पोखराका ब्यबसायीहरुले भारतीय खसीबोकाको कारोबार नगर्ने


सन्देश श्रेष्ठ
पोखरा । पोखराका खसीबोका व्यवसायी र मासु व्यवसायीहरुले अबदेखि भारतीय खसीबोकाको कारोबार नगर्ने भएका छन् । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि आक्रोशित व्यवसायीहरुले भारतीय खसीबोकामा प्रतिबन्ध लगाएका हुन् ।
भारतीय खसीबोकाले पोखरेली बजार करीब ६० प्रतिशत र स्वदेशी खसीबोकाले ४० प्रतिशत ओगट्ने गरेको छ ।

पोखरा खसीबोका ब्यवसायी समितिले अबदेखि स्वदेशमै उत्पादित खसीबोका मात्र खरिद बिक्री गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले भने, ‘हामी नेपालीलाई भारतले अनावश्यक रुपमा दुःख दियो, अब हामी भारतको खसीबोकाको कारोबार गर्दैनौं यो हाम्रो निर्णय नै हो, अबदेखि हामी नेपालकै खसीबोका मात्र बेच्छौं ।’
बिना कुनै कारण नेपाललाई दुःख दिने उद्देश्यले भारतले नाकाबन्दी लगाएर अत्यावश्यक सामानहरु रोकेपछि पोखरा खसीबोका ब्यवसायी समितिको पूर्ण बैठक बसेको थियो ।

कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिका अध्यक्ष भोलानाथ ओझाले भारतीय खसीबोकाको मासु बेच्दा केही बढी फाइदा हुने भए पनि स्वदेशी किसानलाई टेवा पुर्‍याउँदै राष्ट्रियता बचाई राख्न भारतीय खसीबोका नबेच्ने निश्कर्ष निकालिएको बताए ।पोखरा खसीबोका व्यवसायी समितिका सचिव ज्ञानहरी आचार्यले स्वदेशमै उत्पादित खसीबोकाले नै पोखराको बजार धान्नसक्ने बताए ।

पोखरामा कास्कीसहित, सुर्खेत, कैलाली बर्दिया, दाङलगायतका जिल्लाबाट खसीबोका भित्रिने गर्दछन् । भारतको अघोषित नाकाबन्दी पछि पोखरामा खसीबोका बिक्रीमा करीब ४० प्रतिशतले कमी आएको छ ।