च्याम्पियन्स लिगमा रोनाल्डोको हृयाट्रिक


च्याम्पियन्स लिग फुटबलको सिजनको पहिलो खेलमा क्रिष्टियानो रोनाल्डोले हृयाट्रिक गरेका छन् । मंगलबार राति भएको खेलमा रियल मड्रिडले १० खेलाडीमा सिमित शाख्तर डोनेस्कलाई ४-० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा रोनाल्डो एक्लैले तीन गोल गरेका छन् ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले ३० औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा शाख्तर डोनेस्कका स्टेफानेस्को रातो कार्ड पाएर मैदानबाट बाहिरिए भने रियलले पेनाल्टी पायो, जसमा रोनाल्डोले सहजै गोल गरे । ६३ औं मिनेटमा रोनाल्डोले नै फेरि पेनाल्टीमार्फत नै गोल गरे र रियलको अग्रता ३-० मा पुर्‍याए ।

खेलको ८१ औं मिनेटमा गोल गर्दै रोनाल्डोले हृयाटि्रक पुरा गरेका छन् । यससँगै उनले च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धामा बार्सिलोनाका लिओनल मेस्सीलाई उछिनेका छन् ।रोनाल्डोको ८० गोल भएको छ भने मेस्सीले ७७ गोल गरेका छन् ।