दुखेको घाऊमा मल्हम लगाउन फिन्ल्याण्डका नेपालीहरु दौडिदै


श्रवण खनाल ,
हेल्सिन्की /नेपालमा गएको महाबिनाशकारी भुकम्पबाट प्रभावित क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले गैर आवाशिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद् फिन्ल्याण्डले हेल्सिन्कीमा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपालको सामाजिक क्षेत्रमा केहि सहयोग पुर्याउने हेतुले संघले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आएको हो ।

प्रतियोगिता फिन्ल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुमाझ निकै नै लोकप्रिय बन्दै आएको छ। गत साल आयोजना गरिएको यस्तै प्रतियोगिता मार्फत गुल्मीको रिमुवा गाँउमा रहेको श्री जनज्योती उच्च मा बी मा अध्ययनरत दृष्‍टिबिहिन विद्यार्थीहरुलाई आवास गृह बनाउन ठूलो सहयोग पुगेको थियो।

यो बर्ष प्रतियोगिताबाट उठ्ने रकम खर्च गर्नको लागि सँस्थाले फिन्ल्याण्डमा बसोबास गर्नुहुने नेपालीहरुबाट परियोजना प्रस्ताव आव्ह्वान गरिसकेको छ। यहि सेम्प्टेम्बेर ५, शनिबार हुन गैरहेको उक्त प्रतियोगिताका सहभागिहरु आफ्ना लागि स्पोन्सोर खोज्न तल्लिन भैसकेका छन।

प्रतियोगिता प्रतिस्पर्धात्मक भन्दा पनि मनोरन्जनात्मक हुने हुँदा साना बालक देखि प्रौढ उमेरका महिला तथा पुरुषहरु भाग लिने गर्दछन। ६ किलोमिटर दौडदा आफ्नो स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावका अलावा आफूले दौडेबापत आफ्नो जन्मभुमीमा सानै भएपनी सहयोग पुग्नजाने हुँदा कहिल्यै दौडने बानी नभएका नेपालीहरु पनि स्वतस्फुर्त रुपमा सहभागि हुने गरेका छन् ।

प्रतियोगीहरुलाई उमेरका आधारमा तीन समुहमा बाँडेर प्रत्यक समुहबाट महिला तथा पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई पदक तथा प्रमाणपत्र र सहभागि सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ।

कार्यक्रमको बारे प्रचार प्रसार एनआरएनए फिन्ल्याण्ड लगायत अन्य सँस्थाका फेसबुक पेज मार्फत पनि गरिदै आएको छ।