सुनकलीलाई किन मेस्सी बराबर नै ठान्ने ? ( नोभेम्बर २२ तारिक बार्सिलोनामा)


केहि वर्षअघि नेपाल भ्रमणमा आउँदा फिफा अध्यक्ष सेप ब्लाटरले भनेका थिए- नेपालले राम्रो खेल्छ तर एउटा मेस्सीको कमि भो। चमकदमकका साथ सजाइएको राजधानीको दशरथ रंगशालामा भएको एएफसी कपको उद्‌घाटन खेल हेरेपछि उनको त्यस्तो प्रतिक्रिया आएको थियो।

ब्लाटरले भलै नेपालमा मेस्सीको कमि देखे होलान्, तर नेपालको सबैभन्दा गरिब जिल्ला मुगुलाई भने मेस्सीको अभाव महसूस भएको छैन। सिङ्गो जिल्लामा एउटा रं‍गशाला पनि नभएको मुगुवासीले किन एक किशोरीलाई मेस्सी बराबरै ठाने? कहाँ विश्वको सबैभन्दा महँगो खेलाडी मेस्सी, कहाँ मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको जिल्ला मुगु।

तर पनि किन सत्कार र सम्मानको ओइरो लगाए? किन ‘सुनकली कस्ती, मेस्सी जस्ती’ नारा लगाइयो? कसरी फुटबलले मुगुवासीलाई ‘हामी पनि अघि बढ्न सक्छौँ’ भन्ने आत्मविश्वास दिलायो?

त्यसमा टिम मुगुका खेलाडीहरु दुई दिनको पैदल बाटो हिँडेर हुम्ला पुगी खेल खेल्छन् तर हारेपछि निराश भएर दुई दिनको पैदल बाटो हिँडेर घर फर्कन्छन्। हरुवाहरुलाई कसले वास्ता गर्ने?  दुःख गरे, खेले। निर्धारित समय २-२ गोलको बराबरी पनि भएकै हो। तर पेनाल्टी सुटआउटमा हुम्ला जित्यो। उनीहरु हारे, फर्किए। फेरि उही दैनिकी सुरु। स्कूल जाने, घरायासी काम गर्ने।

950x633xIMG_5551.jpg.pagespeed.ic.zarGR9Npweसाढे ४ हजार मिटरको उचाइमा रहेको चंखेली लेकको काखमा रहेको बाम गाउँमा छ सुनकलीको घर। हुनत अहिले एक रुपियाँको नोट नै हराइसक्यो। तर पनि भेट्टाउँदा हेर्नुहोला, त्यसको पछाडिपट्टी देखिने च‍ंखेली लेक हो।

सुनकली आफ्ना साथीहरुसित।

सुनकली आफ्ना आमा, बुबा र तीन भाइसँग। सरकारी आंकडा अनुसार, मुगुबासीको औसत आयु ४४ वर्षमात्र हो, जसमा पुरूषको ४७ र महिलाको ३९ वर्ष रहेको छ।

मुगुका आफ्नै खालका दुख्ख र दर्द छन्। मुगुमा कूल भू-भागको ५ प्रतिशत मात्र खेतीयोग्य जमिन छ। स्थानीय उत्पादनले केवल ३ महिना मात्र थेग्न सक्छ। बाँकी ९ महिनाका लागि मुगुबासी सरकार र गैरसरकारी संस्थाले दिएको ढुवानी अनुदानमा निर्भर छन्। फोटोमा बालिकाको हात हेर्नुस्।

हिउँ पर्ने लेकमा घाँसपात गर्नु….हिउँसँग नुनमर्चा खानु….

….उज्यालो भएदेखि अँध्यारो नहुँदासम्म घरायासी काममा व्यस्त हुनु यहाँको दैनिकी हो। तर यस्तो ठाउँमा पनि फुटबल खेलिन्छ र त यो खेललाई विश्वकै सबैभन्दा बढी लोकप्रिय खेलका रुपमा लिइन्छ। मुगुका चेलीहरुले पनि पहिलो पटक फुटबले देखेको सन् २०११ मा मात्र थियो।

‘जितेको सपना देख्ने गरौँ’

पहिलो खेल टाइब्रेकरमा हारेको दुई महिनामै यी छात्राहरु कैलालीमा हुने राष्ट्रिय फुटबलमा सहभागी हुने अवसर प्राप्त भयो। उनीहरु फेरि दुई दिनको पैदल बाटो हिँड्दै ताल्चा विमानस्थल पुगे। उनीहरुलाई प्रशिक्षकले यसो भनेका थिए- ‘मुगु जिल्लाभरिको लेडिज फस्ट टीम हौ तिमीहरु। ओभरअल कर्णालीको प्रेष्टिज हुन्छ। त्यही भएर तिमीहरुले धेरैभन्दा धेरै मिहिनेत गर्नुपर्छ। मिहिनेत गर्नका लागि डराउनु हुँदैन। जितेको सपना देख्ने गरौं, अनि मात्र जितिन्छ। हामी एकदमै मिहिनेत, एकदमै लगनशिल भएर र अत्याधिक आफ्नो ध्यान खेलमा लगाएर खेल्नेछौं..है..त..।’

950x633xswagat2.jpg.pagespeed.ic.0Gw8mk2zWoयो कैलालीसम्मको यात्रा राष्ट्रिय खेलमा सहभागी हुने अवसर मात्र थिएन, यिनीहरुले जीवनमै पहिलोपटक समथर परेको मैदानमा पाइला टेक्दै थिए। उनीहरु कहाँ त खाली डाँडाकाँडा, उकालीओराली मात्र। यी चेलीहरुले जिल्ला छाडेको यो पहिलो अवसर थियो। पहिलो पटक प्लेन, बस, टाङ्गा, रिक्सा देख्दै थिए। विकासको वास्तविक रुप बल्ल पो देखे उनीहरुले।

मुगुका यी चेलीको पहिलो भिडन्त ललितपुर जिल्लाको बडिखेल टिमसँग भयो। अहो, यिनीहरुले पहिलो पटक देखे चिल्ला-मोटाघाटा ‘सहरिया’। यिनीहरुलाई नेपाली पनि राम्रोसँग बोल्न आउँदैन थियो, उनीहरु मकै भुटे जसरी अङ्ग्रेजी बोल्थे। तर यी सहरिया मोटाघोटाहरु मैदानमा १०/१५ मिनेटसम्म मात्र दौड्न सके। बरु डाँडाकाँडामा उकाली ओराली गरिरहेका मुगुका यी छात्राहरुले हिउँमा चोपेर खाएको नूनरोटीको स्टामिना देखाए। सहरिया थाकिसकेका थिए, यिनीहरु नब्बे मिनेटै भरी मैदानमा कुदेको कुद्‌यै।

१२ नम्बरको जर्सी लगाउने मुगुकी सुनकली बूढाले ह्याट्रिक गरिन्। बडिखेल हार्‍यो, खेलाडी डाँको छाडेर रुन थाले।

आयोजकले टीम मुगु र हुम्लाको लागि मोटरसाइकलको व्यवस्था गर्‍यो। यो यिनीहरूको रहर थिएन। ट्रयाक्टरमा बान्ता हुने भएपछि आयोजकले मोटरसाइकल जुराएको हो। यो मोटरसाइकलमा यिनीहरुले जीवनमै पहिलोपल्ट यात्रा गर्दै थिए। दुई महिनाअघि मुगुलाई हराएको हुम्ला कैलालीको टीकापुरसँग पेनाल्टीमा हार्‍यो। दुई महिनाअघि मुगुका खेलाडी रोएका थिए। यसपटक हुम्लाका खेलाडीहरुको क्याम्पमा रुवाबासी थियो।

950x633xghoda1.jpg.pagespeed.ic.-7d76gcW7iत्यसपछि मुगुको गेम कैलालीको बलियासँग पर्‍यो। यसमा १२ नम्बर जर्सीकी सुनकली बुढाले गोल गरिन्, आखिर त्यही गोलले मुगु सेमी फाइनल पुग्यो। सेमी फाइनलमा मुगु पथरैया टीमसँग भिड्ने भयो। यो चुनौति पार गर्न मुगुलाई निकै हम्मेहम्मे पर्‍यो। दर्‍हो प्रतिष्पर्धाका बीच सुनकली बुढाले एक गोल गर्न सफल भइन्। यसरी फाइनलमा मुगु र टीकापुर टीम भिड्ने भए। बलियो टीम टीकापुरलाई तिनै सुनकलीको एक गोल गरिन्। आखिर सुनकलीको त्यही गोलले मुगुलाई फाइनलमा विजयी गरायो।

मुगु विजयी भएको सुनेपछि टीकापुरकी गोलकिपर अचानक मुर्छा परिन्। बेस्ट स्ट्राइकर को भइन् त? को हुनु, उनै मुगुकी सुनकली बुढा।

यसरी टिम मुगु राष्ट्रिय विजेता बन्यो। मुगुले कुनै पनि राष्ट्रव्यापी प्रतियोगिता जितेको यो पहिलो अवसर थियो। भन्छन् नि विश्वकपमा पनि अन्डरडग टिम। हो, त्यस्तै थियो मुगुको टिम। अकस्मात् आएर कपै जितिदियो। यसले मुगुमा ठूलै हङ्गामा भयो। हिनता मुटुको कुनामा लुकाएर बाँचिरहेका मुगुवासीहरुलाई गर्वले शिर ठाडो गर्ने एउटा मौका यसले दियो।

नेपालगन्जबाट टोली विमानमा मुगुको ताल्चा विमानस्थल पुगेको थियो। यो फुटबल टिम बनाउन छात्राहरु खोज्न निकै गाह्रो भएको थियो। एक गाउँबाट अर्को गाउँको दूरी भनेको एकदेखि दुई दिनसम्मको पैदल बाटो छ। तर जितेर आएपछि सबैका बुबाआमा एयरपोर्टमै उपस्थित थिए स्वागतका लागि। त्यहीँ हुडक्या नाच नचाइयो। भव्य स्वागत भयो।

950x633xghoda.jpg.pagespeed.ic.Ak7e3tEXIJविमानस्थलबाट पनि दुई दिनको पैदल बाटो हिँड्नु पर्थ्यो घर फर्कन। त्यहाँबाट स्वागतका लागि हरेक खेलाडीलाई एक एक वटा घोडाको व्यवस्था गरिएको थियोमुगुमा महिलाले घोडा चढ्नु भनेको अनौठो कुरा हो। राजा वा रानीले बाहेक अरुले घोडा चढ्दैनन्। चढेको देखेका छैनन् जिल्लावासीले।

तर पहिलो पटक घोडाबाट स्वागत भयो त्यहाँ।

बाटोमा पर्ने सबै गाउँमा गाउँलेले स्वागत गरे। सेनाले स्वागत गरे। जिल्लाका सब गन्यमान्यले फुटबल दिए, पैसा दिए, रुपियाँको माला लगाइदिए।

स्वागतका लागि महिलाहरु ओर्लिए, बालबच्चा ओर्लिए। ‘सुनकली कस्ती, मेस्सी जस्ती’ नारा लागे। यस्तो लाग्थ्यो मानौँ यिनीहरुले विश्वकप जितेका हुन्। सिङ्गो जिल्ला एक भएको थियो खुसी मनाउन।

तपाईँ अहिले विश्वकपमा रमाउँदै हुनुहुन्छ होला। मुगुका लागि त यही विश्वकप सरह हो। तपाईँ मेस्सी, मुलरका मूभ हेर्दै हुनुहुन्छ होला। मुगुका लागि त सुनकली नै मेस्सीसरह हुन्, जसले जिल्लावासीलाई खुसी हुने अवसर दिएकी छन्।
विश्वकपमा आफ्नो टिम समर्थन गर्नुहोला। आफूलाई मन पर्ने टिमको जर्सी लगाउनु होला। तर नभूल्नु होला, मुगु र मुगुवासीका लागि महिला मेस्सीलाई पनि।

फुटबल राजधानीको रंगशाला र ब्राजिलका रंगशालामा मात्र हैन, मुगुमा पनि खेलिन्छ। मुगुवासीलाई पनि फुटबलले उत्तिकै खुसी दिन्छ, जति सात समुद्र पारीको तपाईँले समर्थन गरेको टिमले जित्दा तपाईँलाई दिन्छ। अझ बढी नै दिन्छ पो कि त !

950x800xswagat11.jpg.pagespeed.ic.2mjY9Ik2S_उता मुगुवासीलाई अर्कै चिन्ता छ। केटाले गर्न नसकेको काम केटीले गरेपछि गाउँबासीमा छोरीलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ अहिले। उनीहरु भन्छन्- ‘हामीलाई खुशी लाग्यो, तर चिन्ताको विषय किन भने अन्तर्राष्ट्रिय चलनमा ३० वर्षसम्म विवाह नगर्ने, त्यसपछि प्रेम विवाह गर्ने।

तर, यहाँकी केटीहरु ३० वर्षसम्म खेलाडी भइरहेको भए हाम्रो ठूलो छाती हुन्थ्यो। पुन विजेता हुन्छन् कि भन्ने आश बाकी रहन्थ्यो। हाम्रो चलनमा १८–१९ वर्षमै पोइल जान्छन्। यदि यति चाँडै उमेरमा पोइल गएपछि हाम्रो नाम कसले राख्ने? चिन्ताको विषय यो हो।’- माई संसारबाट

नोभेम्बर २२ तारिक बार्सिलोनामा, कार्यक्रम बारे पूर्ण जानकारी
डकुमेन्ट्री देखाऊँने मिति:- २२,नोभेम्बर आईतबार
समय:– दिउँसो २:३० बजे
स्थान:- कासा डेल टिबेट calle/Rossello 181 (Esquina Aribau)
Metro – L5 Diagonal, Bus, 33,34,(H8)
टिकट– १० युरो ( १० बर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क)
सम्पर्कका लागि:- दाबा ऋषि श्रेष्ठ ६६०४२५४०७ ,मुक्त बहादुर गुरुङ्- ६७११९४००८,उमेश अधिकारी ६३१६७८१३२, नेपालीनेपाली डटकम -६३२५२२७२९ र एनआरएन स्पेनका कार्यसमितिका सदस्यहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।

आयोजक- एनआरएन स्पेन, बिशेष सहयोगी – नेपालीनेपाली डटकम

च्यारिटी डिनरको लागि

Restaurante Tibetano Potala
C/ Aragon 397, Barcelona, Spain
22th November,2015 ,8.30 pm
Contact:- 934592854,वा 660425407

सुनकली डकुमेन्ट्री यसरी सुरु हुन्छ ,भिडियो हेर्नुहोस्।