तीज बिशेष रेडियो अन्तरक्रिया पुरा कार्यक्रम सुन्नुहोस् (अडियो)


बार्सिलोना/
रेडियो स्पेननेपालले हरितालिका तीजको उपलक्ष्यमा रेडियो अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। स्पेन स्थित नेपाली दिदीबहिनीहरु सँग रेडियोले बार्सिलोनामा अन्तरक्रिया कार्यक्रम गरेको हो।

गत बर्ष देखि शुरु गरिएको अन्तरक्रिया कार्यक्रममा यस बर्ष दिदिबहिनीहरुले उल्लेखेनिय रुपमा सहभागिता जनाएका थिए। कार्यक्रमको रेडियो स्पेननेपालले प्रत्यक्ष प्रसारण गरेको थियो। सोहि लाईभ कार्यक्रमको सम्पूर्ण रेकर्ड रेडियोले उपलब्ध गराएको छ।
पुरा कार्यक्रम सुन्नुहोस्
५२ बर्ष उमेर पुगिसकेकी गीता कँडेल भक्कानिए रुन थालिन्। स्पेन आएको लामो समय भयो, खै भाग्य पनि कस्तो श्रीमान् गुमाएँ। यहाँ आएर धेरै दुख र पिडा भयो, आफ्नो – आफ्नो ठाउँमा सबैलाई पिडा हुने रहेछ। यो जीन्दगी पनि कस्तो ? रुँदै उनि भक्कानिँदा सहभागी सबैका आँखा रसाए।

कँडेल भन्दै थिईन्, पीडा केहि भुलिन्छ कि भनेर हिँडेकी, स्पेनमा भर्खर आएका नयाँ दिदीबहिनीहरुले त मलाई चिन्दैनन्। जति पुरानाहरुले चिन्छन्, मेरै श्रीमान् कै कारणले चिन्दछन्। उनि थिइन् गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका भूतपूर्व सदस्य स्वर्गीय राम कँडेलकी श्रीमती। केहि बर्ष पहिले पतिलाई गुमाएकी उनले तीज बिशेष कार्यक्रममा रुँदै आफ्ना मनका बहहरु यसरी पोखिन्।

गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनकि महिला उपाध्यक्ष बिनिता रेग्मी खनालका आँखा पनि रसाएनन् मात्र, आँशु तप-तप चुहाउँदै भन्दै थिईन्, साoद नेपालमा भएको भए यसपालि तीज मनाईने थिएँन होला।

माईतीका २ बटै घर भूकम्पले भत्काईदियो। यति बेला मेरी आमालाई धेरै सम्झीरहेकी छु। के गर्ने हाम्रो त माईती मात्र भत्कियो तर यहाँ कतिको सिन्दुर पुछिएको छ,कतिका लालाबालाहरु हराएका छन्। शोकलाई शक्तिमा बदल्नै पर्ने, परम्परालाई जोगाउँन पनि तीज त आखिर मनाउनै पर्यो।’

रेडियो स्पेन नेपालले बार्सिलोनामा आयोजना गरेको तीज बिशेष अन्तरक्रियामा धेरै चेलीहरुले यसरी नै ब्यथाहरु पोखे। धेरैले देशको पछिल्लो अबस्थाहरुको बारेमा पनि चिन्ता ब्यक्त गरेका छन्। कार्यक्रममा तमु समाज स्पेनकि अध्यक्ष्य ज्योती गुरुङ,एनआरएन महिला फोरम संयोजक सिता सिंह,निर्बतमान संयोजक शितल भुर्तेल भुसाल लगायत सहभागी चेलीबेटीहरुले देशको अबस्थाबारे चिन्ता ब्यक्त गरे ।

प्रबासमा भन्दा त नेपालमा तीज धेरै नै रमाईलो हुन्थ्यो, सहभागी जमुना सापकोटाले बिगतका दिनहरु सम्झँदै भनिन्,” बुबा आमा लिन आउनुहुन्थ्यो कति खेर आउनु हुन्छ भनी मनमा उत्साह पलाउँथ्यो ,माईतिमा सबै परिबार एकै साथ हुँदाको उत्साह प्रबासमा कहाँ भेटिन्छ र ?”

तर सहभागी चन्दा खड्का ढकालले माईति भन्दा प्रबासमा धेरै रमाईलो हुने बताईन्। उनले भनिन्,” एक हिसाबले भन्ने हो भने यहिं नै रमाईलो हुन्छ, मैले माईतिलाई माया मारेकी होईन तर बिदेशमा ७५ जिल्ला कै दिदिबहिनीहरु कहाँ-कहाँबाट भेट हुन्छ र यसरी रमाईलो गर्न पाईन्छ।”

करिब ३० जना जति सहभागी दिदीबहिनीहरुले आ-आफ्नो बिचार ब्यक्त गरेका थिए। गत बर्षदेखि शुरु गरिएको रेडियो कार्यक्रमको यसपटक पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

रेडियोकर्मी तथा संचालक सदस्य वसन्त रानाभाटले संचालन गरेको कार्यक्रममा रेडियो संचालकहरु हेमन्त रानाभाट, सन्तोष श्रेष्ठ, सुनिल रानाभाटले उपस्थित दिदीबहिनीहरुलाई आभार प्रकट गर्दै तीजको शुभकामना ब्यक्त गरेका थिए।