एन आर एन युवा उप-संयोजकमा डेनमार्कबाट शर्माको उम्मेदवारी


कोपनहेगन । गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युवा उप- संयोजक पदका लागि डेनमार्कबाट लोकराज शर्माले उम्मेद्वारी घोषणा गरेका छन्। हाल  गैर आबासीय नेपाली संघ युरोप क्षत्रिय युवा संयोजक रहेका शर्माले युवाहरुको हितमा काम गर्ने भन्दै उम्मेद्वारी घोषणा गरेका हुन्।

विगत नौ वर्षदेखि डेनमार्क बस्दै आएका शर्माले नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै भने ” विश्वभर छरिएर रहेको नेपाली दक्ष मानवस्रोत जो देशको लागि आवश्यकता रहेको छ तीनलाई एकवद्ध गर्नु नै मेरो मुख्य योजना हो । उनले त्यससम्बन्धी एन आर एनको टास्कफोर्समा रहेर काम समेत गरेका छन् र हाल करीब एक हजार जनाको नेटवर्क समेत तयार भैसकेको पनि उनले बताए । विदेशमा पनि नेपाली युवा उधमशिलतालाई प्रोत्साहन गर्नु उनको उद्धेश्य रहेको छ ।

विश्वभर छरिएर रहेका नेपाली एक्स्पर्टहरुको नेटवर्कको लागि एन आर एन केन्द्रले बनाएको योजनामा रहेर काम गरेका शर्माले त्यससम्बन्धी सफ्टवेयर बनाउने कार्यमा भूमिका निभाएका थिए । उक्त सफ्टवेयरमा दक्ष नेपाली मानवस्रोतहरुको विवरण रहेको पनि उनले बताए । उनले गतवर्ष वार्सिलोनामा सम्पन्न युरोप क्षत्रिय सम्मेलनमा आफनो कार्यपत्र प्रश्तुत गरेका थिए ।

गैर आबासीय नेपाली संघको स्थापना काल देखि नै संघ सँग नजिक रहेर, सक्रिय रुपमा लाग्दै आएको बताएका शर्माले एनआरएन भित्रको राजनीतिक कारणले पनि काम गर्न सक्ने, योग्य युवाहरु अझै बाहिर रहेको बताए। उनले भने,” धेरै सक्षम युवाहरु संघको संजाल देखि बाहिर छन्, ति सबैलाई समेट्न सक्नुपर्छ। राजनीतिक रुपमा सक्रिय भएकालाई मात्र  अबसर मिल्ने परम्पराको अन्त्य हुनु पर्दछ।”

जुम्ला जिल्ला स्थायी घर भएका शर्माले डेनमार्कको विश्वविधालयबाट स्नातकोत्तर शिक्षा हासिल गरेका छन्।

युवा उप- संयोजकमा उम्मेद्वारी किन ?

युवा उप- संयोजक पदमा उम्मेद्वारी घोषणा गर्नुको कारण खुलाउदै शर्माले युवा संजालमा आफ्ना बटा ३ संकल्पहरु रहेको बताएका छन्। जसमा विश्वभर छरिएर रहेको नेपाली दक्ष एक्स्पर्टको नेटवर्क तयार गर्नु, विदेशमा पनि नेपाली युवा उधमशिलताको लागि प्रोत्साहन गर्दै केन्द्रले उधमशिलताको लागि फन्ड बनाउने कार्यको लागि पहल गर्ने र सहुलियत दरमा युवाको योजना अनुसार ऋण उपलध गराउने र भुकम्पपछिको नेपाल पुनर्निर्माणमा विदेशमा रहेको दक्ष नेपाली शिपको सदुपयोगमा जोड दिने रहेका छन् ।

एक दशक पार गरिसकेको एनआरएन संजालमा दोश्रो पुस्ताको आवश्यकतालाई पनि सम्बोधन गर्नुपर्ने बताउदै आएका शर्माले एक दूरदर्शी र सक्षम नेतृत्वको जरुरत र महसुस गर्दै आँफुले उम्मेद्वारी घोषणा गरेको बताउँछन्।

उनको गरेको अपिल यस्तो छ ।

मेरो जन्म नेपाली भाषा र सभ्यताको जननी जुम्ला जिल्लाको सिंजामा सन् १९८५ मा भएको हो । म त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ्गमा डिप्लोमा पुरा गरी २००६ मा ग्रीस पुगे भने सन् २००७ देखि डेनमार्कमा बस्दै आएको छु । सन् २००९ देखि २०११ मा डेनमार्कका इन्टरनेसलन बिजनेश कलेजमा सर्वाेत्कृष्ट नतिजा ल्याई अन्तर्राष्ट्रिय व्यापार विषयमा स्नातकोत्तर उत्तीर्ण भए ।

मैले मेहनत, इमान्दारिता र लगनशिलतालाई आफ्नो सफलताको आधार मानेको छु । विगत केहि वर्षदेखि इन्टरनेसनल ट्रेडिङ्ग कम्पनी मार्फत नेपालका विविध सामानहरु डेनमार्कमा विक्रि गर्ने र डेनमार्कबाट विविध किसिमका प्रविधिलाई नेपालमा भित्र्याउने काम गरिरहेको छु । हालै मेरो पहलमा निर्माण तथा ऊर्जा क्षेत्रमा गरी करीव चालिस करोड रुपैयाँको लगानीकोे प्रतिवद्धता पनि भइसकेको छ । त्यस्तै सूचना प्रविधि अफर कम्पनी मार्फत केहि नेपालीहरुलाई रोजगारी उपलब्ध गराउनुको साथै इजी ग्रुपको वोर्डमा रहेर सामुहिक लगानी गर्न भूमिका निर्वाह गरेको छु ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् डेनमार्कको युवा प्रतिनिधि हुँदै युवा तथा खेलकुद उप–समितिको क्षेत्रीय संयोजकमा रहेर सक्रियता पूर्वक काम गर्दै आइरहेको छु । त्यस्तै क्षमता, ज्ञान र आविष्कार समिति –एसकेआई) अन्तर्गत एसकेआई इन्भेन्टरी प्रोजेक्टको संयोजक भएर अत्यन्तै मेहेनतका साथ डाटाबेसको काम अगाडी बढाइरहेको छु । वैदेशिक लगानी प्रवद्र्धन, जलश्रोत, कृषि तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रस्तुति गर्दै नेपाल प्रवद्र्धनजस्ता महत्वपूर्ण कार्यक्रमहरुको आयोजना तथा संयोजन गर्दै आइरहेको छु । नेपालमा गएको महा विनाशकारी भूकम्पमा विभिन्न संस्था तथा कार्यक्रमहरुमा अग्रपंक्तिमा रहेर सहयोग संकलन गर्नुका साथै व्यक्तिगत रुपमा पनि आफ्नो क्षमताअनुसार तन, मन र धनले सहयोग गर्दै आइरहेको छु ।

यसका साथै विभिन्न सामाजिक, सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरुको आयोजना र संचालनमा सहयोगी भूमिका निर्वाह गरेको छु । युरोप क्षेत्र भित्रका युवा साथीहरुसहितको पहलमा पहिलो पटक युवा वैठकको आयोजना गरी केही महत्वपूर्ण कार्यक्रमहरु अघि बढाउन विशेष भूमिका निर्वाह गर्दै आइरहेको छु । आगामी दिनमा युवाहरुको अन्तर्राष्ट्रिय वैठक गरी सम्पूर्ण युवा साथीहरुलाई सशक्तिकरण गराउँदै अघि बढ्ने प्रतिवद्धता सहित २०१५ देखि २०१७ सम्मको लागि युवा उपसंयोजकमा निर्वाचित गराई स्वयंसेवक भएर केही साना तर महत्वपूर्ण कार्यहरु गर्ने अवसर दिनुहुन हार्दिक अनुरोध गर्दछु ।

मेरो उम्मेदवारी किन ?
आज हामी ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै ‘गैर आवासीय नेपाली संघ देश पुनर्निर्माणको सच्चा साझेदार’ भन्ने नारालाई अघि बढाइरहेका छौं । यसमा १८ देखि ४० वर्षका उर्जाशील युवाहरुको ज्ञान, सीप, पुँजी र अन्य स्रोत तथा साधनहरुको उच्चतम् प्रयोग र विकास गर्न सकेको खण्डमा हामी गैर आवासीय नेपालीहरुको उद्देश्यमा पूर्ण सफल हुने छौं भन्ने मेरो दृढ विश्वास छ । तर आज लाखौं युवाहरु नेपालमा वेरोजगारीका कारण विदेशिएर कठोर परिश्रम गर्न बाध्य छन् ।

युवा जनशतिm व्यवस्थापनको अभावमा हामीले सुनलाई नुनसँग साट्दै रेमिट्यान्सको भरमा देश चलाउन बाध्य छौ । यसैले एकातिर युवा–युवाबीचको सहकार्य गर्दै आत्मनिर्भर गराउनुछ भने अर्काेतिर युवाहरुले नै दोस्रो पुस्ताका गैरआवासीय नेपाली बालबालिकाहरुलाई नेपाल र नेपाली कला, संस्कृतिप्रति आकर्षित गराउनुपर्ने छ । यस्तो परिस्थितिमा युवा संयोजक र उपसंयोजकले गैर आवासीय नेपाली संघको उद्देश्य तथा कार्यक्रमहरुलाई अघि बढाउन रणनैतिक कार्ययोजना बनाई समायोजन गर्दै अघि बढ्नुपर्ने टड्कारो आवश्यकताको महशुुुस गर्दै आगामी दुई बर्षका लागि युवा उपसंयोजकको जिम्मेवारीमा रहेर केही साना तर महत्वपूर्ण कार्यहरु गर्न तपाईहरुको मत सहित अनुमति दिन हार्दिक अनुरोध गर्दछु ।

विगत केहि वर्षदेखि गैर आवासीय नेपाली संघको युवा क्षेत्रमा सक्रिय भई गरेका कार्यहरुलाई तपाई सम्पूर्ण अग्रज तथा साथीहरुले प्रसंशासहित साथ र सहयोग गर्नुभएको यथार्थलाई धन्यवाद दिदै आगामी दुई वर्षका लागि ‘युवाहरुमा सामाजिक उद्यमशिलताको विकास, सामाजिक उद्यमशिलता नै देश पुन–निर्माणको आधार’ भन्ने मूल नारालाई अघि बढाउने प्रतिबद्धता जाहेर गर्दछु । युवा उपसंयोजक भएर गैर आवासीय नेपाली संघका अग्रजहरुको नीति, निर्देशन, सल्लाह, सुझाव र कार्यक्रमहरुलाई पालना गर्दै सम्पूर्ण युवा मित्रहरुको साथ लिएर निम्न कार्यक्रमहरु गर्ने प्रस्तावसहित प्रतिवद्धता जाहेर गर्दछु ।

(१) गैर आवासीय नेपाली संघको उद्देश्य र कार्यक्रमहरुलाई सम्पूर्ण राष्ट्रिय समन्वय समितिका युवा प्रतिनिधिसम्म पुर्याउने, कार्यान्वयन गर्न सहयोग गर्दै युवा सशक्तिकरणमा जोड दिने छु । युवा संयोजक तथा पदाधिकारीज्यूहरुलाई आवश्यक सहयोग गर्दै देश पुन–निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने छु ।

(२) नेपालको अति दुर्गम र पिछडिएका क्षेत्र र समुदायमा रहेका गरीब बालबालिकाहरुको सूचनालाई दोस्रो पुस्ताका गैरआवासीय बालबालिकाहरुसम्म पुर्याई मितेरी लगाउन उत्प्रेरित गर्ने । यसरी मित्तेरी बनेकाहरुको क्लब बनाई सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्दैे हौसला प्रदान गर्नेछु ।

(३) युरोप क्षेत्रमा संचालन र विकास भएका नेपाली भाषा प्रशिक्षण र विभिन्न संस्थाले गरेका बालबालिकासम्बन्धि कार्यक्रमहरुलाई आवश्यक थप सहयोग गर्दै अन्य देशहरुमा विस्तार गर्न अभिप्रेरित गर्नेछु । खेलकुद र कलाकारिता सम्बन्धित युवाहरुलाई सम्मान गर्दै सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।

(४) विभिन्न देशमा छरिएर रहेका, विविध पेशा र व्यवसाय गर्ने नेपालीहरुलाई एउटै सुचना केन्द्रमा ल्याई उनीहरुको ज्ञान, सीप, अनुभव तथा आविस्कारलाई मेरो पहल र साथीहरुको सहयोगमा शुरु गरेको एसकेआई डाटाबेस लाई नेपाल र नेपालीको हितमा प्रयोग गर्न थप परिमार्जन सहित विकास गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछु ।

(५) युरोपमा भर्खरै विकसित भएको डिजिटल विल्डिङ्ग टेक्नोलोजिलाई सोलार इनर्जीसँग एकिकृत गर्दै उच्च प्रविधिका घरहरु नेपालमा निर्माण गर्न मैले एसकेआई कमिटिको तर्फबाट गर्दै आएको प्रयासलाई थप समय दिएर गैर आवासीय नेपाली संघको देश पुन–निर्माण अभियानमा महत्वपूर्ण भूमिका खेल्ने छु ।

(६) माछा होइन माछा मार्ने जालको आवश्यकतालाई महशुस गर्दै युवाहरुमा भएको जोस, जाँगर, ऊर्जा र सृजनालाई देश निर्माणमा प्रयोग गर्न करिव पाँच करोड रुपैयाँको सामाजिक उद्यमशिलताको कोष निर्माण गरी साना तथा मझ्यौला युवा व्यवसायीहरुको उत्कृष्ट सामाजिक व्यवसायमा साँवा फिर्ता गर्ने गरी लगानी गर्ने । साथै गैर आवासीय नेपाली संघमा रहेका सफल व्यवसायीहरुलाई उनीहरुले आर्जन गरेको ज्ञान र अनुभवलाई युवाहरु माझ पु¥याउन विविध कार्यक्रमहरु सञ्चालन गर्ने । यसबाट रोजगारीको सिर्जना गर्दै गैर आवासीय नेपाली संघको सामाजिक उत्तरदायित्वलाई स्थायित्व दिन मद्दत पुग्ने विश्वास लिएको छु ।