरै गुणा राम्रो रहेको बताए । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बिश्वभर रहेका नेपालीहरुले भारतीय हस्तक्षेप र नाकाबन्दीका विरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए ।

Nepali-Protest-Against-India-Blockade-At-UN-headquarters-geneva1हालै गैरआवासीय नेपाली सम्मेलनका क्रममा पनि आफुहरुले नाकाबन्दी पीडा नजिकबाट अनुभव गरेको भन्दै उनले यो समस्या कुटनीतिक तहबाटै समाधान होस् भने आफुहरुले कुरेको बताए । तर, दुई महिना हुन लाग्दा पनि समस्या समाधान नभएको हुँदा अब नेपालीहरुले संसारभरि बिरोध गर्नुपर्ने उनको धारणा थियो ।

फ्रान्समा कार्यरत नेपाली पत्रकार ददि सापकोटाको पहलमा बिरोध प्रर्दशन कार्यक्रम गरिएको थियो । पत्रकार सापकोटाले भारतले नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको र नाकाबन्दीजस्तो गम्भिर अपराध गरेका कारण अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न बिरोध प्रर्दशन गर्नुपरेको बताए ।