सर्विया-हंगेरी सीमामा आप्रवासी अलपत्र,बार नाघ्ने प्रयास


बीबीसी/ युरोपेली संघ इयुका देशहरु प्रवेश गर्न खोजिरहेका हजारौं आप्रवासीहरुले हंगेरी-सर्विया सीमामा आफ्नो यात्रा रोकिएपछि खिन्नता प्रकट गरेका छन्। प्रहरीले आप्रवासीले प्रयोग गर्ने एक रेलमार्गलाई पनि रोकिदिएका छन्।

हंगेरिको सीमामा नयाँ धारिलो तारबारका कारण सर्विया र हंगेरिको सीमामा आफ्नो यात्रा टुंगिएपछि खिन्न भएका कयौं आप्रवासीहरुले त्यस्को विरोधमा खाना र पानी फ्याकिदिएका थिए। अन्य भने त्यस्तो बारलाई पनि नाघ्ने कोसिस गर्दै थिए।

सिरियाबाट आएका एक आप्रवासीले मोहमद महाएनले भने उनले तार उचालेर श्रीमतीलाई पार गर्न सहयोग गरेपछि उनी वारिपट्टी नै फसेको रोएटर्स समाचार संस्थालाई बताए। “मलाई झीनो आशा थियो तर यहाँ आइपुगेपछि त्यो आशा पनि समाप्त भयो।”

आप्रवासीहरुले सीमा नाका खोल्ने माग सहित नाराबाजी गर्दै गर्दा एक जना आप्रवासीले आफ्ना लागि सीमानाका बन्द गरिएकोप्रति दु:खेसो पोखे। आप्रवासी मामिला सम्बन्धी सर्वियाली मन्त्री अलेक्जान्डर भुलिनले हंगेरीको सीमा बन्द गर्ने कार्यले दिगो समाधान नदिने बताए। उनले हंगेरीले सर्वियासँग सरसल्लाह नै नगरी सीमा बन्द गरिदिएको बताए।

हंगेरिका परराष्ट्र मन्त्री पिटर सिजार्टोले आउने दिनमा अर्को इयु सदस्य राष्ट्र रोमानियासँगको सीमा क्षेत्रमा पनि तारबार लगाएर आप्रवासीहरुलाई रोक्ने प्रयास भइरहेको बताए।

इयु देशहरुमा पछिल्ला साताहरुमा द्वन्द्वग्रस्त सिरिया इराक अफगानिस्तान आदी देशबाट आएका हजारौ शरणार्थीहरुको घुँइचो लाग्ने क्रम रोकिएको छैन।इयुको सीमा निकायका अनुसार यो वर्ष इयुमा ५ लाख शरणार्थीहरु आइपुगेका छन्। गत वर्ष त्यो संख्या साडे दुई लाख थियो। अधिकांस आप्रवासीहरु भूमध्यसागरमा जोखिमपुर्ण यात्रा गरि युरोप आइपुगेका भनि बीबीसी नेपाली सेवाले समाचारमा लेखेको छ।