छापामार जीवन बिताएका कमाण्डर बने मुलुकका उपराष्ट्रपति


काठमाडौं । पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका छन् । सत्तारुढ गठवन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी नेता पुन बहुमतका आधारमा उपराष्ट्रपति निर्वाचित भएका हुन् । उनले ३२५ मत पाएका छन् ।

नेपाली कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् । शनिबार भएको मतदानमा ५४७ मत खसेको थियो । तर, १० मत बदर भएको छ ।

दश बर्ष पूर्णतया छापामार (सैन्य) जीवन बिताएका पुन ‘पासाङ’ नामले परिचित छन् । बिगत केही समययता ‘भूमिगत’ जस्तै भए पनि अब भने उनी राजकीय सम्मानका साथ देखिने छन् । मधेसीपछि मगर समुदायबाट मुलुकको दास्रो पदमा पुग्ने पहिलो ब्यक्ति बनेका छन् ।

सशस्त्र द्वन्द्वका बेला लडाकू कमाण्डरको भूमिमा रहेर सेनाका ब्यारेकहरुमा आक्रमणको नेतृत्व गरेका पासाङलाई अब नेपाली सेनाका जर्नेलहरुले सलामी ठोक्नुपर्ने भएको छ ।
उपराष्ट्रपति पासाङ १० वर्ष सशस्त्र द्वन्द्वमा माओवादीले बनाएको जनमुक्ति सेनाका कमाण्डर थिए ।