नाकाबन्दी र भूकम्पले गर्दा यसपालि तिहारमा फूलको अभाव हुने


काठमाडौं । भारतले अघोषितरूपमा गरेको नाकाबन्दीका कारण तिहारमा सयपत्री फूलको अभाव हुने देखिएको छ । हरेक वर्ष तिहारको लागि भारतबाट फूल आयात गर्ने गरेको भएकाले यसवर्ष नाकाबन्दीले गर्दा अभाव हुने देखिएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ । पछिल्लो समय स्वदेशी फूल उत्पादनमा वृद्धि भएपनि चाडपर्वलाई लक्षित गरेर झण्डै २० प्रतिशत फूल अझैपनि भारतबाटै आयात गर्ने गरिएको छ ।

गत वर्षको तिहारमा एक करोड ४० लाख रूपैयाँ बराबरको सयपत्री फूल भारतबाट आयात गरिएको थियो । नाकाबन्दीका कारण यस वर्ष फूल आयात गर्न समस्या देखिएको एसोसियसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए । विगतका वर्षमा १५ दिन अगाडि नै तिहारका लागि भारतबाट फूल आयात गरिन्थ्यो । यस वर्ष अहिलेसम्म ल्याउने तयारीसमेत भएको छैन ।

पछिल्लो समय फूलको प्रयोग होटल, सभा सम्मेलन र घरमा सजावट बढिरहेकाले वार्षिक रु अढाई करोड बराबरको फूलको कारोबार हुने गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ९० प्रतिशत फूलको खपत हुने गरेको छ ।

प्रयोगमा वृद्धि भएसँगै हाल नेपालमा व्यावसायिकरूपमा फूलको खेती गर्ने कृषक ६५० जना पुगेका छन् भने ती कृषकले ४५० प्रजातिका फूलको खेती गर्दै आएका अध्यक्ष गैरेले बताउनुभयो । तिहारमा सयपत्री फूल र प्रणय दिवसका लागि रातो गुलाफ भारतबाट ल्याइने गरेको छ ।

भूकम्पको पनि प्रभाव

एसोसिएसनका अनुसार फूल उत्पादनमा वृद्धि भएपनि गत वैशाखमा गएको भूकम्पका कारण बजारमा फूलको कारोबार त्यति राम्रो भएको छैन । काठमाडौं उपत्यकाको तीनवटै जिल्ला, नुवाकोट, चितवन, धादिङ, काभ्रेपलाञ्चोक, नवलपरासीलगायतका जिल्लामा करिब ३०० प्रजातिका फूलको व्यवसायिक खेती हुँदै आएको छ ।
सयपत्री फूल भारतबाट ल्याउने गरेको भएपनि गोदावरी र मखमली फूल अस्ट्रेलिया तथा मलेसिया निर्यात हुने गरेको छ । रासस