“मुगुकी सुनकली मेस्सीको शहर बार्सिलोनामा”


बार्सिलोना/ फुटबल स्टार लियोनल मेस्सीले व्यवसायीक फुटबल खेल्ने शहर बार्सिलोनामा बहुचर्चित नेपाली डकुमेन्ट्री सुनकली प्रर्दशनी हुने भएको छ। मुगुका किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ फुटबलको शहर बार्सिलोनामा प्रर्दशनी हुने भएको हो।डकुमेन्ट्री भित्र “सुनकली कस्ती मेस्सी जस्ती” भनेर तुलना गरिएकोले पनि बार्सिलोनाको हुने प्रर्दशनीलाई अर्थ पूर्ण रुपमा हेरिएको छ।

५० मिनेट लामो उक्त डकुमेन्ट्रीको निर्देशन गरेका पत्रकार भोजराज भाटले १३ वर्षीया सुनकली बुढा र उनकी सहेलीहरुको फुटबल कथालाई डकुमेन्ट्रीमा उतारेका छन् । निर्देशकका भाटका अनुसार, ‘सुनकली’ मा फुटबललाई केवल माध्यम बनाइएको छ, मुगुको सामाजिक परिवेश, स्थानीय संस्कृति र जनजीवनलाई डकुमेन्ट्रीमा सचित्र प्रस्तुत गरिएको छ ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले डकुमेन्ट्रीलाई च्यारिटी सोको रुपमा आगामी नोभेम्बर २२ तारिक आईतबार बार्सिलोनामा देखाउँने भएको छ। निर्देशक भाटको उपस्थितिमा हुने कार्यक्रममा सुनकली बारे परिचय र जिज्ञासा राख्न पनि समय तय गरिएको छ।

डकुमेन्ट्री देखाउँनका लागि संघका सल्लाहकार दाबा ऋषी श्रेष्ठलाई संयोजक तोकिएको छ। कासा डेल टिबेटमा प्रर्दशनी हुने डकुमेन्ट्री हेर्न स्पेनिस लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। बार्सिलोनामा डकुमेन्ट्री ल्याउँनका लागि युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले बिशेष पहल गरेको हो।

सुनकलीले अहिलेसम्म आठ वटा अन्तर्राष्ट्रिय अर्वाड जितीसकेको छ। हालै इटलीको मिलानमा सम्पन्न ३३ औं मिलानो इन्टरनेश्नल फिक्स्ट फिल्म फेस्टिबलमा ‘सुनकली’ले मनोमनमा परेका ६ वटा फिल्महरुलाई उछिन्दै मुुभी एण्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड जितेको छ। यसैबीच सुनकलीले गत साता जर्मनमा सम्पन्न वग्र्ग फिल्म फेस्टिबल–टिजेन्जी २०१५मा माउण्टेन एण्ड कल्चर विधामा एक हजार युरो नगदसहित प्रथम पुरस्कार हासिल गरेको थियो।

केही समयअघि अमेरिकाको चर्चित सिनेरोक्कम इन्टरनेश्नल फिल्म फेस्टिबलमा नेपाली डकुमेन्ट्री ‘सुनकली’ ले ‘वेष्ट डकुमेन्ट्री डायमण्ड अवार्ड’ पायो। गत मंसिरमा सम्पन्न काठमाडौं इन्टरनेश्नल माउण्टेन फिल्म फेस्टिबल ‘किम्फ’ को १२ औं संस्करणको पहिलो ओपनिङका रुपमा ‘सुनकली’ को ‘वल्र्ड प्रिमियर’ भएको थियो ।किम्फमा ‘सुनकली’ ले एक हजार अमेरिकी डलरको इसिमोड अवार्ड र जुरी अवार्ड पनि पाएको थियो । त्यसलगत्तै ‘सुनकली’ ले स्लोभानियाको ‘माउण्टेन फिल्म फेस्टिबल दोम्जालेमा’ मा जुरी अवार्ड र टोरन्टो नेपाली फिल्म फेस्टिवलमा १ हजार अमेरिकी डलरको अडियन्स च्वाइस अवार्ड जितेको थियो ।

गत जेठमा सम्पन्न पाकिस्तान इन्टरनेश्नल माउण्टेन फिल्म फेस्टिबल (पिम्फ)ले पनि ‘सुनकली’ लाई फेस्टिबलकै उत्कृष्ट डकुमेन्ट्री अवार्ड दिएको थियो । सम्भवतः नेपाली डकुमेन्ट्रीको इतिहासमा सबैभन्दा बढी अवार्ड पाउने डकुमेन्ट्री सुनकलीको नाम दरिएको छ ।

यो महिनामा मात्र सुनकलीको युरोपमा मात्र दर्जनजति फिल्म फेस्टिबलमा प्रर्दशनी हुुँदैछ । माउण्टेन विधाका फिल्महरु प्रर्दशनी गर्ने संसारकै टप ३ मा गनिने बेलायतको केण्डल माउण्टेन फिल्म फेस्टिबलमा पनि सुनकलीले प्रतिष्पर्धा गर्दैछ । अल्जजिरा इन्टरनेश्नल डकुमेन्ट्री फिल्म फेस्टिबलदेखि इरानीयन डकुमेन्ट्री फिल्म फेस्टिबललगायत डेड दर्जन फेस्टिबलमा सुनकलीको छनौट भइसकेको छ ।

पोताला रेष्टुरेन्टले च्यारिटी डिनर गर्ने

बार्सिलोनामा अबस्थित रेष्टुरेन्ट टिबेतानो पोतालाले सुनकली देखाउँदै च्यारिटी  डिनरको आयोजना गर्ने भएको छ। नोभेम्बर २२ गते नै साँझ रेष्टुरेन्टले स्पेनिस समुदायलाई लक्षित गर्दै सुनकली च्यारिटी डिनर गर्न लागेको हो।

रेष्टुरेन्टले खर्च कटाएर नाफाको सम्पूर्ण रकम सुनकली टिमलाई एनआरएन स्पेन मार्फत बुझाउँने जनाएको छ। रेष्टुरेन्टको संचालन दाबा ऋषि श्रेष्ठ र उनकी श्रीमती लोप्साङ्ग युडुन श्रेष्ठ (यशोदा) ले गर्दै आएका छन्। च्यारिटी डिनरमा सहभागी हुन स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुलाई संचालकले अनुरोध गरेका छन्।

कार्यक्रम बारे पूर्ण जानकारी
डकुमेन्ट्री देखाऊँने मिति:- २२,नोभेम्बर आईतबार
समय:- दिउँसो २:३० बजे
स्थान:– कासा डेल टिबेट calle/Rossello 181 (Esquina Aribau)
Metro – L5 Diagonal, Bus, 33,34,(H8)
टिकट- १० युरो ( १० बर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क)
सम्पर्कका लागि:– दाबा ऋषि श्रेष्ठ ६६०४२५४०७ ,मुक्त बहादुर गुरुङ्- ६७११९४००८,उमेश अधिकारी ६३१६७८१३२, नेपालीनेपाली डटकम -६३२५२२७२९ र एनआरएन स्पेनका कार्यसमितिका सदस्यहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।

च्यारिटी डिनरको लागि
Restaurante Tibetano Potala
C/ Aragon 397, Barcelona, Spain
22th November,2015 ,8.30 pm
Contact:- 934592854,वा 660425407