” एनआरएनए देश पुनःनिर्माणको सच्चा साझेदार बन्छ “- शेष घले


रोम / गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले ‘एनआरएनए देश पुनःनिर्माणको सच्चा साझेदार’ हुने बताएका छन्। आगामी अक्टोबरमा हुने बिश्व सम्मेलनको नारा नै यही रहेको बताउँदै घलेले यसको सार्थकताबारे बोल्दै यस्तो बताएका हुन्।

गैर आबसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीले आयोजना गरेको कार्यक्रममा बोल्दै घलेले एनआरएनहरु देश पुननिर्माणका लागि नेपाल सरकारको सच्चा साझेदार बन्नुपर्नेमा जोड दिए। बिदेशमा रहेका नेपाली सँस्थाहरु र नेपालका लागि काम गरेका बिदेशी सँस्थाहरुले एनआरएनलाई ठुलो बिश्वास गरेका कारण पनि करोडौं रकम संकलन गरेर थप हौसला मिलेको  बताए ।

ईटाली यसको एक उदारणीय पात्र हो घलेले भने,”यहाँ स्थित नेपाली संघ- संस्थाहरु, गैर आवासीय नेपाली संघ, अवैतनिक बाणिज्य दुत, ईटालियन संघ – संस्थाहरुको सक्रियतामा दुई करोड रुपैयाँ भन्दा बढी रकम जुट्नु सामान्य होईन।” अब सबैको बिश्वासलाई लिएर देश पुननिर्माणकाको एक सच्चा साझेदार बन्न सक्नु पर्छ घलेले भने।

२५ बर्ष अगाडि आँफू रुसमा हुँदा बिद्यार्थी जीवनकालमा ईटाली आएको सम्झना गर्दै उनले यहाँको भाषा,रहनसहन र बाताबरण आँफुलाई त्यतिबेला देखि नै मन परेको अनुभव पनि सुनाए।

एनआरएनको योजना अनुरुप निर्माण हुने १ हजार घर निर्माण प्रक्रिया बारे पछिल्ला गतिबिधिको जानकारी गराउँदै घलेले भने ,”प्रत्येकको एक-एक डलर मिलेर बन्ने घर ,तपाईहरुकै उपस्थितिमा,पिडितहरुलाई हस्तान्तरण गर्ने छौ।”

८० हजार युरो बराबरको चेक हस्तान्तरण

अध्यक्ष शेष घलेलाई ईटालीमा संकलन भएको थप ८० हजार युरो बराबरको चेक सोही कार्यक्रममा हस्तान्तरण गरिएको छ। यहाँ स्थित नेपाली संघ- संस्थाहरु, गैर आवासीय नेपाली संघ, नेपाली अवैतानिक बाणिज्य दुत साथै ईटालियन संघ – संस्थाहरुको सक्रियतामा उठेको रकम हस्तान्तरण गरिएको हो।

शेष घलेलाई चेक हस्तान्तरण
शेष घलेलाई चेक हस्तान्तरण

नेपाली समाज रोम, नेपाली समाज पिसा, नेपाली समाज भारजे, नेपाली एसोसिएसन भेनिस र नेपाल मितेरी मन्च मिलान लगायतका संघसस्थाहरुले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै रकम संकलन गरेका थिए।यस अघि पनि पहिलो चरणको सहयोग अन्तर्गत गैर आबसीय नेपाली संघको काठमाडौ स्थित खातामा १ करोड ११ लाख ७९ हजार २ सय ८८ रुपैयाँ ४० पैसा जम्मा गरिएको थियो। पुन: दोस्रो चरणको रकम हस्तान्तरण पछि ईटालीबाट मात्रै भूकम्प पिडितको लागि २ करोड रुपैयाँ भन्दा बढि रकम संकलन भएको छ।

धन्यबाद तथा आभार प्रकट

अध्यक्ष घलेले भूकम्प पिडितका लागि सहयोग जुटाउने सबै संघसस्थाका प्रतिनिधिहरुलाई धन्यबाद तथा आभार प्रकट गरेका छन्। कार्यक्रममा सहभागी प्रतिनिधिहरुलाई खादा लगाई घलेले धन्यबाद सहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान ब्यक्त गरेका हुन्।

एनआरएन ईटालीका अध्यक्ष क्षेत्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, ईटालीका लागि नेपाली अवैतानिक दुबाणिज्य दुत पाओलो नुगारी, एनआरएनए जर्मनिका आइसीसी सदस्य दावा गेल्जु शेर्पा, नेपाली समाज रोमका अध्यक्ष देवराज गुरुङ, भेनिस समाजका अध्यक्ष अम वहादुर पुन लगायतले बोलेका थिए।

घलेको कार्यक्रम पोर्चुगल र बेलायतमा पनि

गैर आवासीय नेपाली संघ अमेरिकाको बिशेष साधारणसभालाई न्यूयोर्कमा सम्बोधन सकेर घलेले पुन: युरोप भम्रण गरेका अध्यक्ष घलेले पोर्चुगल र बेलायतबासी एनआरएनहरुसँग छलफल गर्ने भएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले घलेको उपस्थितिमा धन्यबाद तथा आभार प्रकटको कार्यक्रम रहेको जनाएको छ।

12033715_1148655061829001_445183455_n

घलेले बुधबार पोर्चुगलबासी एनआरएनहरु सँग अन्तरक्रिया गरे पछि बेलायतको कार्यक्रममा सहभागी हुन लण्डन प्रस्थान गर्ने भएका छन्। घलेको उपस्थितिमा एनआरएनए यूकेको नव निर्वाचित कार्यसमितिले बिहीबार सांझ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

अन्तरक्रिया पछि घले पुन: काठमाडौ फर्कने एनआरएन स्रोतले जनाएको छ। गत महिना मात्र युरोपको भ्रमण गरेका घलेले जर्मनी,नेदरल्यान्ड्स, बेल्जियम,लक्जम्बर्ग,फ्रान्सका र स्पेनका एनआरएनहरु सँग पनि छलफल गरेका थिए।