प्रवासी नेपाली मञ्च , डेनमार्कको प्रेस विज्ञप्ति


प्रवासी नेपाली मञ्च , डेनमार्कको

प्रेस विज्ञप्ति

सम्पूर्ण डेनमार्कवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु प्रवासमा रहने सम्पूर्ण नेपालीहरुको साझा संस्था मानिएको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद डेनमार्कको यही अगस्ट २४ तारिखमा तेस्रो अधिवेशन आयोजना गरिएको र उक्त अधिवेनबाट निर्माण हुने नयाँ कार्य समितिको निम्ति विधिवत निर्वाचन प्रक्रिया जारी रहेको यहाँहरुलाई अवगत नै छ । विशेषत अव निर्माण हुने कार्यसमितिको नेतृत्व तथा अन्य जिम्मेवारी संरचनाको सम्बन्धमा यहाँ स्थित विभिन्न शक्ति तथा समुह , व्यक्ति एवम व्यक्तित्वहरुको प्रत्यक्ष तथा परोक्ष चासो वा सरोकार स्वाभाक हो । विगतका विभिन्न अभ्यास तथा अनुभवहरुको आधारमा यस पटक सकभर समुदाय भित्र आपसी सद्भाव तथा सौहार्दतामा आँच नपुग्ने गरि समावेशी तथा सम्मानजनक सहभागिताको मान्यतामा टेकेर सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको निर्वाचन हुनु समुदायको वृहत्तर हितको निम्ति आवश्यक रहेको हाम्रो निष्कर्ष शुरु देखि नै रहदै आएको थियो । तदनुसार विभिन्न प्रस्तावहरु सहित पहल प्रयासहरु तथा वार्ता सम्वादहरु पनि नभएका होइनन् , कारणवश ति प्रयासहरु कामयवी हुन सकेनन । उम्मेद्वारी दर्ता आव्हान सहित निर्वाचन प्रक्रिया अघि बढेको छ । त्यस प्रक्रियाको उम्मेद्वारी दर्ता र फिर्ताको चरण सकिएको छ र दुई प्रमुख पदमा मात्र मतदान हुने निश्चित भएको छ । निर्धारित समय भित्र स्वाभाविक भए पनि कतिपय अनुमान नगरिएका प्रत्यासीहरुको समेत उम्मेद्वारी फिर्ताले विभिन्न संशय तथा आशंकाहरु उत्पन्न भएको पाइएको छ । विधिवत प्रक्रियाको दृष्टिले हामी संस्थागत तर्फबाट त्यसलाई स्वाभावक रुपमा लिएका छौं । एनआरएनए डेनमार्कको आसन्न अधिवेशन तथा सम्वन्धित प्रक्रियाहरुमा प्रवासी नेपाली मञ्च डेनमार्कको पूर्ववत सहयोग सहकार्यता यथावत रहने स्पष्ट पार्न चाहन्छौ । निर्वाचनको प्रक्रियामा निर्विरोध हुने पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछौं साथै चुनावी मैदानमा कायम रहनु भएका उम्मेद्वारहरु सम्पूर्णमा अपेक्षित सफलताको निम्ति शुभकामना प्रकट गर्दछौं । अधिवेशनमा सहभागिता तथा मतदान सम्बन्धमा सबै पंजिकृत सदस्य तथा मतादातहरुले यथोचित विवेकको प्रयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौ । अन्त्यमा एनआरएनए डेनमार्कको तेस्रो अधिवेशनको सफलताको निम्ति हार्दिक शुभकामना प्रकट गर्दछौं । धन्यवाद !

कृष्ण पौडेल

अध्यक्ष

तथा प्रवासी नेपाली मञ्च राष्टिय कमिटि, डेनमार्क