२२४ जना सबार रुसी विमान’ इजिप्टमा दुर्घटनाग्रस्त


इजिप्टका अधिकारीहरुले एउटा रुसी यात्रुवाहक विमान साइनाइ प्रायद्वीपमा दुर्घटनाग्रस्त भएको जनाएका छन्। एयरबस ए-३२१ विमान इजिप्टको रेड सी रिसोर्टबाट रुसी शहर सेन्ट पिटर्सवर्गका लागि उड्दै गर्दा दुर्घटनामा परेको बताइएको छ।

विमानमा २ सय १७ यात्रु र चालक दलका सात सदस्य रहेको जनाइएको छ। इजिप्टका प्रधानमन्त्री सरिफ इस्मेयलले विमान दुर्घटनाबारे पुष्टि गरेका छन्।दुर्घटनामा परी सबै यात्रुहरु ज्यान गएको आशंका गरिएको छ ।

अधिकांश यात्रु रुसी पर्यटक भएको बताइएको छ। इजिप्टका सञ्चारमाध्यमहरुले विमानको भग्नावशेष भेटिसकेको र दुर्घटनास्थलमा कम्तीमा २० वटा एम्बुलेन्स पठाइसकिएको जनाएका छन्।

पश्चिमी साइबेरियास्थित एउटा सानो विमान कम्पनी कोगलिमाभियाले उक्त विमान सञ्चालन गरिरहेको बताइएको छ। सुरुमा विमानबारे विरोधाभाषपूर्ण विवरणहरु आएका थिए। कतिपय विवरणमा उक्त विमान साइप्रसमाथिको आकाशमा हराएको उल्लेख गरिएको थियो।

तर पछि इजिप्टका प्रधानमन्त्रीको कार्यालयले एउटा वक्त्वयमा रुसी गैरसैनिक विमान मध्य साइनाइमा दुर्घटनाग्रस्त भएको पुष्टि गरेको थियो।