युरोपको समुन्द्री तटमा बगेको मानवता, बालकको तस्बिरले संसारभर खलबली


बीबीसी / तीन वर्षे सिरियाली आप्रवासी बालक टर्कीको समुद्र तटमा मृत भेटिएको मार्मिक तस्वीर सार्वजनिक भएपछि त्यसले संसारभर नै आक्रोश सिर्जना गराएको छ।
टर्कीको एक समाचार संस्थाले जारी गरेका उक्त तस्वीर समुद्रतटमा बगेको मानवता ह्यासट्यागमा सामाजिक सञ्जाल ट्वीटरमा संसारभर व्यापक चर्चाको विषय अर्थात ट्रेन्डिंग भइरहेको छ।

रातो टिसर्ट लगाएको देखिने ती बालक अनुहार घोप्टो परेको अवस्थामा बोड्रम भन्ने स्थान नजिकैको तटमा भेटिएका थिए। शरणका लागि टर्कीबाट ग्रीसतर्फ गइरहेका बेला आयलान नाम गरेका तीन वर्षीय बालक आफ्ना पांच वर्षे दाजु र आमासंगै डुंगा पल्टेर डुबेका थिए। उनका पिता अब्दुल्लाह कुर्दी भने बाँच्न सफल भएको बताइएको छ।

भ्यानकुभरमा बस्ने अब्दुल्लाहकी दिदी टीमा कुर्दीले क्यानाडाको एउटा पत्रिकासँग बोल्दै आफूले उनीहरुलाई मध्य पूर्व छाड्न मद्दत गरिरहेको बताएकी छिन् अब्दुल्लाहलाई इस्लामिक स्टेट अथवा अर्को जिहादी समूहले कोबाने सहर नियन्त्रणमा लिँदा अपहरण गरेर यातना दिएको बताइएको छ।

टिमाले भनिन्, “मैले उनीहरुलाई यहाँ ल्याउन सहयोग गर्न खोजिरहेको थिएँ तर सकिन। त्यसैले उनीहरु डुंगाबाट आउन खोजेका थिए।” टर्कीमा रहेका सिरियाली कुर्द शरणार्थीहरु त्यहाँबाट निस्कनका लागि भिसा विना सम्भव थिएन जुन थोरै मानिसहरुसँग मात्रै छ। त्यसैले अब्दुल्लाहको परिवारसँग अन्य विकल्प नभएको ठानिएको छ।Syrian-toddler-Aylan-1

तीन वर्षीय बालकको शव तटमा एकजना स्थानीय माझीले फेला पारेका थिए। उनले समुद्र छेउमा जाँदा आफू डर लागेको र आफ्नो मुटु छियाछिया भएको बताए।
बीबीसीले समुद्र किनारमा भेटिएका ती बालकको एउटा मात्रै तस्वीर प्रकाशित गरेको छ जसमा उनलाई एकजना टर्किस प्रहरी अधिकारीले बोकिरहेका छन् र बालकलाई राम्ररी देखिएको छैन।

यद्यपी केही समाचार संस्थाले भने बालकको धेरै ग्राफिक चित्र प्रकाशित गरेका छन्।यसअघि ती बालकको परिवारले क्यानाडामा शरणका लागि निवेदन दिए पनि क्यानेडाली अध्यागमन अधिकारीहरुले अस्वीकार गरिदिएको विवरण बाहिर आएका थिए।

समुद्र हुँदै युरोप जान चाहेका हजारौं आप्रवासीले यो वर्ष ज्यान गुमाएका छन्। आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आइओएमले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्षको जनवरीदेखि अहिलेसम्म करिब ३ लाख ५० हजार आप्रवासीले युरोप पुग्न निकै कठिन यात्रा पार गरेका छन् भनी बीबीसी नेपाली सेबाको समाचारमा उल्लेख छ।