मोदीको बेलायत भ्रमणमा, नाकाबन्धीको एजेण्डा बनाउँन क्यामरुनलाई पत्र


बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्माले आफ्ना प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपालको नाकाबन्दी समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन् ।

शर्माले क्यामरुनलाई एक पत्र पठाउँदै भारतीय समकक्षी नरेन्द्र मोदीसँगको आसन्न भेटका अवसरमा नेपालको अघोषित नाकाबन्दीलाई मुख्य एजेन्डा बनाएर समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदी तीन दिने बेलायत भ्रमणका लागि आगामी १२ नोभेम्बरका दिन लन्डन उत्रदैंछन् ।

प्रधानमन्त्री क्यामरुनले पत्र प्राप्त गरिसकेको जवाफ दिएको जनाउँदै सांसद शर्माले भारतलाई नेपालसँगको पुरानो ऐतिहासिक सम्बन्ध नबिगार्न समेत अनुरोध गरेका छन् । भारतीय मुलका बेलायती सांसद शर्माले मंगलबार साँझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित एउटा पर्यटन प्रवर्धन कार्यक्रममा नयाँ संविधान जारी भएकामा नेपाललाई बधाई पनि दिए । उनले लामो समयको छलफलपछि नयाँ संविधान जारी हुनु देशको ठूलो उपलव्धि भएको भन्दै सरहाना समेत गरेका छन् ।

यसैबीच, तीन दिने बेलायत भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विरोध प्रदर्शन गर्ने भएका छन् । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएकामा आक्रोशित नेपालीले मोदी विरुद्ध १२ नोभेम्बर दिउँसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् ।

प्रदर्शनको नेतृत्व कांग्रेस सम्वद्ध नेपाली जनसम्पर्क समिति, बेलायतले गर्दैछ । भारतको अघोषित नाकाबन्दीबारे विश्व समुदायसमक्ष जानकारी दिन कार्यक्रम तय गरिएको समितिले जनाएको छ । समितिले सम्पूर्ण बेलायतवासी नेपालीलाई प्रदर्शनमा साथ दिएर ऐक्यवद्धता जनाउन आग्रह समेत गरेको छ ।

उता, समितिबाहेक बेलायतस्थित नेपाली विद्यार्थीहरुले पनि मोदीविरुद्ध प्रदर्शन सफल बनाउन अभियान गरिरहेका छन् । फेसबुक पेजमा विरोध कार्यक्रमबारे जानकारी दिंदै ति युवाले भारतलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

मोदीको बेलायत भ्रमणका अवसरमा भारत र ब्रिटेनबीच व्यापार तथा आर्थिक विकासबारे सम्झौता हुने अपेक्षा गरिएको छ । मोदीले बेलायती संसदमा सम्वोधन गर्ने कार्यक्रम रहेको अखवारहरुले जनाएका छन् । उनले बेलायती समकक्षी डेभिड क्यामरुनसँग भेटवार्ता र रात्रीभोज गर्नुका साथै बेलायती महारानी एलिजावेथसंग दिवा भोज गर्ने कार्यक्रम छ । साथै मोदीले वेम्ली स्टेडियममा करिव ५५ हजार सहभागी भारतीय डायस्पोरालाई सम्वोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।-ekantipur