सुदूरपश्चिम सेवा समाज युएईले गौरा पर्ब बिशेष कार्यक्रम गर्दै


मान बहादुर के.शी. ‘मुस्कान’

यू.ए.ई./ सुदूरपश्चिम सेवा समाज युएईले गौरा पर्बको उपलक्ष्यमा बिबिध सांस्कृतिक कार्यक्रम तथा देउडा खेलको आयोजना गर्ने भएको छ। आगामी सेप्टेम्बर ४ तारिक युएईमा कार्यरत सुदूरपश्चिमबाशी स्थानीय कलाकारहरुको प्रस्तुति सहित समाजले कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रम सफल पार्नको लागि सांस्कृतिकको कार्यक्रमको जिम्मा संस्थाका महासचिब तथा देउडा गायक मान बहादुर के.शी. ‘मुस्कान’ र संस्थाका सल्लाहाकार लक्ष्मण अधिकारीलाई दिएको छ। यस्तै व्यवस्थापनको जिम्मेबारी संस्थाका सदस्य धन खड्कालाई दिएको समाजले जनाएको छ।

बिरुडा बनाउने जिम्मा संस्थाकि कोषाध्यक्ष टिकेश्वरी भण्डारी बोगटीलाई र कार्यक्रम सन्चालनको जिम्मा संस्थाका सल्लाहाकार लोकेन्द्र बहादुर बमलाई दिएको समाजले जनाएको छ।

गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्व भाद्र शुक्ल को षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।unnamed-20सुदूरपश्चिम सेवा समाज यूएईले रोजगारिको शिलशिलामा युएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भएर बेग्लै खालको अनुभब लिदै, बिरुडा प्रसाद ग्रहण गर्दै कार्यक्रम भब्यताका साथ सफल पारी दिन अनुरोध गरेको छ ।