युरोपमा कोमल वलीलाई गालामा चुम्बन गर्दै बिहेको प्रस्ताब आए पछि…..


तीजको रमझम बढिरहेको बेला युरोप आएकी लोकगायिका कोमल वली कार्यक्रमहरुमा निकै ब्यस्त बनेकी छिन्। पन्ध्र दिन भन्दा पनि कम समयमा युरोपका १० भन्दा बढी मुलूकहरुमा वलीले तीज बिशेष कार्यक्रमहरुमा प्रस्तुती राख्ने भएकी छन् । युरोपका चार मुलुकहरुमा प्रस्तुती राखेर बार्सिलोनामा आउँदा, वसन्त रानाभाटले गायिका वली सँग तीजको सेरोफेरो युरोप भ्रमण र व्यक्तिगत जीवन बारे गरेको कुराकानी :-

तपाई कस्तो हुनुहुन्छ ?

आरामै छु। यसो दिदीबहिनीहरु सँग युरोपमा दुखसुख साटासाट गर्दै हिडिरहेकी छु। कार्यक्रमहरु दिनै पिच्छे छन् ,त्यहिँ पनि पुग्न सकिएको छ। युरोपको फाईदा नै यहिँ, सँगै आँगनहरु जोडिएका घरहरु जस्तै, छोटो समयमा जुन देशमा पनि पुग्न सजिलो। अनि मेरो तीजको बेला पहिलो युरोप भ्रमण पनि हो। त्यसैले दिदीबहिनीहरु सँग रमाईरहेकी छु।

तपाईले युरोपका कुन कुन देशमा कार्यक्रम गर्दै हुनुहुन्छ ?

कुरै नगर्नुहोस् साह्रै ब्यस्त छु भन्या। तीजको बेलीमा सबै ठाँउमा पुग्नै पर्यो। फेरि आउँदिन भन्ने हो भने फेरि दिदिबहिनि दाजुभाईहरु दुखी होलान् भन्ने डरले भ्याई नभ्याई गरेकी छु। डेनमार्क,नर्बे,लक्जेम्वर्क,बेल्जियम अनि स्पेनमा कार्यक्रम गरिसके। अब जर्मनी,नेदरल्याण्ड,स्विडेन पोल्याण्डमा कार्यक्रम तय भईसकेका छन्। भ्याए भने अरु एक – दुई ठाउँमा पनि पुग्छु।

ए त्यसो भए युरो कमाई त राम्रै भए नि ?

खै कमाई त्यस्तै हो । आउँन जान पुग्याछ। कमाउँनु भन्दा पनि देशमा बिनाशकारी भूकम्प पछि बिदेशमा रहेका दिदीबहिनीहरुमा छाएको निराशालाई कम गर्नु उदेश्य हो। खुलेर नाच्नु भाछ त्यसैले पनि भागदौड गरेर भए पनि सबै तिर पुगेकी छु।

भूकम्प गएको बर्ष दिदीबहिनीहरु खुलेर नाँच्न रमाउँन सकेका छन् त ?

जहाँ जाँदा पनि भूकम्पको कुरा नै उठ्छ। अबको बेला शोकलाई शक्तिमा बदल्ने बेला हो। अब फेरि रमाउँन सक्नु पर्छ। मन बलियो बनाउँन सक्नु पर्छ। परेको बेला प्रबासका नेपालीहरुले ठुलो सहयोग गर्नु भएको छ। सहयोग गर्न पाएकोमा उहाँहरु धेरै खुशी हुनुहुन्छ। प्रबासमा बस्नेलाई देशको माया झन् दोब्बर हुने अनुभवहरु सुनाउँनु हुन्छ।

 बिदेशमा बस्ने दिदीबहिनीहरुले तीजलाई कसरी बुझ्ने रहेछन् ?

तीज भन्ना साथ दिदीबहिनीहरु सँग,पुरुषहरु सँग पनि गाँसिएको हुन्छ। प्रबासको ठाँउमा यसरी समय मिलाएर एकै ठाउँमा जम्मा हुदै दुख सुख साट्न सक्नु नै तीजको महत्वलाई बुझ्न सक्नु हो। अझ बिदेशमा चाडबाडको महत्व झन् बढ्दै गएको पाए। आफ्नो संस्कृतिलाई संरक्षण गर्ने कुरा पनि धेरै महत्वपूर्ण हो। यसरी नै तीज, दशै,तिहार,नयाँ बर्ष लगायत सबै चाडबाडबारे नयाँ जेनेरेसनलाई बुझाउन सक्नु पर्छ।

तपाईलाई अहिले बजारमा आएका तीजका गीतहरु कस्ता लाग्छन् ?

आजभोलि तीजमा गीतहरु पृथक शैलीमा आएका छन्। सबै गीतलाई शत प्रतिशतले नै मन पराउनै पर्छ भन्नु छैन तर मलाई अहिलेका केहिँ गीतहरुका शब्द, प्रस्तुति अशोभनीय लागेका छन्। गीतले तीजको प्रसंग,सान्दर्भिकता,भाका,लय ,भेषभुषा,आदिमा ध्यान दिनै पर्छ।

गायिका वली अन्तरबार्ता दिदै
गायिका वली अन्तरबार्ता दिदै

कतिपयले तपाईका गीतहरुलाई नै अशोभनीय मान्छन् नि ?

मेरो गीतहरु शिवजी सँग सम्बन्धित हुन्छन्। मैले बदमास शिवजी भनेकाले कतिपयले शिवजीलाई बदमास भनी भनेर मन पराएँनन्। फेरि पोईला जान पाम गीत, खासमा नारी स्वतन्त्रता,सक्षमता हुनु पर्यो भन्नाका खातिर हो। मेरा गीतहरुले पुरुषलाई च्यालेन्ज गरेका हुन्छन्। फेरि कतै श्रीमान् श्रीमती बीचका प्रेम भावहरु पनि हुन्छन्।

कोमल वलीको श्रीमान् चाहिँ कहिँले भेटिएला ?

हाहाहा जहिले श्रीमान् पाईएला त्यहिले नै भेटिएला।

तपाईले बिहे नै नगर्ने हो ?

किन नगर्ने नि बिहे त गर्नु पर्छ नि। यसको लागि सबै कुरा जुर्नु पर्ने रहेछ।

युरोपबाट बिहेको प्रस्ताब गर्दै गालामा चुम्बन गरेको हल्ला छ नि ?

हाहा युरोपमा अब यस्तै चलन रहेछ। गालामा चुम्मा खाने चलन रहेछ त्यसैले उहाँले पनि खानु भयो। उहाँले रेसपेक्ट गरेर तिन पटक चुम्मा गर्नु भो। स्टेजमा सबैको अगाडि गरेकोले यसलाई सम्मान नै मान्नु पर्छ।

तपाईलाई बिदेशीले पनि बिहेको प्रस्ताब गरे अरे हो ?

नेपालीलाई बिदेशीले सधैँ माया गर्नु हुन्छ। एकदमै मन पराउँदै आईलभ यु भन्नु भयो अनि मैले पनि आईलभ यु टु भने। अनि मलाई आएर चुम्मा गर्नु भयो हाहाहा।

अनि तपाईले गर्नु भएन ?

चलन प्रचलन ठाँउ बिशेष अनुसार हुन्छ। नेपाली चलन अनुसार किस खाई हाल्ने होईन। हाम्रो मा अर्कै अर्थ लाग्छ। मैले त नेपाली चलन अनुसार हात मिलाएर नै बाईबाई गरे।