भवन भट्ट पुन: एनआरएन उपाध्यक्षमा नै उठ्ने


सउल । एनआरएन केन्द्रीय उपाध्यक्ष भवन भट्टले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएन कोरियाको पाँचौं अधिवेशमा विशेष अतिथिको क्रममा सम्बोधन गर्दै भट्टले आफूले सोही पदमा उम्मेदवारी दिने आधिकारीक घोषणा गरेका हुन् ।

भट्टले आफूलाई विश्वभरी अध्यक्षको दावेदारको रुपमा हेरेको भएपनि यस पटक उकाली नचढी चौतारीमै बस्ने रहर भएको बताए ।भूकम्पपीडितको लागि ठूलो सहयोग अभियान चलाएका विभिन्न कार्यको शेष घलेको नेतृत्व नै आवश्यक रहेको भन्दै भट्टले सबैसँग सल्लाह गरेर नै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।

यसअघि विभिन्न देशमा जाँदा उम्मेदवारी बारेमा प्रश्न सोधिए पनि भूकम्पको सहयोग अभियानका कारण आफूले सो बारेमा कुरा नगरेको प्रष्ट पारे । एनआरएन भनेको लिन नभई दिन जाने संस्था भएको दावी गर्दै भट्टले भने “संसारभरको नेपालीहरको हकहित र इज्जत र कसैले पनि हेप्न नसक्ने नेपाली बनाउन योद्धाको लागि लडिरहनेछु ।” आफू युवा भएकोले अहिले नै अध्यक्ष नै बन्न जरुरी नभएको उनको भनाई थियो ।

२१ वर्षमा जापान छिर्दा १७ घण्टा बढि भाँडा माझेर नै करियर शुरु गरेको स्मरण गर्दै भट्टले आफूले बसेको देशबाट सिकेका कुराहरु, काम गर्ने तरिकाहरु, विजनेस तरिकाहरु एक भएर राष्ट्रलाई दिन सके सच्चा नेपाली हुने विचार व्यक्त गरे ।

यो एनआरएन धनीको अथवा गरीबको मात्र संस्था नभई नेपालीहरुलाई धनी बनाउन लागेको संस्था भएको भट्टले बताए । राष्ट्रले मागेका एजेन्डाहरु धेरै भएको भन्दै निर्वाचन प्रक्रियाको नाममा आफूहरु नै दाजुभाइ र साथीहरुवीच फाटो आउने अवस्थाबाटमाथि उठेर सोच्नुपर्नेमा उनको जोड थियो ।