संबिधानसभाबाट नेपालको नयाँ संविधान पारित, पक्षमा ५ सय ७ मत, बिपक्षमा २५


काठमाडौं / संविधानसभाको दुई तिहाई बहुमतले नेपालको नयाँ संबिधान पारित गरेको छ ।संविधानसभामा हाल कायम रहेको ५९८ सदस्य मध्ये ५०७ सदस्यले नेपालको संविधानको पक्षमा र २५ जनाले विपक्षमा मतदान गरेका थिए।

राष्ट्रपतिले असोज ३ गते अपराहृन ५ बजे औपचारिक समारोहका बीच नयाँ संविधान घोषणा गर्नेछन् । राजसंस्था, प्रत्यक्ष कार्यकारी र हिन्दु राष्ट्रका बारेमा फरक मत राख्दै आएको राप्रपा नेपालले विपक्षमा मतदान गरेको छ। आफ्नो प्रस्ताव संविधानसभाबाट अस्वीकृत भएपछि राप्रपा नेपालले विपक्षमा मतदान गरेको हो। संविधानसभाध्यक्षले प्रक्रिया अनुसार सुनाएको अन्तिम मत परिणाम अनुसार पक्षमा ५०७ मत र विपक्षीमा २५ रहेको बताएका छन्।

मधेस केन्द्रित ७ दलका ५७ र एमाओवादीका प्रभु साह सहित ५८ सभासदले मतदान बहिस्कार गरेका छन् । संविधान पारित भएको घोषणापछि शीर्ष नेताहरूसहित सबै सभासदहरु आआफ्नो स्थानबाट उठेर हात उठाएर समर्थन गरेका थिए । संविधासभाले संविधानमा भाषाागत रूपमा परिर्वतन नगरी नहुने विषय भए मिलाउन सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ ।

सो समितिमा कार्यव्यवस्था परामर्श समितिले तोकेका चार जना सदस्य रहनेछ। समितिले संविधानलाई क्रम मिलाएर अन्तिम रुप दिएपछि नेपाली कागजमा पाँच प्रति छाप्नेछ। जसमा मस्यौदा समितिका सभापति कृष्ण सिटौला, एमाले प्रमुख समेतक अग्नि खरेल, एमाओवादी प्रमुख सचेतक गिरिराजमणी पोखरेल र राप्रपा नेपालका सभासद कुन्ती शाही छन् ।

त्यसपछि संविधनसभा सचिवालयले नेपाली कागजमा संविधानका केही प्रति प्रकाशन गर्नेछ भने शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म सभासदहरुले हस्ताक्षर गर्ने समय छुट्याइएको छ । सभासदहरुले वर्णानुक्रम अनुसार संविधानमा हस्ताक्षर गर्नेछन् ।
सभासदहरुको हस्ताक्षरपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्नेछन् ।

असोज ३ गते साँझ ५ बजे संविधानसभामा विशेष समारोहबीच राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नेछन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान घोषणाको बैठकमा औपचारिक राष्ट्रिय पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन सभासदहलाई आग्रह गरे ।